२८, फाल्गुण २०७५
मुक्तक -१ (टेकराज भट्ट)
पत्थर पुजिन्छन् आखिर आस्था पलाएर न हो
धामी झाँक्री डाक्टर हुने अन्धताले गलाएर न हो,
पेटमा जुका परे जन्तर लगाइन्छ अझै पनि यहाँ
समाज सुधार्नु पर्ने उहिले कुप्रथा चलाएर न हो ।
...................................
मुक्तक -२ (हरि कंडेल)
मलाई जिउन जटिल बनायौं, मेरो दिलमा खिल बनायौँ,
पराइसँग खुशी मनायौं, आफ्ना रात झिलमिल बनायौं,
मलाई छोड्ने निर्णय लिएर, कठोर वचन प्रहार गरी ,
आफ्नो औकात जनायौँ, मेरा आँखा टिलपिल बनायौं ।
...............................
मुक्तक-३ (सफल गोले)
नठान्नुहोस् कि माटोले घर मात्र टाल्न सक्छु
आफ्नो घरबारसँगै देश नै सम्हाल्न सक्छु
केवल अवसर मात्र दिई हेर्नुस् मलाई
सगरमाथालाई अझै माथी उचाल्न सक्छु ।
रामेछाप ।
................................
मुक्तक-४(गोम बिक्रम)
तिम्रो आसमा कुर्दा-कुर्दै, आशै पनि सेलाइसक्यो
बाध्यता र विवशताले, झेल्नु हण्डर झेलाइसक्यो
फेरि यी दिन कहाँ आउनु, यस्तै जीवन कहाँ पाउनु ?
थाहै नदिइ समयले, 'चिप्लेटी' पो खेलाइसक्यो ।
कल्लाबारी, पाल्पा ।
..........................
मुक्तक-५(उपेन्द्र ढुंगाना)
निस्तो भातसँग श्रीमतीको खुशी साटेकोछ परदेशीले
सन्तानको यादमा कैयौं रात रुँदै काटेकोछ परदेशीले
जिउभरी चरम यातनाका निलडामहरु लुकाएर
'सन्चै छु' भन्दै धेरै पटक बाआमा ढाँटेकोछ परदेशीले ।
खैरहनी- ११, चितवन ।
संकलन : गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
२०७५ फागुन २७
(सबै मुक्तकहरु मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा मुक्तक पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला ।-सम्पादक)
प्रकाशित मिति :फाल्गुण २८, २०७५ मंगलवार -
१३:५१:५५ बजे