Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

आत्मदाह (लघुकथा) Aatmadaha Laghukatha

आत्मदाह (लघुकथा) Aatmadaha Laghukatha

नेप्लिज डायस्पोरा

३०, आषाढ २०८३
images

​9ab6d5ec-ff6c-44f7-8f4f-9202bf2dbba0.jpg

"फेरि अर्को व्यक्तिले आगो लगाएछ नि !" राजनले अचानक एउटा दर्दनाक खबर सुनायो।

​निवर्तमान प्रधानमन्त्रीको कार्यकालदेखि सुरु भएको यो निराशाको शृङ्खला नयाँ प्रधानमन्त्री आउँदा अझ बढेको थियो। दिनहुँजसो युवाहरूले आत्महत्याको प्रयास गरिरहेका समाचार सञ्चार माध्यमबाट आइरहेका हुन्थे, तर राज्यले गम्भीरताका साथ कारण बुझ्ने प्रयास कहिल्यै गरेन।

​कर्मचारीहरूको तलब थोरै के बढाइन्थ्यो, ठूला व्यापारीले भारी कर छुट पाउँथे। सरकार विदेशीसँग हात थापेर देश चलाइरहेको थियो। बजेट भाषणसँगै जब-जब कर्मचारीको तलब बढ्थ्यो, बजारमा महँगी त्योभन्दा बढी अनुपातमा आकाशिन्थ्यो। वास्तविक रूपमा सरकारले फजुल खर्च कटौती गरेर उद्योग तथा कलकारखाना खोल्नुपर्ने थियो, तर ऊ त केवल विदेशी ऋणको भारी बोकाउन व्यस्त थियो।

​तर यो ऋण र करको भार कसले बेहोर्ने ? सर्वसाधारणका लागि हजार रुपैयाँको नोट किन यति महँगो भयो? जनताको क्रयशक्ति दिनानुदिन घट्दै गयो। ढुकुटी रित्तो भएपछि देश कसरी चल्छ ? त्यसमाथि रोजगारीको अभाव। अगाडि बाँच्ने कुनै उपाय नदेखेपछि मानिस तत्कालै मर्नुपर्ने बाध्यताको भुमरीमा पुग्छ। देशको यो दुर्दशा सम्झँदा मेरो दिमाग रन्थनियो।

​म सोचमग्न थिएँ। राजन फेरि बोल्यो, "परिस्थिति र व्यवस्थाले गर्दा पीडितहरू यहाँ बारम्बार मर्नु पर्दोरहेछ!"

​मर्नका लागि त एउटै बहाना वा कारण काफी हुन्थ्यो। तर, राजनको निराशा चिर्दै म दृढ स्वरमा बोलेँ, "जीवन सम्भावना नै सम्भावनाको समष्टि हो राजन, त्यसैले बाँच्नका लागि हजारौँ कारण छन्। लड्नुपर्छ, मर्नु हुँदैन। मरेर कसको समस्या हल भएको छ र?"

 

 

 

 

- हेलम्बु-६, सिन्धुपाल्चोक

images
प्रकाशित मिति :आषाढ ३०, २०८३ मंगलवार - १८:३५:०५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend