सिड्नी, अस्ट्रेलिया – आइतबार सिड्नीस्थित बोन्डी बिचमा आयोजित यहुदी पर्व हनुक्का समारोहमा दुई व्यक्तिले गोली चलाउँदा १५ जनाको ज्यान गएको छ भने ४२ जना घाइते भएका छन्। प्रहरीले आक्रमणकारी बुवा–छोरा भएको जनाएको छ।
स्थानीय प्रहरीले जानकारी दिएको अनुसार गोली चलाउनेहरू ५० वर्षीय साजिद अक्रम र उनका २४ वर्षका छोरा नविद अक्रम हुन्। घटनास्थलमा बुवा साजिद अक्रम मारिएका छन् भने छोरा नविद गम्भीर घाइते छन्।
एक वरिष्ठ अधिकारीका अनुसार, आक्रमणकारीहरूको कारमा इस्लामिक स्टेट (आईएस) को झन्डा फेला परेको छ। न्यु साउथ वेल्स राज्य प्रहरी आयुक्त मेल लेननले साजिद अक्रमसँग सिकार गर्ने बन्दुकको इजाजतपत्र रहेको र उनी एक बन्दुक क्लबका सदस्य पनि रहेको जानकारी दिएका छन्।
अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कका अनुसार, साजिद १९९८ मा विद्यार्थी भिसामा अस्ट्रेलिया आएका थिए र २००१ मा पार्टनर भिसामा रूपान्तरण भएको थियो। उनका छोरा नविद अस्ट्रेलियामा जन्मिएका नागरिक हुन्।
प्रधानमन्त्री एन्थोनी अल्बानिजले भनेका छन् कि साजिदप्रति अक्टोबर २०१९ मै सुरक्षा एजेन्सीहरूको ध्यानाकर्षण भएको थियो, तर त्यतिबेला उनी कुनै हिंसामा संलग्न देखिएका थिएनन्।
अस्ट्रेलियाली प्रहरीले विश्वास व्यक्त गरेको छ कि दुवै बन्धुकधारी आईएसआईएस आतंकवादी संगठनप्रति प्रतिबद्ध थिए। आक्रमणपछि बोन्डी बिच क्षेत्रमा त्रास र शोकको वातावरण फैलिएको छ।