यो जिन्दगी खै कस्तो हो कस्तो ?
लाग्छ- स्खलित हुँदै गर्दाको वीर्य जस्तो
लाग्छ- स्खलित हुँदै गर्दाको अण्ड जस्तो
वीर्य निसास्सिएर
मुक्तिको कठिन मार्ग दौडिरहँदा
अण्ड
मुक्तिको मार्ग खोज्दैखोज्दै
मैन झैँ, हिउँ झै बिस्तारै पग्लिएर
कुनै शान्त पोखरीमा पौडिरहँदा
मानौँ- कुनै स्वर्गको एक झलकपछि
परम आनन्दमा लीन हुन्छन्
प्रेमिल जोडी
गर्भमा वीर्य थुनिएपछि
अण्डमा वीर्य उनिएपछि
न त वीर्य वीर्य नै रहन्छ
न त अण्ड अण्ड नै रहन्छ
स्खलित वीर्य झैँ
स्खलित अण्ड झैँ
आफ्नो मुक्तिको तिर्खा मेट्न दौडिरहँदा
आफ्नै पसिनाको पोखरीमा पौडिरहँदा
अरू कसैको फगत आनन्दको निम्ति
अरू कसैको जीवन दानको निम्ति
आफूलाई पिँजडामा थुनिरहन्छ
दाइँको गोरुझैँ नित्य घुमिरहन्छ
थुइक्क !
साला यो जिन्दगी !