स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाभित्रका वडा नं ३ र ४ मा पर्ने ऐतिहासिक एकानन्द गुफा नेपालको धार्मिक पर्यटन अन्तर्गत राष्ट्रिय सम्पदाका रुपमा परिचयमा आउन लागेको छ । यो पवित्र भूमि एकानन्द गुफा केवल ऐतिहासिक स्थल मात्र नभई आध्यात्मिक साधनाको धरोहर हो भन्न सकिन्छ । करिब अढाई-तीनसय वर्षअघि अत्रिगोत्रीय चापागाईं बालतपसीले यहाँ कठोर तपस्या गरी शिवमा लीन भएको प्रसंगले यस स्थानलाई उच्च आध्यात्मिक उँचाइ प्रदान गरेको छ । महाप्रभु विभूषणले अलंकृत बालब्रह्माचारी बालतपसीले यस स्थानमा जीवनभरि तपस्या गरी समाधी लिनुभएकोले यसलाई शिवभगवानको उपासनाको भूमिका हिसाबले चिनिँदै आएको छ, जुन समाधी हाल नेपाल राष्ट्रिय पुरातात्विक सम्पदा बनेको छ । हाल यहाँ भग्न अवस्थाका भौतिक संरचनाहरू, महाप्रभुको भग्न समाधीका साथै देशीगाईहरूको संरक्षणको उद्देश्यले गौशाला स्थापन गरी श्रीनर्मदेश्वर शिवालय मन्दिरको निर्माण गरिएको छ ।
प्राकृतिक सौन्दर्यले भरिएको, चारैतर्फ घना वनजङ्गलले घेरिएको अत्यन्तै रमणीय स्थान हो एकानन्द गुफा । यस क्षेत्र वरिपरि रहेका रापाकोट कालिका मन्दिर, मनकामना मन्दिर, सतीचण्डी कालिका, नेपालको पहिलो नवग्रह मन्दिर, भगवती घण्टेदेउराली जस्ता धार्मिकस्थलहरूले यसको महत्त्व अझ बढाएका छन् । उत्तर दिशातर्फ धवलागिरी र माछापुच्छ्रे हिमालका मनमोहक दृश्यहरूले यस ठाउँलाई अझ आकर्षक बनाएको छ । ऐतिहासिक ढोरे देउराली र नेपालको पहिलो पर्यटकीय गाउँ सिक्लाबारी जस्ता स्थलहरू पनि यस क्षेत्रको पहिचान हुन् । दक्षिणतर्फ स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको संगम, कालिका मन्दिर लगायतका विविध धार्मिक तथा मनमोहक पर्यटकीय परिवेशहरू यात्रुका लागि विशेष छन् । बाघ, मृग, दुम्सी जस्ता वन्यप्राणीहरूको विचरनले तपोवनलाई तपस्या, ध्यान र साधनाका लागी अति उत्तम मानिन्छ । 

हालै यहाँ “श्रीश्री कामाख्या भजन मण्डली, गुवाहाटी (असम), भारत”को सहयोगमा नयाँ मन्दिर निर्माण गरिएको छ । नव-निर्मित मन्दिरमा शिव परिवारका मूर्तिहरू स्थापना गरी विक्रम सम्वत् २०८३ साल बैसाख १ गतेदेखि ११ गतेसम्म श्रीशिवमहापुराण महायज्ञको भव्य कार्यक्रम आयोजना गरी श्रीनर्मदेश्वर शिलालय मन्दिरको उद्घाटन गरिएको छ । आचार्य नेत्रप्रसाद पराजुली शरणज्यूबाट बैशाख ५ गते अक्षय तृतीयाको शुभ अवसरमा मूर्तिहरूको प्राण-प्रतिष्ठा सम्पन्न गरिएको छ । यससँगै मन्दिर श्रद्धालु भक्तजनका लागि सर्वसुलभ रूपमा खुला गरिएको छ, जसले धार्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।