Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

सिद्धान्त र स्त्री (कविता) ✍️ नैना अधिकारी

सिद्धान्त र स्त्री (कविता) ✍️ नैना अधिकारी

images
सिद्धान्त र स्त्री  (कविता)      ✍️ नैना अधिकारी

उसले प्रत्येक बिहान आफूलाई सम्झाउँथी 

आज पनि विचार जोगाउनुपर्छ,

किनकी, यो शहरमा

सिद्धान्त, विचार, उत्तरदायित्त्व र आदर्शहरू सबै सबै

पन्य छन् पसलमा फिँजाउने 

 

कति सजिलो रहेछ है —

आफ्नो आत्मा सस्तोमा सुम्पिनु

र कति कठिन रहेछ

वर्गको सत्य बोल्नु । 

 

उसलाई हेरेर हाँस्नेहरू भन्थे —

'हेर, त्यो अझै पनि आदर्शमै अडिएकी रे !'

ऊ भित्रभित्रै मुस्कुराउँथी —

'मुखौटा भिरेर बाँच्न सजिलो होला,

तर आवाज उठाएर बाँच्नु

अस्तित्त्वको साँचो रूप हो ।' 

 

उसको हाँसो

हजामको पुरानो ब्लेडजस्तो थियो —

थोरै फाटेको, तर धारिलो

जसले झुटका मूर्तिहरू काट्थ्यो । 

 

सुनिन्थ्यो —

'युग बदलियो, विचार पनि बदलिनुपर्छ ।'

ऊ शान्त स्वरमा भन्थी —

'युग त पूँजीको रङ्गसँग बदलिन्छ,

तर मेरो मेरुदण्डको दिशा

अझै पनि श्रमतिरै ठडिएको छ ।' 

 

ऊ चूप लागेर

मुटुमा हात राख्थी 

अनि सोच्थी-

अब ढुङ्गाहरू पनि भित्रभित्रै तातिरहेका छन्,

सायद यही हो त्यो आगो,

जसलाई म नाम दिन्नँ,

तर संसारले यसलाई ‘वर्गसङ्घर्ष’ भन्छ । 

 

- कामरूप खेत्री, असम भारत ।

images
प्रकाशित मिति :पौष ३, २०८२ बिहिवार - १०:२६:३५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend