Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

आवरण (लघुकथा) - सुरेशकुमार पाण्डे (Aavaran)

आवरण (लघुकथा) - सुरेशकुमार पाण्डे (Aavaran)

नेप्लिज डायस्पोरा

३०, आषाढ २०८३
images

  3b2cb8b7-72c0-4595-b591-c3e25205d71c.jpg

"देवेन्द्र शर्मा तपाईं नि यहाँ ? "- विमलले आश्चर्यचकित हुँदै भन्यो । उसलाई आफ्नै आँखामा विश्वास भएन । एकपटक फेरि आँखा मिचेर हेर्यो तर देवेन्द्र शर्मा भित्र पसिसकेका थिए । धोरमोरको अवस्थाबाट गुज्रिँदै गर्दा उसको मनमा भने शङ्का पसिसकेको थियो ।

एकछिन ऊ उभियो तर आँखाहरू भने उतै थिए ।

" अरे के भयो विमल ? किन यहाँ लुकेर उभिएको ?" केशुले ठट्टयौले पारामा विमललाई भन्यो ।

"यार केशु मैले हाम्रो छिमेकी देवेन्द्र शर्मालाई देखेको जस्तै लाग्यो र त्यतै हेरिरहेको छु ।"- विमलले भन्यो ।

"कता देखिस् त मैले त देखेको छैन त उहाँलाई ?"- केशुले प्रश्न गर्यो ।

"ऊ त्यो पसलमा भित्र पसेका हुन् तर बाहिर आएका छैनन् ।"- विमलले केशुलाई भन्यो ।

"ध्यत् !! कस्तो कुरा गर्या नि ? त्यो केको पसल हो थाहा छ तँलाई ? एकजना पवित्र ब्राह्मणलाई किन गाली गरेको ?"- केशुले प्रश्न गर्दै भन्यो ।

"खै त ? अहिले पनि त्यही भित्र हुनसक्छन् ।"- विमलले भन्यो ।

दुबैजना त्यही पसलमा पुगे ।

"ओहो ! हजुर यहाँ ? नमस्ते शर्माजी "- केशुले भन्यो ।

"नमस्कारम् ! नमस्कारम् !! दुबैजना कतातिर हो नि ?"- झसङ्ग भएर हातको मासु लुकाउन खोज्दै शर्माले जवाफ दिए ।

" यतै हो ! अनि हजुर पनि यतै हो कि ? "- विमलले प्रश्न खडा गर्यो ।

" किन ? म यहाँ आउन सक्दिनँ र ?"- देवेन्द्रले प्रतिप्रश्न गर्दै भने ।

" नाई !! हजुरलाई यसरी भुच्चडकोमा देख्न पाइएला भन्ने त सपनामा पनि चिताएको थिइनँ । फेरि हजुरहरूको खलक त बाबुबाजेको पालादेखिकै शुद्ध अनि लोकले जमानादेखि पूजिँदै आएका महान ब्राह्मण !"- उसले भन्यो ।

" आवरणले मान्छेलाई झ्याप्पै छुट्ट्याउन सकिँदोरहेनछ । फेरि समाजभित्र घुलमिल हुने उपाय नभई कसरी टिक्नू नि ? " सुरुदेखि मौनतापूर्वक सबै कुरा सुनिरहेका बूढाबाले रहस्यात्मक ढङ्गले मुख खोले ।

 

- घोराही उपमन.पा. -१८, दाङ्ग

२०८३/०३/१५

images
प्रकाशित मिति :आषाढ ३०, २०८३ मंगलवार - १९:११:४० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend