Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

केही सशक्त मुक्तकहरू

केही सशक्त मुक्तकहरू

नेप्लिज डायस्पोरा

२, श्रावण २०८३
images

​ ✍ सिताराम घिमिरे

 

​मुक्तक - १

 

सहरको उज्यालो तिम्रो आँसुबाट बल्छ,

महलको हाँसो तिम्रो पसिनाबाट चल्छ।

जसले उठायो देश आफ्नै काँधमाथि,

उसैको भाग्य भने सधैं भोकमा ढल्छ।

 

​मुक्तक - २

 

सडक तिमीले बनायौ, पाइला तिम्रै रोकिए,

सपना तिमीले रोप्यौ, फूल अरूकै फक्रिए।

न्यायका भाषण धेरै सुन्यौ वर्षौंसम्म,

तर तिम्रा घाउहरू झन् गहिरिँदै चर्किए।

 

​मुक्तक - ३

 

गरिबको भाग्यमा किन सधैं निराशा मात्रै?

धनीका हातमा किन हुन्छन् दिलासा मात्रै?

पसिनाले सिञ्चेको खेत उजाडै रहन्छ,

सत्ताका ओठमा छन् आश्वासनका कथा मात्रै।

 

​मुक्तक - ४

 

तिम्रो पसिना सुक्दा महल चहकिन्छ,

तिम्रो चुलो निभ्दा उत्सव चम्किन्छ।

यस्तै हो भने क्रान्ति आफैं बोल्नेछ,

मौनताको आगो एकदिन पक्कै दन्किन्छ।

 

​मुक्तक - ५

 

नझुक गरिब अब समय टाढा हुँदैन,

उज्यालो हुनलाई धेरै बाधा हुँदैन।

पसिनाको मूल्य एकदिन अवश्य लेखिन्छ,

सत्यको यात्रा कहिल्यै आधा हुँदैन।

 

 

- तानसेन, पाल्पा ।

images
प्रकाशित मिति :श्रावण २, २०८३ शनिवार - १६:२०:०४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend