९, फाल्गुण २०७५
मुक्तक-१
प्रस्ताव गरी केही भनूँ, धड्कन बढ्छ डर लाग्छ
नभनेर मनमा राखूँ, नजिक भई पर लाग्छ
संघर्षहरु गर्नै पर्यो, जंघारहरु तर्नै पर्यो
काँडाको चोट सहेपछि, फूल अरु सुन्दर लाग्छ ।
मुक्तक- २
जिन्दगीलाई नयाँ बाटो, हिँडाएर हेरौं क्यारे
मायाको कित्ता काटीवरी, चौकिल्लाले घेरौं क्यारे
सपनाहरु थारै रहे, खुशी केवल नारै रहे
दुइटा मुटु यौटै पारी, अब त साइनो फेरौं क्यारे ।
मुक्तक-३
उराठ लाग्दो जिन्दगानी, पनि गल्ती ठहरिन लाग्यो
शिशिर यामको कष्टपछि,वासन्ती सुवास छरिन थाल्यो
आशाका मुना अंकुराए, चाहनाहरु जुर्मुराए
तिमी आयौ र जिन्दगीमा, खुशी-उमङ्ग भरिन लाग्यो
मुक्तक-४
व्यवहारले नचिनुन्जेल, जस्लाई पनि जाँचिंदो रैछ
विपत पर्दा लाएका गुन, जिन्दगीभर साँचिंदो रैछ
गुन र बैगुन चिन्नू पर्छ, सत्य बाटोमा हिन्नु पर्छ
बदला लिए दु:ख पर्दा, जसको नि मन भाँचिंदोरैछ ।
मुक्तक-५
विशाल थियो मुटु मेरो, तिमीले भने सानो बनायौ
त्यसमा आफू ओतिनलाई, मेरै छाती छानो बनायौ
मायाको बाँध फुटाएर, 'लाग्दो माया' छुटाएर
आखिर तिम्रै चोटहरुको, मलाई सधै अचानो बनायौ ।
✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
२०७५ फागुन ०७
प्रकाशित मिति :फाल्गुण ९, २०७५ बिहिवार -
१८:२२:२३ बजे