सूत्रसमीक्षा
‘पात्र विघटन’ के हो ?
— रामप्रसाद पन्त
साहित्य लेखिनु र पढ्ने पात्र नभेटिनुको मार्मिक शीर्षकीय आख्यानात्मक कृति हो ।
परम्परागत लघुकथा लेखनमा परिवर्तन आउनुपर्छ भन्ने लेखकीय अवधारणा हो ।
गम्भीर साहित्य सिर्जनाको नमुनायोग्य आलेखन हो ।
साङ्केतिक भाषाको माध्यमबाट समस्या उद्घाटन गर्नसक्ने शक्तिश्रोत हो ।
विस्तारित घटनालाई संक्षिप्तीकरण गरिएको सम्प्रेषणीय संरचना हो ।
पात्रहरुको भावना, चेतना र संस्कारलाई उजागर गरिएको सूक्ष्म अभिव्यक्ति हो ।
पूर्वीय एवं पाश्चात्य दर्शनशास्त्र र समाजशास्त्रलाई सङ्केतात्मक रूपमा प्रकटीकरण गरिएको प्रज्ञानमय कृति हो ।
पूर्व प्रकाशित बहुचर्चित ‘पृथक् बाटो’ भन्दा पृथक्रूपमा आएको पृथक् शैलीमा रचित प्रस्तुत कृति पृथक् सौन्दर्यले सिँगारिएको सम्प्रेषणीय कृति हो ।
युवराज अब युवराज नरहेर आख्यानका वादशाह भइसके भन्ने साङ्केतिक कृति हो ।
युगसापेक्ष साहित्य सिर्जना गर्न नयाँ दर्शनको ढोका खोल्नुपर्छ भन्ने लघुकथाकारको अघोषित उद्गार हो ।
युगमा नबग्ने तर युग सिर्जना गरेर नयाँ युगमा बग्न चाहनेलाई सँगसँगै बगाउने लेखकको भावनात्मक अभिव्यक्ति हो । देखेका, भोगेका र सुनेका कुरालाई कलात्मक रुपमा उनेर एउटै माला बनाई पाठकलाई पहि¥याइदिन अग्रसर शक्तिशाली लघुकथाहरुको पुञ्ज हो।
मानवता, सामाजिक निष्ठा र मर्यादाको बोध गराउँदै नैतिक चरित्र निर्माण गर्न उत्प्रेरणा दिने सुन्दर वाटिकाको सुगन्धित पृष्पवृक्ष हो ।
संवाद शैलीमा उनिएका अधिकांश लघुकथाहरु भएकाले पाठकले पात्रसँग नै संवाद गरेको अनुभूति दिने कृतिगत वैशिष्ठ्य हो ।
समग्रमा युवराज मैनालीद्वारा संरचित तथा सुरभि साहित्य प्रतिष्ठानद्वारा प्रकाशित १५२ पृष्ठ र रु. ३०१ मूल्य भएको लघुआख्यानात्मक कृति हो ।
