आत्मस्वस्थापनता तथा तरलित विश्वासको नैबन्धिक प्रयोग ‘अवसाद अभिनयी’
मानसिक ऊहापोहका तरलित भावनाहरू जो स्वराकार वा शब्दाकारमा अङ्किन थाल्दछन् त्यतिखेर कलामा निहित गुप्तताले स्वरूप निर्धारण गर्न खोज्दछ । भावोद्वेगको तरलित संलापन, परावर्तन, परिवृत्ति वास्तवमा गोपी मैनाली पथिकका निबन्धका स्वकीय विशेषताहरू हुन् जो यदाकदा आफूमा हराउन पनि खोज्छन्, परिष्कृतिता एवम् प्रौढताका लागि किनकि उनमा यौटा यात्रा छ, अर्को अवसादिता । दुवैको समन्वयात्मक वृत्तिचित्र ‘अवसाद अभिनयी’ हो जो युगीन धरातलमा मानव जीवन जगत्का थोरै किरणका अवयवलाई समेटेर जीवनता पाउने प्रयत्न गर्दछ ।
‘अवसाद अभिनयी’ (२०३८) मात्र प्रबन्धात्मक शब्दचित्र होइन, यसले आफ्नो आत्मा ‘कला’ विषयलाई मान्दछ र सम्पूर्ण धारणाहरू जो कोरिएका छन् । तिनमा कलाको परिष्कृति र घनत्व सूत्रको आह्वान गरेर जीवनलाई समतुलनात्मकता प्रदान गर्न खोजिएको छ । अतः वर्णन परम्परामा यो निकै नवीन मानिन सक्छ । सोह्रौँ शताब्दीबाट मोन्तेन र बेकनको दुई भूमिका लिएर अघि बढेका निबन्ध जगत्मा नेपाली हस्ताक्षर केवल देवकोटा र शङ्कर लामिछानेमा आएर प्रस्टिन्छ भने अब उनीहरूको घनत्व मापनको यात्रामा ‘अवसाद अभिनयी’ छ । न मोन्तेनको आत्मसंलाप मात्रै गोपीमा पाइन्छ न बेकन वा एडिसनको वर्णनवादलाई उनले अँगाले । न विशुद्ध देवकोटाको बाटोका नै गोपी हुन्, ‘अवसाद अभिनयी’को गोपी न लामिछानेको प्रभाव नै पूर्णतः पाइन्छ उनमा । सहाज्य र सम्प्रेष्य रहेर जीवन र जगत्मा भत्कोसहरूलाई यथासम्भव कलाकरण प्रस्तुतिमात्र गरेका हुन् गोपीले जो मौलिक र वैशिष्ट्य पनि हो निबन्धमा । ‘स्वत्व’को तरलता गीति अनुराग र अलङ्कार संयोजनको पनि पुट पाइन्छ जुन उनको आफ्नै भनाइबाट पनि प्रस्टिन्छ ।
‘गीति प्रवाहको कलात्मक तरलताले वयेलिताको सुरिलो मीठासतामा पोखिएका अप्रबन्धित, पूर्वाग्रहविहीन, संयोजनका साङ्गोपाङ्गोसहित या विहीनताको आत्मोपलेख नै मेरा निबन्ध हुन् ।’ मदोन्मादी पौरुषताको उष्णताले निबन्धलाई विशृङ्खलाताको कुनै अवसरमा पार्दैनन्, पार्न पनि पाइँदैन । अतः मान्तेक तथा मर्रेका निबन्धात्मक शैली संयोजन शिल्पकारितामा परिष्कृति तथा निख्खरताको खहरे प्रवाहझैँ सङ्लो तथा सरोवरको निलीम घनत्वताको गहिराइ पाउनुपर्छ । वर्डस्वर्थ तथा जोनसन्का वस्तुवादी सङ्कीर्णता, मध्ययुगीय यात्राको विशाल तथा बोक्रेवादी रचनामा देखिएको स्थापित आजका अनङ्कित हो मानसपटलमा उनको अन्तर वाङ्मयको यस विधामा देवकोटा, लामिछाने तथा प्रधानपछि नआएको तरङ्गले निजात्मकताको पीडा महसुस गरिएको र गरिनुपर्ने समस्या हो । (बोलेको ढुकढुकी– ‘पाथिक’– अवसाद अभिनयीको मन्तव्य)
अतः प्रष्ट छ वस्तुवादी वर्णनबाट निबन्ध फाँटले चरमता पाउनुपर्दछ । त्यहाँ रहेको रौँचिरादर्शन तथा स्वरूप प्रदर्शनको वस्तुवादी वर्णनवादले आत्मत्व पाउनु अबको कलात्मक आत्मतŒव हो जस अनुरूप कलामा अभिव्यक्ति र पृष्ठभूमिमा रङ शैली संयोजनको घनत्व पेलिँदै अव्यक्त–अभिव्यक्तिको प्रस्तुति पाइन सकियोस् जो रहे आजसम्म ती हिजोका अपरिष्कृत अवयव थिए, आज परिष्कृतता अपनाएर कलामा सुबोध्यता एवम् सङ्ग्राह्य संयोजनता सुम्पन सक्नुपर्छ । मूलभूत आत्मत्व ‘अवसाद अभिनयी’ को यही हो । अव्यक्तताको अभिव्यक्तिमा पूर्ण परिष्कृत पिकासो वा वाङ्देलले पनि दिन सकेनन्– त्यो उनले दिए भन्न खोजिएको होइन प्रयत्न निकै सफलताग्राही र पात्रात्मक पनि छ शङ्कर लामिछानेको झैँ ।
जीवनका प्रत्यक्ष व्याख्या गर्न खोजिएको यो दोस्रो निबन्धसङ्ग्रह हो नेपाली साहित्यमा ‘एब्स्ट्रैक्ट चिन्तन प्याज’पछिको । ‘प्याज’ चिन्तनका लामिछानेमा खुबी महत्ता र जैवनिक विस्तृतिबोध पाइन्छ भने गोपीले जीवनलाई शारीरिक स्वरूपता प्रदान गरेर निजत्वलाई कैन्द्रिकता खडा गरेका छन् । अतः प्राकृतिक नियमको केन्द्रभिमुखताका उनमा भावनात्मक पुनरावृत्ति वृत्तचित्रमा पाइन्छ जस्तो ‘अवसाद अभिनयी’को पहिलो निबन्ध ‘कोरिएका भित्ताहरू’ र ‘कुल्चिएका सडकहरू’मा नै निबन्ध विषयलाई यसरी निजत्व प्रदान गर्ने र छोड्ने गरेका छन् ।
‘लाग्छ म कुनै क्रान्ति विशाल सहजकर्ता बनी यी नीतिको भण्डाफोर गरी सारा नकार, उकार र चकार, पछारहरूलाई जरैदेखि निरूपण गरी विशुद्ध विचार विमर्शका विवशी विघ्नलाई विष क्रमशः वितरक बनी विकारलाई अस्वीकारमात्र होइन …..।
‘विशाल परिवर्तनको आवर्तन परावर्तनमा कोरिएका सडकका अगल–बगलका सग्ला भित्ते छातीझैँ ती मलाई नै खिज्याउँदै जान्छन् अनि त्यहाँको म विगत र आगतको दोसाँधमा आफूलाई जीवनको अवशेष नाप्ने परिवेशमा धकेल्न थाल्छु ।’
पहिलो उल्लेखन– अवसाद नीतिमा व्यङ्ग्य बाण हो । ऊ कवितात्मक प्रकृतिको जीवन चाहन्छ, दोस्रो उल्लेखन केही पलायन नै दिएर जीवनप्रति सोच्न थाल्दछ । विषयिकताले आरोह र अवरोह लिन पुग्छ । अन्तमा फेरि विषयिक केन्द्रीयता पाइन्छ । ‘कुल्चिएका सडकहरू’ भावात्मकताले पनि प्राल्लेखन हो । लेखकले यसमा युगीन सत्यतालाई आत्मत्वको माध्यमद्वारा व्यक्त्याएर सामयिकताको यथार्थ विम्ब उतारेका छन् । हो, कतै समस्याग्रस्त जीवनले वास्तविकता पाउने क्रममा कतिपय विघ्नताहरूले ऊ भत्कोसित भइदिन्छ पनि र उसमा निहित मनोकाङ्क्षाहरू अवसादिभूत पनि भइदिन्छन् । अतः निबन्धको व्यङ्ग्यात्मक सत्यता यसरी रहन्छ ।
‘सडक भएपछि जसले पनि कुल्चिदिन्छ… । जीवनका स्वच्छ हृदयमा एउटा तुफानले अनेकन लाञ्छनाहरू थोपरिदिन्छ, म थापिदिन्छु, अनि मेरा छातीमा राष्ट्रियताले ओतप्रेरित कुराहरू थोपरिदिन्छ, अर्कोले मोरिदिन्छ, टलक लगाउँदछ, अर्काले मेटिदिन्छ, क्षणमै त्यहाँ उत्रिन्छ गालीगलोजको, उपहास र उपेक्षाको एउटा कार्टुन । सडकमा तडकिने सबले आलोक फिजाउँछन् ‘कोही हेर्छन् सकारात्मकताले त कोही नकारात्मकताले । हेरिनुमा वेगल पद्धति छ तथापि आ–आफ्नै तवरले कार्टुनको विज्ञापन मूल्याङ्कन हुन्छ । मेरो कुण्ठित अभिलाषा उत्कण्ठित हुन पाउँछ र अन्तस्करणमा खचाखच कोचिएका विचारहरू छताछुल्ल हुन थाल्दछन् सानो कापीको अझ सानो स्वच्छ उरमा ।
ती कोरिएका उरहरू पनि त हेरिदिने आँखा, बुझिदिने मन र पढिदिने मुख भएपछि सही अस्तित्वमा दरिन पुग्छन्….. कैयन् विश्वव्यापी गौण विचारहरू त्यसै गरी सेलाउँदै गएका होलान् वेप्रेरणाको अफशोसले । समस्याद्वारा घिच्चिएको समाजद्वारा थिचिएको मेरो अस्थायी जीवन कर्कलामा अरूद्वारा गुडाइएको शीतझैँ क्षणिक बनिरहेछ र पनि मलाई माया छ मप्रति । अनि मलाई लाग्दै जान्छ– म दर्पणमा दरिएको विम्ब हुँ, होइन त्यस्ता भित्रको प्रतिविम्ब हुँ, जो अरूद्वारा देखाइएको छ, बचाइएको छ । स्वरूप हैन छाया हुँ, छाया हैन प्रतिच्छाया हुँ, जो स्वरूपद्वारा हल्लाइएको छ ।’
निबन्ध समयद्वारा पिल्सिएका व्यक्तिको विलम्बित गतिको परिचायक हो । गोपीका भावावेशनहरू समयको प्रतिक्षणलाई त्यसै गरी आत्मसात् गर्दछन् जसरी अन्य प्रकृतिसुलभ वस्तुहरू यसमा समानान्तर भइदिन्छन् । निबन्धको पात्र विषयिक परिधिमा पाश्र्वित भएर यथार्थ विषयलाई समय सूत्रमा ढाल्न सफल छन् । विज्ञापन, कार्टुन उल्लिखत सन्दर्भका प्रतीक प्रयोगहरू हुन् जसले मानव आदिमताको पीठलाई आजमा विकसित स्वरूप प्रदान गरेको छ । समयसूत्रले विज्ञापन चित्र कार्टुनमा वैविध्यपूर्ण दृष्टि लगाउँदछन् । लगाउनुको प्रतिक्रिया हीनता पात्रमाथिको अपूर्ण क्षण हो ।
त्यसैले उसको अस्तित्व टुक्रिँदो– अर्थात् खण्डित भएर पनि ऊ निर्वेद निरुक्त र अवसान प्रतीत छ आफूमा । त्यै आफूको सीधा प्रयोग ‘अवसाद अभिनयी’को विषयभूमि पनि हो । जुन यस दृष्टिमा जैवनिक निर्वेदताबोध विरुद्ध पनि देखिन्छ तर उसको आंशिक प्रयोगले धिमा स्वरूप लिएको छ । ऊ पोस्टरवाल बनिनुमा युगीन विवशता पनि छ– ऊ समय बन्नुपर्नेमा सडक बनेकोले ।
कलावादी दृष्टिकोण अपनाउँदा पनि निबन्धले कलात्मक भावभूमिलाई निम्त्याएको प्रतीत भइदिन्छ । सिर्जनाको प्रयोजनहेतु जति जैवनिक बनिदिन्छ, उत्तिकै मात्रमा कलात्मीय बनिदिँदा कलाले चरमता ग्रहण गर्दछ । कलामा नाङ्गोपन हुनुहुँदैन । उसका अन्तरङ्गहरूले विशालतम अभिव्यक्तिको प्रस्तुति दिलाएको हुन्छ । अतः स्वरूपता जो बाह्य सन्दर्भ केही पृथक्तामा रहेर अनभिव्यक्त अभिव्यक्ति प्रदान गर्दछ । त्यो नै गोपीको नैबन्धिक परम्पराको वैशिष्ट्य हो । कलाको द्वन्द्ववादमा समन्वयता पनि अर्को उसमा कुनै पनि पूर्वाग्रह छिपेको हुँदैन भन्नु हो ।
रुसोको उन्मेषतावाद गोपीको निबन्धात्मक आत्मत्व हो । कलाको आत्मप्रकाश ‘अवसाद अभिनयी’को वास्तविकता हो भने भावद्वेलनताको चरमताले गर्दा केही अपरिपक्व भए पनि उन्मेषताको प्रवेशनमा निबन्ध पहेलिन्छ । प्राकृतिक मान्छेको चाहनामा उनका कलाभिव्यक्तिहरूले कलात्मक अस्तित्व स्थापना तथा जैवनिक सत्यताको उत्खनन भएको पाउँछौँ । “जीवन अस्तित्व” बढी चिन्तनग्राही पनि छ र आत्मस्थापनमा यसको अरू निबन्धको तुलनामा फिका प्रतीत भइदिन्छ । युगीनताको बीजले जीवनता पाएको छैन । युग कक्रिएर कोढ खाएको छ । क्षयिता मनस शरीर दुवैको निकट समीपता पनि हो । अतः यसको विनासत्ता हैन, जुन निबन्धको ध्येयित पक्ष हो र उसको युगीन अभिव्यक्ति पनि यथार्थमा ।
‘जमाना रमानाको गणना गर्दछु, यहाँ आउने तुफानले, तनाव र प्रहारको स्याहार गर्दछ, त्यसैको विपरीत अन्तक्र्रिया प्रक्रियामा विध्वंसताको पद पवन उसै गरी बोक्दछ । नाकले हावाको दुर्गन्ध र सुगन्ध दुवैको स्वाद लिन्छ, एकको अनुपस्थितिमा अर्कोको अस्तित्व नै रहन्न । जीवन अस्तित्वमा जैवनिक मूल्यको परिमापन गर्न खोजिएको छ । आणविक प्रगति मानस पक्षभन्दा शरीरपक्षमा क्षयिकताको कारणिक पनि छ तर पूर्वाधार मानव (मथिङ्गलको परिद्वेलनता विसङ्गतिमा उसको भूमिका रहने गर्छ । अर्को आर्थिक विसङ्गतिको पनि स्वरूपता नाङ्गिएको छ अतः विसङ्गति (सबै प्रकारको) विश्लेषित निबन्ध मथिङ्गलीय प्रक्षेपले मानसतामा बेगलताको किरणिक ‘र’हरूले ‘स्व’हरूको भावनात्मक गवेषण गर्न खोजिएको छ ।
निबन्धमा प्रयुक्त प्रतीकहरूले उनीमा अलङ्कार वृद्धि गरेका छन् । शब्द खेलाउने तरिका पनि प्रशंसनीयतामा छ । प्रत्येक निबन्धको भावभूमि जीवन सम्बद्ध भएर उसको कैन्द्रिक पाश्र्वनताले जीवनका मानस– क्षयिताको मात्र विशेषण, मूल्याङ्कन गर्न खोजिन्छ । ‘अवसाद अभिनयी’को पात्रले आफ्नो अभिनयमा अवसादिता भिœयाउन पर्नुमा युगको कारण छ । चाहना र व्यवहारको असमान्तरित वितरण युगको विकलाङ्गताले हो । ‘अवसाद अभिनयी’को स्वस्थापन प्रत्येकको व्यवहारगत भूमि पनि हो । अर्को निरीश्वरता पनि चहकिलो रूपमा पुनः बिउँझन्छ यस खण्डमा तर अन्तरत्व मूल्याङ्कनमा घनत्वता केही फिका छ ।
प्रताडिता हुनुपर्ने थियो– अपसापेक्षता सन्निहित छ यहाँनिर तर वर्णनात्मक धर्काचित्र र स्वस्थापनको सामयौगिक पजुल्याइले निबन्धलाई उद्देश्य पूर्तिमा विशिष्टता प्रदान गर्दछ । यो केही भावात्मक प्रयोग हो धेरै अर्थमा निबन्धत्वले पूर्वीय सिद्धान्तको मूल्य समाउँछ भने उसको मानस पक्ष, जो चिन्तनशील इकाइको प्रमाणहरूले पाश्चात्यका धारणा र प्रयोगलाई प्रयोगमा भिœयाउन सफल छ । यस अर्थमा उनको विकीर्ण चित्रको मूल्य ह्रासोन्मुखमा देखापर्छ ।
‘युग नानीको सूक्ष्मति……’ जीवन बोधिसŒवका चैतनिक अपेक्षाहरू हुन्, जीवनको पूर्णता कति हो नाप्ने जमर्को कलामा बढेको छ भन्न सकिन्न तर त्यसको भरपूर प्रयोगले भने निबन्धकार गोपीको प्रयासलाई बधाई दिनुपर्छ नै । ‘जीवन विचरण र प्रसारणको परिणति हो ।’ ऊ प्रत्येकमा प्रत्येकको मूल्यमापन गरेर विचार उद्भासित गर्दछ । यस खण्डमा कला प्रयोग होइन केवल ‘कला’को सटही दर कायम रहन्छ । जब प्रसारण योग्यता मौलिन्छ बल्ल उसमा कलानिहित छ भन्नुपर्ने बाध्यता पर्दछ । इन्द्रबहादुर राईको भनाइमा सहमत होऔँ ‘साहित्यको विशुद्धता कलात्मकता हो ।’ बाँकी वैशिष्ट्य हो, विशुद्धता हुर्किए पनि त्यहाँ वैशिष्ट्य स्वतः बन्दछ, कारणिक आधारमा यहाँ विशुद्धता प्रयोग छ । गोपीका प्रयोगहरूले कलात्मक परिष्कृतिलाई पूर्णता प्रदान गरिसकेका छैनन् । याने कतै बौद्धिक, अनावश्यकता पनि कतै र कतै अपरिपक्वताको कारणले कलात्मक परिष्कृति समेटिएको छैन तथापि आधाररूप प्रयोग छ, प्राकृतिक नियममा पनि यो सनातन सिद्ध देखिन्छ । सो अवश्य बढ्दै जाँदाको आशा उनीबाट नेपाली कलाजगत्ले राखे हुन्छ ।
अनुभूतिगत दृष्टिमा हेर्दा गोपी– प्रायोगिक प्रयोगहरूमा हार्दिक मानसत्ताको समन्वयात्मक अस्तित्व छ । हृदयमा दुःख–सुखको अनुभूति जन्माउने प्रथम ध्येय निबन्धको हो, द्वितीयतः ऊ मानस तŒवमा पनि परिद्वेलित भएर जान्छ जसरी देवकोटा वा शङ्कर जान्दछन् । निबन्धमा (कलामा भनौँ) उसको मौलिक गुणहरू रहेका छन् जब पढिन्छ– घनत्वता पहिलिनुको आन्तरिक बौद्धिक चाप छ जस्तो ‘अवसाद अभिनयी’ । दोस्रो देश र कालको सम्झौता नभएको र भावात्मक प्रकृतिमा उक्त कुराहरू उतार्न सफल रहन्छन् । कलामा विश्व छ भनेर द्रष्टाले हेर्दैन । विश्व जनीनताकला स्वतः दृष्ट छ ।
विश्वजन्य विकास, साधना र साध्यको नैरन्तर्यिक प्रवाह हो । अतः कलामा त्यही विशालता राखिनु अब अपरिहार्य छ । बुद्धि+शरीर तŒवको समागमित रचना शरीर हो । शब्द रचनामा फितलपन कतै भेटिन सक्छ । किशोर कलममा भलै आचरण पृथक् आन्तरिक घनत्वको अपेक्षा राखिन्छ । कतै ध्वन्यात्मक प्रयोगको साङ्गीतिक समायोजन देखा पर्छ त कतै भावात्मक प्रचुरता देखा पर्छ । कतै बौद्धिक चिन्तन त कतै विषयिक तरलता, तर पनि लक्ष्यार्जन सबैको साध्यिक बिन्दुमा सबै सफल देखिन्छन् ।
मूलतः गोपीको प्रयोग सङ्क्षेपमा भन्दा साङ्गीतिक ध्वनिवयेली, घनत्व विस्तार, कालिक सापेक्षताको कलात्मक जीवनचित्र हो– उनमा एस्थेटिक इमोशन अहिले जन्मेको छैनः आत्मस्वस्थापनमा निहित सङ्गीत योजनले सोको परिलक्षित किनारा बनाउँदै उद्बोधनमा पट अभिलेख र प्रकृतिको एकरूपता भावमा हेर्न खोजिन्छ । यो भावात्मक मञ्जुलीकरण, कलात्मक परिष्कृतिको परिपथ विचार प्रसारण हो– जीवनगत जगल्ट्याइँको विरुद्धमा ।
-युवराज मैनाली