Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

किन बालेन? - विमल नेपाल

किन बालेन? - विमल नेपाल

नेप्लिज डायस्पोरा

१९, माघ २०८२
images
किन बालेन?   - विमल नेपाल

अस्टिन टेक्सस, जनवरी ३१

बालेन शाहलाई “बोल, लामो भाषण देऊ, प्रधानमन्त्रीको रूपमा तिम्रो योजना के हो, रोडम्याप के हो?” भनेर प्रश्न गरिरहेका छन्, विशेषगरी उनका विरोधीहरूले। प्रश्न जायज छन्, यसमा विवाद छैन। तर यहाँ एउटा आधारभूत कुरा बुझ्न जरुरी छ। बालेन कुनै निर्दलीय उम्मेदवार होइनन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन्। त्यसैले उनको व्यक्तिगत धारणा वा शैलीभन्दा पनि पार्टीको घोषणापत्र के हो भन्ने कुरा मूल प्रश्न हो।

 

महत्वपूर्ण कुरा के हो भने, के नेपालका पार्टीहरूले आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन्? यदि गरेका छैनन् भने तुरुन्त गर्नुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्र नै बालेनको घोषणापत्र हो। बालेनको व्यक्तिगत विचार गौण हुन्छ, पार्टीको नीति र प्रतिबद्धता प्रधान हुन्छ। तर उनका विरोधीहरू बालेन पनि पुराना नेताहरूझैँ प्यार प्यार बोलेको, लामो भाषण दिएको, ताकि कमेन्ट र ट्रोल गर्न सजिलो होस् भन्ने चाहन्छन्। तर बालेनको राजनीतिक शैली फरक छ। राजनीति गर्ने सबैको शैली एउटै हुँदैन। उनको शैली अरूलाई मन नपर्न सक्छ, मलाई पनि उनका सबै गुण मन पर्दैनन्, यो स्वाभाविक हो।

 

मलाई बालेनको सबैभन्दा मन नपर्ने कुरा भनेको नसालु पदार्थको सेवनप्रतिको उनको छविनै हो। देशको सर्वोच्च कार्यकारी बन्न चाहने व्यक्तिको व्यक्तिगत आचरण गम्भीर विषय हो। कुनै लागू पदार्थ सेवन गर्ने व्यक्ति अमेरिकामा सामान्य रोजगारीका लागि समेत अयोग्य ठहरिन्छ भने, देशको प्रधानमन्त्रीको हकमा यो झन् गम्भीर प्रश्न हो। यस विषयमा बालेनले सार्वजनिक रूपमा स्पष्ट अभिव्यक्ति दिनैपर्छ र आफ्नो व्यक्तिगत आचरण सुधारको प्रतिबद्धता देखाउनुपर्छ। यो बाहेक उनको राजनीतिक शैली फरक हुनु आफैंमा अपराध होइन।

 

बालेनलाई विदेशी शक्तिको इशारामा काम गरेको भनेर ओली खेमाले आरोप लगाइरहेको छ। तर यो आरोप नयाँ होइन। नेपालको मात्र होइन, तेस्रो विश्वका अधिकांश मुलुकहरूमा कुनै नयाँ पात्र उदाउँदा उसलाई “अमेरिकाको एजेन्ट” वा “विदेशी शक्तिको पपेट” भन्ने चलन पुरानै हो। बालेनको हकमा म यसमा सहमत छैन। 

 

उनी पार्टी राजनीतिमा आउनु अघि सामाजिक सञ्जालमा अत्यन्त लोकप्रिय इन्फ्लुएन्सर थिए। पार्टी प्रवेशपछि उनी नेता बनेका छन्, यो सकारात्मक विकास हो। जनकपुरको आमसभामा संघीयताको पक्षमा बोलेपछि उनको राजनीतिक बुझाइ र उचाइ अझ स्पष्ट रूपमा देखिएको छ।

 

बालेन शाह सर्वगुण सम्पन्न नेता पक्कै होइनन्। तर अहिलेको राजनीतिक यथार्थमा ओली-देउबा राजलाई परास्त गर्न सक्ने एक मात्र विकल्प उनी नै हुन्। देशलाई नयाँ राजनीतिक मोडमा लैजान अहिले बालेनभन्दा उपयुक्त पात्र अरू देखिँदैन। राजनीति तपाईँको सिरानीमुनि राख्ने आदर्शको किताब होइन, राजनीति समय र परिस्थितिअनुसार चल्ने खेल पनि हो। अहिलेको खेलमा बालेन मुख्य खेलाडी हुन्।

 

म बालेनको फ्यान होइन। उनले नेपालको कायापलट गर्छन् कि गर्दैनन्, त्यो बहसको विषय हो। तर आजको यथार्थमा ओलीलाई तह लगाउन सक्ने शक्ति उनी बाहेक अरू छैन। त्यसैले मेरो समर्थन बालेनलाई छ। अब पुरानै ओली देउबा खेलमा देशलाई बन्धक बनाइराख्ने कुरा सहन सकिँदैन। हामी नयाँ सोच, नयाँ नेतृत्व र नयाँ राजनीतिक संस्कृतितर्फ अघि बढ्नैपर्छ।

 

गगन थापा पनि अन्ततः ओली देउबा प्रणालीकै उत्पादन हुन्। हर्क साम्पाङ क्षेत्रीय नेताको रूपमा ठीक छन्।

 

बालेन अहिले जुन देशव्यापी भ्रमणमा छन्, त्यो अत्यन्त मनमोहक र सकारात्मक छ। 

 

२०४६ साल यता नेपाली जनताहरू मुख्यतया तीन धारमा विभाजित छन्। कांग्रेस, कम्युनिस्ट र राष्ट्रिय प्रजातन्त्र पार्टी। उनीहरू एकपटक यो पार्टीमा लागेपछि जीवनभर त्यसलाई मात्रै भोट दिने ट्रेन्ड छ। तर यसपाली परिस्थिति फरक छ, किनभने एउटा पार्टीमा लागेपछि कहिले विचार नबदल्ने परिवार र व्यक्तिहरू अब वृद्ध भइसकेका छन्। उनीहरूका छोरा नातीहरू नयाँ विचारका छन्। अब एउटै घरबाट फरक फरक पार्टीमा भोट जाने अवस्था आइसकेको छ। त्यसैले बालेनले चुनाव जित्ने विश्वास गर्न सकिन्छ।

 

#राजनीति #फरक_सोच #बालेन

images
प्रकाशित मिति :माघ १९, २०८२ आइतवार - १९:४१:०५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend