Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

हराएका तीन थान रचनाहरु -दीपक विश्वकर्मा

हराएका तीन थान रचनाहरु -दीपक विश्वकर्मा

सतीश चापागाईं

२८, पौष २०७५
images
लेखकका सिर्जनाहरु सिर्जनामात्र नभएर सन्तानहरु पनि हुन् । सन्तान जन्मको प्रसवपीडा र रचना जन्मको प्रसवपीडा पनि समान हुन्छ भन्दा अन्यथा नहोला । एकथान कविता, एकथान कथा र एकथान नाटक वा अन्य साहित्यिक सिर्जना पाठकहरुको आँखाको अगाडि पु¥याउन लेखकलाई गहिरो साधनाको जरुरत पर्दछ । अध्ययन, मनन्, चिन्तन, लेखन्, पुनर्लेखन, प्रकाशन पछि मात्र कुनै पनि लेखकका रचना पाठक सामु पुग्ने हो । यसउसले लेखन लेखकको सामाजिक पहिचान पनि हो । पहिचान ब्यक्तिको सामाजिक प्रतिष्ठा हो, स्वाभीमान हो र मर्यादा पनि हो । म मेरा ती अग्रजहरुलाई सलाम गर्दछु, जसले मलाई लेखनको क्षेत्रमा बामे सराए । यस मामलामा मेरो पहिलो कदम उदिनढुङ्गा स्थित रेसुङ्गा प्राथमिक विद्यालयद्धारा हरेक शुक्रबार आयोजना गरिने साहित्यिक कार्यक्रम हो । जहाँ मैले पहिलो पटक लगलगी खुट्टा कमाउँदै “होलाबरै साहिँली” भन्ने झ्याउरे गीत गाएको थिएँ । म आफैलाई थाहा छ, म गायक होइन । मेरो स्वर नमिठो भाषामा भन्ने हो भने गधाको हिनहिनाहट भन्दा कम छैन । मेरो गलाले गीतको लय वा भाका टिप्न सक्दैन । मेरो स्वरनलीमै गडबड भएर होला, आवाज यति नमिठो भएको । तर पनि गाएँ, गुरुहरुले प्रोत्साहन गर्नु भयो र प्रत्येक हप्ता नबिराई गाउन थालेँ । गीत गायनको मेसो पनि त्यसै जुरेको होइन । हाम्रो गाउँ जातीय समिकरण भएको गाउँ हो । हाम्रो जमानामा मनोरंजनका साधनहरुमा बेलुका घरगाउँमा युवायुवतीहरु जम्मा भएर झाम्रे गाउनु बाहेक अरु केही थिएनन् । उपल्लो भाडगाउँमा केही घर मगर समुदायका थिए र अद्यावधि छन् । दिनभरको कामकुरो सकेपछि बेलुका गाउँका युवायुवतीहरु झाम्रे अथवा आजको लोकदोहोरी गाउँथे । हामी भूराभुरी पनि बेलाबखत राती अबेरसम्म उनीहरुका भनाभन सुन्थ्यौं । हो यही भनाभनले गीत तर्फ मलाई आकर्षित ग¥यो र होला बरै .....को लोकभाकामा गीत लेखेर शुक्रबारे साहित्यिक कार्यक्रममा सुनाउन थालेँ । सो बेलाका कुनै पनि रचना आज मसंग सुरक्षित छैनन् । रचना संकलन गर्नु पर्छ भन्ने सोँच पनि आएन । लेख्यो, सुनायो, खोपामा राख्यो । खोपामा कतिदिन सुरक्षित रहलान् र ती कागजका खोस्टाहरु ? हामी केही साथीहरु थियौं जो साहित्यप्रतिको गहिरो लगावमा उनिएका । गोकर्ण मरासिनी, कृष्ण विश्वकर्मा (हाल प्रकाश नेपाल) म स्वयं र मोहन बंजाडे । मोहन बंजाडे र गोकर्ण मरासिनी हामी दुईभन्दा सिनियर हुन् । हस्तलिखित सेवक नामको पत्रिका प्रकाशन, सेवक पुस्तकायलको स्थापना, सेवक पत्रिकाको लागि गीत, कविता लेखन हाम्रो दैनिकी थियो । यस दैनिकीलाई गुरु शशि पन्थीको किरण पुस्तकालयले मलजल गरेको थियो । उदिनढुङ्गाको रेसुङ्गा प्राथमिक स्कूल सकेपछि कक्षा छ भर्नाहुन महेन्द्र हाइस्कूल आएपछिका क्रियाकलाप हुन् यी । किनकी मोहनजी अर्घाखाँचीतिरबाट कक्षा आठमा भर्ना हुन आएका हुन् । कृष्णजी पनि एकैचोटी छ वा सात कक्षामा भर्ना हुन आएका हुन् सायद तराईतिरबाट । गोकर्ण मरासिनी भने उदिनढुङ्गाको स्कूल स्थापना नहँुदै महेन्द्र हाइस्कूलको उत्पादन हो । जेहोस् हाम्रो जोडी जम्यो । लेखनतिर लागियो । अन्त्याक्षेरीमा भाग लिन थालियो । सो बेला हुने अन्त्याक्षेरी कविताका हुन्थे । आजजस्ता फिल्मी गीतका श्लोकबाट होइन । अन्त्याक्षेरीको कुरा गर्दा बालचन्द्र शर्मा नामका तम्घास बाहिरबाट भागलिन आउने एकजना सहभागीको संझना आउँछ आजपनि मलाई । उनको स्वर जादुमय थियो । रामायण महाभारतका कविताहरु बहुतै मनमोहक तरिकाले सुनाउँथे । बाजी बराकरको हुन्थ्यो । कहिले हामीले जित्थ्यौं । कहिले उनीहरुले लैजान्थे पुरस्कार । सायद उनी शान्तिपुरतिरको कुनै स्कूलको विद्यार्थी हुनुपर्दछ । बि.सं.२०३४ सालतिरको कुरो हुनुपर्दछ । स्कूलको जाडो मनाउन म भाडगाउँ घर आएको थिएँ पोखराबाट । पृथ्वीजयन्ती वा यस्तै कुनै अवसर पारेर जिल्ला स्तरीय साहित्यिक गोष्ठीको आयोजना हुँदै थियो तम्घासमा । यस आयोजनाको हर्ताकर्ता हुनुहुन्थ्यो गुरु शशि पन्थी र भेषबहादुर कुँवर । शशि पन्थी किरण पुस्तकालयको संस्थापक समेत हुनुहुन्छ । सो गोष्ठीमा मलाई पनि भागलिन मन लाग्यो । मैले कथा लेखेँ, एकवर्ष पहिले हाम्रै गाउँकी एक बुज्रुक महिलाले मलाई स्कूल छाडेर गाउँमै आरनको काम गर्न दिएको सुझावलाई कथावस्तु बनाएर । आत्मपरक कथा तयार भयो । अथावा म पात्र खडा गरेर तानाबाना बुनेर शशि सरको हातमा थमाइदिएँ कथा । कथाको शिर्षक थियो किंकर्तब्यबिमूढ । खास भन्ने हो भने यो शिर्षकको अर्थ खोज्न आज पनि मलाई शब्दकोष छिचोल्नु पर्दछ । तर पनि खुब प्रयोगमा आउने शब्द थियो सो बेला । साहित्य गोष्ठी जिल्ला स्तिरीय रहेछ । नाम चलेका कवि कथाकारहरुको बीचमा उभिएर खुट्टा कमाउँदै मैले कथा बाचन गरेँ । जाडोको बेला थियो तर पनि कथा वाचन गरेर सकिसक्दासम्म म पसिनाले तरतर भिजेको थिएँ, डर, क्रास र लाजले । र यो स्वाभाविक पनि थियो । किनकी यति ठूलो साहित्यिक गोष्ठीमा मैले पहिलोपटक रचना वाचन जो गरेको थिएँ । मेरो कथाले सबैलाई छोएछ । कथा जातीय विभेदको विरुद्ध लेखिएको कारणले पनि निर्णायक मण्डलको मनलाई छुन सफल भयो होला । म तेस्रो भएँ । कार्यक्रम समापनको दिन पुरस्कार पाउने भएँ । यो मेरो जीवनको एक सानदार र अविश्मणीय दिन थियो र हमेशाको लागि रहनेछ । कार्यक्रम समापनको दिन थुप्रै कितावहरु पुरस्कार पाएँ नगद रकम सहित । कार्यक्रम विशाल जनसहभागिको बीच भएको थियो । यस कार्यक्रमले मलाई लेखनमार्गको बाटोमा अगाडि बढ्न प्रेरणा प्रदान ग¥यो । मेरी ठूली दिदीले धेरै पछिसम्म पनि भन्ने गर्दथिन्—ठुला तैले पुरस्कार पाएको बेला मैले तलचौरमा बसेर हेरिरहेकी थिएँ । जाडो विदा सकिएपछि पुस्कार वापत पाएका किताव बोकेर म गन्तब्यतिर लागँे । सो बेला म नौ कक्षामा पढ्थे गण्डकी बोकिडङ्ग स्कूल लामाचौरमा । पुरस्कार साथीभाइलाई देखाएँ । गुरुहरुलाई सुनाएँ । सबै खुशी हुनु भयो । यो खबर पछि गुरुहरुको मप्रति हेर्ने नजर नै बदलियो । यस केटाले लेख्न सक्छ भन्ने सबैलाई लागेछ । यसै दौरान अर्को संजोग जुर्यो खुब मीठो । सिन्धु नामको काठमाण्डौबाट प्रकाशित हुने मासिक साहित्य पत्रिकाले देशव्यापी स्कूल स्तरीय कविता प्रतियोगिताको आयोजना गरेको खबर हाम्रो सकूलमा पनि आइपुग्यो । सो प्रतियोगिताको लागि कविता लेखनको जिम्मेवारी स्कूलबाट मैले प्राप्त गरेँ । कविताको शिर्षक तय थियो — माटोको मायाँ । चार बजेको स्कूल छुट्टी पछि स्कूलतल बग्ने सेती नदीको किनारमा बसेर दुई पाना कविता लेखेँ । लेखन पछि रचनाको साफी गर्ने मेरो त्यति बानी थिएन पहिल्यैदेखि । यो आदत आज पनि कायम छ । जुनसुकै रचनाहरु पनि एकै लेखाईमा सक्ने मेरो बानी सो बेला देखि नै शुरु भएको हो । कविता लेखेर गुरु किर्तिराज बरालको हातमा थमाइदिएँ । उहाँले केही सुझाव दिनु भयो । सुझावलाई हृदयगम गरी पुनर्लेखन् पश्चात उहाँलाई पुनः देखाएँ । कविता ओके भयो । ओके कवितालाई प्रिन्सिपल गुरु भोजराज न्यौपानेको हातमा थमाइदिएँ । कविता पठाइदिनु भएछ गुरुले काठमाण्डौ सिन्धु पत्रिकाको कार्यालयमा । मेरो कविता छनोटमा परेछ । खास अवसर पारेर कविता वाचनको निम्तो अयो स्कूलमा । एक डंगोल थरका सिनियर दाइको साथ लागेर काठमाण्डौ पुगेँ म । छानिएका रचना वाचनको लागि देशैभरबाट स्कूले साथीहरु आएका रहेछन् । कविता वाचन कार्यक्रम सम्पन्न भयो । कविता मुल्याङ्कनमा पहिने नै तेस्रो भएको घोषणा भइसकेकोले तेस्रो स्थानको पुरस्कार पाएँ मैले । केही थान किताव, एउटा कप र निःशुल्क एक वर्षे सिन्धुको ग्राहक सुविधा । नमिता सुनिता हत्याकाण्डको सेरोफेरोमा म राजनीतिमा चुर्लुम्म डुबिसकेको थिएँ । दिल साहनी पनि पी.एन.क्याम्पस पढाउन छोडेर पेशेवर कार्यकर्ता भइसक्नु भएको थियो । हामी सबैको नेता क.बामदेव गौतम हुनुहुन्थे । पार्टीले नमिता सुनिता हत्याकाण्डलाई जनस्तरमा ल्याउने हिसावले सोही घटनालाई मूलविषय बनाएर “घोषणा” नामको पत्रिका प्रकाशन गर्ने भयो । पत्रिका आजको हिमाल, नेपाल आकारको थियो । रचनाहरु संकलन भए । नमिता सुनिता हत्याकाण्डको रिपोर्ट द्विवंगत क. धर्मदत्त देवकोटाले लेख्नु भएको हो । उहाँ भाकपा(माले)मा काम गर्दागर्दै तत्कालिन नेकपा(माले)मा जोडिनु भएको थियो । सम्पादक दिल साहनी हुनुहुन्थो । तम्घासको कथाको पुरस्कार, सिन्धुले आयोजना गरेको कविता प्रतियोगिताको पुरस्कारको अहम् तथा पोखरामै दाजु विजय बजिमयले आयोजना गर्ने साहित्य गोष्ठीहरुमा पाइएका पुरस्कारहरुले गर्दा म आफैले आफैलाई नम्बरी लेखक, साहित्यकारको रुपमा लिने गर्दथे । मैले पनि घोषणाको लागि कुनै किसानको दैनिकीको चर्चा गर्दै एउटा कथा लेखेँ । सम्पादक दिल साहनीले मेरो कथा छाप्न सकिने खालको भनेर मलाई ढाढसमात्र दिनु भएन, छापिदिनु पनि भयो । तर पछि बनारसबाट कथा छापिएर आउँदा कथाका केही लाइन संवादहरु हटेछन् । कथा कताकता नमिले जस्तो भयो । तर पनि छापियो । कथा छापिनु नै मेरो लागि हिमाल चढ्नु जस्तै थियो । मेरो छापा मिडियामा छापिएको यो पहिलो कथा पनि त थियो । त्सैले गौरवबोध हुने नै भयो । यसरी बाल्यकालमै मेरा दुई रचना पुरस्कृत भए । एउटा गुरु शशि पन्थीको छत्रछाँयामा र अर्को गुरु किर्तिराज बरालको स्नेहमा । तत्कालिन माले पार्टीको अर्धसाहित्यिक पत्रिकाले कथा छाप्यो, आजका बरिष्ठ पत्रकार साहित्यकार दिल साहनीको सम्पादनमा । पछि मेरो लेखन कार्य अबरुद्ध भयो । राजनीतिको झोले जीवन र प्रवासको हातमुखको छिनाझपटीले लेखन हराएर गयो । लेखन निरन्तरता पनि रहेछ, लेखक स्वयम् र लेखकीय जीवनको लागि । लेख्न छोडेपछि भावनाको पनि मृत्यु हुँदोरहेछ । मेरा मनका भावनाहरुको पनि मृत्यु भयो । प्रवासमा बिताएका पुरापुर बाह्र वर्ष कलम नसमाएरै बिते । कलम नसाएपछि मेरोलागि साहित्य पनि मरेर गयो । किंकर्तब्यविमूढ, माटोको मायाँ र घोषणामा छापिए कथासहित तीन रचनाहरु मेरा होनहार सन्तानहरु हुन् । भला ती आज मेरो साथमा छैनन्, तर पनि उनीहरु मेरो आजको लेखनप्रवाहका अजस्र प्रेरणाहरु हुन् । किंकर्तब्यबिमूढ लेखेको नै लगभग ४० वर्ष भयो । आदरणिय गुरु शशि पन्थी आफै पाको भइसक्नु भयो । मेरो कथाको संझनाविर्सना पनि सोही अनुसार पाको भइसक्यो । माटोको मायाँ छापिएको सिन्धु पत्रिका कहिल्यै बन्द भइसक्यो होला । पुरा अंक मदनपुस्कार पुस्तकालयमा हुनु पर्ने । त्यहाँ गएर खोजतलास गर्ने मरो औकातले भेट्ने कुरो भएन । घोषणाको प्रकाशन पछि दिल साहनीले पार्टी छोड्नु भयो । उहाँसंगै मपनि सिलाङ्ग हुँदै आसामातिर हानिएँ । आजको यो विशाल पार्टीले ती पुरना संग्रहहरु संगालेर राख्ने कुरै भएन । हाम्रो नेता बामदेव हुनुहुन्थ्यो, उनको संझनामा यति पुराना कुराहरु सायदै होलान् । रचना हराउनुको पीडा अघोरी हुँदोरहेछ । त्यसमा पनि ती रचनाहरु जसले लेखकलाई खास समयमा पहिचान, हौसला र मार्गप्रसस्त गर्ने काम गरेकाहुन । मेरा हराएका यी तीन थान रचनाहरु जसले मलाई विशाल जनसमुदायको बीचमा उभिएर गौरवको स्वास फेर्ने अवसर प्रदान गरे, फल्नाको छोरो, फल्नाको भाइ, फल्नाको चेलो, फल्नाको आफन्त भन्ने आत्मगौरव दिए, भेटिएलान् नभेटिएलान्, दोसाँध र संभावनाका कुरा हुन् तर पनि तिनीहरु सधैभरिको मेरो संझनामा रहिरहने छन् । जसरी आजसम्म पनि रहेका छन् । बुटवल, नेपाल

images
प्रकाशित मिति :पौष २८, २०७५ शनिवार - २३:५१:२६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend