Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बालबालिकासँग -डिल्लीराज अर्याल

बालबालिकासँग -डिल्लीराज अर्याल

नेप्लिज डायस्पोरा

१२, चैत्र २०८२
images
बालबालिकासँग -डिल्लीराज अर्याल

भुल्छौ मात्रै गफसफ गरी बस्दछौ पढ्नु छैन 

आमाबाबा कतिदिन यसै ठग्दछौ लाज हुन्न

यस्तै चाला दिनदिन रहे अन्त्यमा दु:ख हुन्छ 

ठग्ने बानी यदि बसिरहे जिन्दगी ब्यर्थ हुन्छ।

 

चिन्ता मानी दिनभर भुले  बिर्सिने हुन्छ पाठ 

हाँसी खेली अलिअलि पढे बन्छ पढ्ने स्वभाव                                   

पढ्नेले नै यस भुवनको चाल के बुझ्न सक्छ                              

बुझ्नेले नै समय-गतिमा चालमा चल्न सक्छ 

 

तिम्रै चिन्ता जनक- जननी गर्दछन् सत्य सत्य

तिम्रै चाला, लत कुलतमा ध्यान तानिन्छ नित्य 

बन्ने राम्रा सरल विनयी कीर्तिमान् आश हुन्छ 

बिग्रे भत्के सहज तिनको भाव बिग्रन्छ जान्छ ।

 

मेवा अम्बा कटहर लिची आँपमा भुल्न हुन्न 

गट्टा डण्डा बहस गफका तालमा चल्न हुन्न

शेखी तानी अबुझसम भै धाकमा रम्न हुन्न 

प्यारा नानी, छल कपटका भासमा पर्न हुन्न 

 

पढ्ने सिक्ने समय सजिलै खेर फालेर हुन्न 

जान्ने बुझ्ने विषय सजिलो खेल ठानेर हुन्न 

थोरै थोरै रहर नगरे सिक्न केही सकिन्न । 

आफै आँटी अघि नसरिए मार्ग राम्रो लिइन्न ।

 

पढ्ने जान्ने प्रविधितिरको चालमा चल्नलाई 

हेर्नै बुझ्ने विषय गतिलो खोज गर्दै ठम्याई

यो बेला जो अबुझ नबनी हिड्छ बाटो समाई 

त्यस्तैले हो सहजसित नै लक्ष्य भेट्ने रमाई।

 

(रचनाकाल २०३६ भाद्र २२)

 

images
प्रकाशित मिति :चैत्र १२, २०८२ बिहिवार - १९:३०:२८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend