२८, भाद्र २०७५
बनिता थापा
यो कथा होइन, तर कुनै काल्पनिक कथा भन्दा कम रोमान्चकारी पनि छैन. बिबाह जस्तो पवित्र संस्थालाइ आड बनाएर एउटा पक्षले अर्को पक्षलाइ गरेको धोकाधडीको बर्णन हो. सुन्दा आश्चर्य लाग्ने र बिश्वास गर्न कठिन हुने यो घटनाको बारेमा मलाइ पनि बिश्वास लागेको थिएन, तर बुझ्दै जाँदा जब यो कुरा सत्य प्रमाणित भयो एक छिनको लागि स्तब्ध हुन् पुगियो. सबैभन्दा ठुलो कुरा परदेशमा एउटा नेपालीले अर्को नेपालीलाइ दिएको यो भन्दा अर्को ठुलो धोका हुन् सक्दैन.
घटना अनुसार अमेरिका निबासी एक दम्पति श्रीमद भागबदको कथा लगाउन र नेपाली सोचाइ अनुसार बिबाहको उमेर पार गरिसकेकी आफ्नी अबिबाहित छोरीको लागि बर खोज्न नेपाल आउँछन्. इष्टमित्रको सहयोगमा एउटा पुरुष पनि भेटिन्छ. लगभग चालिसको हाराहारीमा पुगेकी महिलाको लागी पचासको हाराहारीमा पुगेको पुरुष भनेको एक किसिमले उमेर मिल्दो नै भन्नु पर्छ. सरसर्ती हेर्दा पुरुष महिलाभन्दा बिस नै देखिन्थ्यो. एक आपसमा र दुवै परिवारमा कुरा मिलेपछि महिला अमेरिकाबाट नेपाल आउँछिन, नेपालमा उनीहरुको औपचारिक "इन्गेजमेन्ट" पनि हुन्छ र महिला कै सहयोगमा उक्त पुरुष बिबाह गर्न भनेर अमेरिका पुग्छन. त्यसपछि हुन्छ अप्रत्यासित घटना, महिलाले बिबाह गर्न अस्विकार गर्छिन र अस्विकार गर्ने कारण भने अहिलेसम्म गोप्य नै छ र यो कारणले म बिबाह गर्न गर्दिन भनेर भनेको छैन.
बिबाहको टुङ्गो लागेर बिबाह नभएको यो कुनै पहिलो घटना होइन न त् अन्तिम नै होला. तर यति टाढा सम्म एउटा मान्छेलाइ बोलाएर अलपत्र पार्नु कुनै नैतिकता होइन, यदी बिबाह गर्नु नै थिएन भने पहिले नै भनेको भए उक्त पुरुष आउने नै थिएनन कि वा आए पनि मानसिक रुपमा तयार भएर आउथे. अर्को कुरा अहिले मैले जे भने पनि हुन्छ भनेर अर्को मान्छे बोल्न नसक्ने स्थितिमा जे पनि गर्ने हो भने त्यो भन्दा शक्तिशाली ब्यक्ति आएर अत्याचार गर्यो भने त्यसलाई के भन्ने? यो त् मत्स्य न्याय भयो, परिस्थितिले चुप लाग्नु पर्ने अबस्थामा रहेको वा कमजोर ब्यक्तिलाइ हेप्ने वा पेल्ने ब्यक्ति नै बास्तबिक रुपमा घटिया ब्यक्ति हो, शक्तिशाली व्यक्तिले अरुलाई कहिले पनि घचेडेर लडाउन खोज्दैन.
यो अबस्था आउनुमा पुरा परिवार कै सल्लाह छ कि भन्ने पनि शंका गर्न सकिन्छ, यो मेरो शंका मात्र हो तर सरसर्ती हेर्दा यो प्रक्रियामा धेरै ठाउँमा शंका गर्न सकिन्छ. पहिलो, लगभग चालीसको हाराहारीमा पुगेकी छोरीको मनको कुरा नबुझी नेपाल गएर कुन बिश्वासले ज्वाईं खोजेको?, मेरो छोरी मैले जे भने पनि मान्छे भनेर बचन दिएकोमा त्यो बचनलाइ लत्याउने छोरीलाई केहि किन भन्न नसकेको?, दुर्भाग्यबस कुरा अगाडी बढ्न नसकेकोमा माफीसम्म नमाग्नुले पनि शंका गर्न बल मिल्छ. यस्तै धेरैले बिबाहको नाममा पैसा लिएर अमेरिका छिराउने जस्ता मानब तस्करीको काम पनि गर्छन, यस्तै पनि हुन् सक्छ.
अर्को तर्फ कुनै नारीले बिबाह गरेर आफ्नो घरबार गर्न चाहदैनन भनेर भन्न सकिन्न, म आफु पनि एउटा नारी भएको कारण त्यो भाबनालाइ राम्रोसँग बुझ्छु. मेरो बिचारमा महिला मै कुनै शारीरिक वा मानसिक कमजोरी भएको पनि हुन् सक्छ. त्यस्ता कमजोरीलाइ उजागर गरेर लज्जित हुनुभन्दा साखुल्ले भएर आफु राम्रो हुन् खोज्नु खराब चरित्र भएको मान्छेको पहिलो पहिचान हो.
यो लेखको मुख्य अभिप्राय यस्तै दुर्घटनामा अर्को कुनै नपरोस भन्ने मात्र देखाउन खोजिएको हो. कसैको मानमर्दन गर्ने मेरो उद्देश्य होइन र छैन. एउटा मान्छेले अर्को मान्छेलाइ कुनै पनि परिस्थितिमा यस्तो धोका दिनु हुँदैन, त्यसैमाथि पनि बिबाह जस्तो पवित्र कर्म गरेर सँगै जिबन बिताउन आएको मान्छेलाई यसरी धोका दिएर अलपत्र पार्नु कुनै कोणबाट पनि जायज होइन, यदी धर्म र पाप मा विश्वास गर्ने ब्यक्ति हो भने यो जस्तो महापाप अर्को कुनै हुँदैन. यदी कुनै कारणबाट बिबाह गर्नु थिएन भने पहिले नै खसोखास गरेको भए यस्तो घटना घट्ने नै थिएन.
हाल अमेरिका
प्रकाशित मिति :भाद्र २८, २०७५ बिहिवार -
२१:३९:४० बजे