सतिश चापागाईं
बाल्टिमोर, अमेरिका
नेपालकी चर्चित लोक तथा दोहोरी गायिका मुना थापा मगरको यो दशैं परोपकारी काम गरेर बित्यो । उनले नेपालमा अफ्ठेरोमा परेका असहाय एक जोडी बृद्धबृद्धालाई दशैं खर्च पठाईन । गायक मिलन लामाले ति बृद्धहरुको भिडियो आफ्नो फेसबुकमा राखेका थिए । त्यही भिडियो हेरेर उनको मन खायो । अनि मिलन लामासंग कुरा गरिन र सहयोग रकम पठाईन ।
दशैंमा निधारमा टिका लगाएको तस्बिर राख्न नपाएपनि बृद्धबृद्धालाई गरेको सहयोगको तस्बिर राखिन । सायद सबैले उनलाई दशैंको शुभकामना दिन चाहन्थे तर मुनाको यो परोपकारी कामले उनलाई बधाई दिनेको ओईरो नै लाग्यो । अहिलेसम्म यो तस्बिरमा धेरैले लाईक र कमेन्ट गरेका छन् ।उनले टिका त लगाईनन तर आशिर्बाद भने पक्कै पाईन ।
उनि अहिले अमेरिकामा छिन । अमेरिकामा यो मुनाको पहिलो दशैं हो । अमेरिकाको पहिलो दशैंमा निधारमा टिका नै थाप्ने अवसर त मिलेन तर रमाइलो र राम्रो काम गर्न उनलाई केहि कुराले छेकेन । उनले तीजपछि केहि समय बिस्राम लिन नपाईकन दशैंको कार्यक्रममा ब्यस्त भईन । एटलान्टा र बाल्टिमोरमा दशैंको शुभकामना कार्यक्रममा नेपाली समुदायसंग रमाइलो साटासाट गरिन । आफ्ना दर्शक स्रोतालाई मनोरंजन प्रदान गरिन । अब नोभेम्बरको ३ तारिख सिकागोमा दशैं तिहार शुभकामना साँझको तय भईसकेको छ भने केहि अन्य कार्यक्रमहरुको लागि कुराकानी भईरहेको उनि बताउछिन ।
अमेरिकामा दशैं पहिलो भएपनि परदेशमा भने पहिलो होइन । उनले बिगतमा लन्डन र केहि अन्य देशहरुमा दशैं मनाएकी थिइन् ।
दशैंमा सकेसम्म आफ्नो घर गोर्खा मै रहन मन पराउने मुनाले पोहोर र परार साल आफ्नै घर मा टिका लगाउन पाएकी थिइन् । उनलाई तास खेल्न आउदैन । खाने कुरामा मिठो मुख छ । रमाइलोको नाममा पिउने बानि पनि उनको छैन ।
मुनाका लागि रमाइलो भनेको गाउने र गाएर अरुलाई सुनाउने र लट्ठ पार्ने नै हो । यो बर्ष पनि उनले त्यही गरिन अमेरिकामा । अनि एउटा उदाहरणीय काम गरिन । दशैंको लागि बृद्धबृद्धालाई खर्च पठाईन अनि उनीहरुको मुहारमा हाँसो र खुशी ल्याईदिईन । यही कामले गर्दा गायिका मुनाको परिचयमा परोपकारको मुना पनि पलाएको छ । अब उनलाई परोपकारी मुना भनेर पनि चिन्ने भएका छन् ।