"फुर्यो- फुर्यो" भन्दै कवि कोठाभित्र छिर्यो र चुकुल लगायो ।
" हैन, के फुर्यो भन्छ यो ?" बुबाले बाहिरबाट चर्को स्वर गरे ।
" काम छैन, जतिखेर नि त्यहीं लेख्न मात्रै जानेछ । घरमा के छ, कसो छ ? मतलब छैन, खाली आफ्नै धुन छ ।" भाउन्निएको स्वरमा फेरि थपे ।
ऊ भने जतिखेर नि कल्पनाशील मुद्रामा देखिन्थ्यो । आफ्नै अन्तर्मनमा हराउँथ्यो र केही न केही लेखिरहन्थ्यो । त्यो देखेर उनी सोच्थे, " के होला यसको भविष्य, के गरी खाला कुन्नि ?"
उसको साथी विपिनलाई बोलाएर सम्झाउन लगाए, " हेर कवि, यस्तो पाराले हुँदैन ? इलम गर, वृद्ध बुबाआमा छन्, परिवार छ, सबैको भरोसा होस् तँ ।"
उसले भन्यो, " केही गरे नि सफल हुँदैन, खै किन हो ? न भने जस्तो काम पाउँछु न त व्यवसायमा फाइदा हुन्छ ?, लगानी पनि डुब्यो, नगरेको हो र ?" उसले खिन्नता व्यक्त गर्यो ।
दुबैका कुरा सुनिरहेका बुबाले कड्किँदै बोले, " जुन काममा फाइदा हुन्छ त्यहीं काम गर्ने हो, तेरा साथीहरू कहाँबाट कहाँ पुगिसके ? तँ भने....।"
उसले, "कालो अनुहार बनाउँदै बुबाको तिखा वचनले टाउको निहुरायो ।"
विपिनले लामो सुस्केरा हाल्दै भन्यो, "बाँचुन्जेल सम्मान पाउँदैन यिनीहरू मरेपछि इतिहास बन्छन्, काका ।"
- गैंडाकोट ४ नवलपुर ।