Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

दोषी नजर (कथा) - मानुषी रेग्मी

दोषी नजर (कथा) - मानुषी रेग्मी

सतीश चापागाईं

११, चैत्र २०७५
images
"मन्दिर जाँदै हुनुहुन्छ हो ?" एउटा अपरिचित आवाज अनायासै कानमा ठोक्किन आइपुग्यो । तत्काल उत्तर दिएँ -"हजुर ! दर्शन गरौँ की भन्ने सोचेर आ'को ! समयले कहिले आस्तिक र कहिले नास्तिक बनाइ दिन्छ । आज म पनि दिल खोलेरै आस्तिक भैदिएकी छु, मानौँ मन्दिरको पुजाले मेरो जीवनमा ठूलै न्याय दिनेछ, महंगै कायपलट गर्नेछ । हुन त भगवानले कसैलाई न्याय र अन्याय गरेको कुरा अहिलेसम्मा देखेकी छैन । तर, हाम्रा लागि सभ्यता र संस्कारको लागि पुजापाठ अनिवार्य थियो । त्यही धर्म पुरा गरीरहेकी छु । नारी हुनुको कर्तव्य पूरा गरिरहेकीछु । कर्मथलो, मतलब म उतै गाउँतिर आफ्नो गृहस्थी सजाउँदै मेरी दुई कोपिलालाई हुर्काउँदै थिएँ । हिन्दू संस्कारले दिएको नारीत्वको उपमा थियो मेरो जीवनको नियती । त्यही नियतीमा लुकामारी गरिरहेकी थिएँ । कहिलेकाही मेरी बहिनी आउँथिन् सघाउँन सानो नानी थिइन् मेरो काखमा । त्यसैले बेलाबेला ममीले पठाइदिनु हुन्थ्यो ! जीवनका थुप्रै उतार चढावहरुको तलाउमा पौडिँदै एउटा खुडकिला पार गरिरहेकी थिएँ । साथमा थिए दुई लालाबाला तिनै लाबालाहरुको खुशीमा रमाउनु बाहेक अरु केही थिएन । मैले घर छोडीसकेपछि पालो थियो बैनीको । हुर्किसकेकी चेली अर्काको घर जानैपर्ने । बर्सौदेखिको चलन मेरी बहिनीको पनि बिहे गर्ने बेला भइसकेको थियो । उनी कसैको प्रेममा थिइन् । यो कुरो मलाई मात्र थाहा थियो । केटोको शिष्टता-बानी व्यवहार राम्रो लागेर बिहेको अनुमति दिइसकेकी थिएँ । उसको स्वतन्त्रतालाई सम्मान गर्दै राम्रो लगन हेरेर मंसिरको महिना उनको बिहे गरिदियौँ । ज्वाई साब काठमाडौं बस्नुहुन्थ्यो त्यसपछि उनी पनि काठमाडौं बस्न थालिन् । उनीहरुको जीवनको दुइपांग्रे रथ पनि हुँइकियो । बिहेको केही महिना पश्चात मलाइ भेटने निम्तो आयो । निम्तो अनुसार रात्री बसमा काठमाडौ पुगेँ। बैनी भेट्ने बहानामा काठमाडौ सहरसँग साउती गर्नु थियो, अंकमाल गर्नु थियो मलाई पनि । सानी छोरीलाई लिएर म हानिएँ त्यतैतिर । बिहान यस्तै छ बजेको थियो होला बसपार्क पुगेँ । मलाई लिन बहिनी आई सकेकी थिइन् । हामी उनको निजी हिरासततिर गयौँ । काठमाडौँको बसाई घरबेटीहरुको यातना कोठा कुनै हिरासत भन्दा कम लाग्दैनन् । सायद त्यही पीडाको मारमा थिइन मेरी बैनी पनि । उनीहरूको कोठा बौद्धमा थियो । त्यो दिन त थकाई लागेकोले म दिनभर सुतिरहेँ अर्को दिन बौद्धस्तुपा गयौँ । बडो रमाइलो मानेर होला सानु यताउता कुद्दै थिइन् । उसै पनि मन्दिरै मन्दिरको शहर, धेरै मन्दिरहरुमा गइयो । धेरै ठाउँ घुम्यौँ । हामी पशपतिको दर्शन गर्न भनेर बिहानै नुहाईवरी पुजाको टोकरी लिएर गयौँ । बौद्धबाट खासै टाढा थिएन हिँडेरै गएका थियौँ । हामी गुह्यश्वरी पुगेर त्यहाँ पनि दर्शन गरी अलि अगाडि मात्र के बढेका थियाैँ । बादलु यसरी रोयो की हामीसँग भएको छातालाई हम्मेहम्मे पर्यो आँसु थाम्न । एकछिन रोकियौँ । बर्षात् अलि कम भयो । त्यतिन्जेल त हामी भिजिसकेका थियौँ । साउनको महिना बादल बर्षिनु स्वाभाविक नै थियो । हामी पानीसँगै पौठेजोरी खेल्दै मृगस्थली हुँदै अगाडी बढ्यौ । किराँतेश्वर महादेवको मन्दिर पुग्यो । त्यहाँ पनि दर्शन गर्यौँ । पानी अरु बेगले परिरहेकाले एकछिन बस्यौँ । बर्षातको पानी रोकिने छाँट देखिएन । कुर्नुभन्दा जाऔँ भनेर हिँडियो । बाटो चिप्लो थियो । सानुलाई पिठ्यूँमा बोकेर बहिनी पनि हिँडीरहेकी थिइन् । हाम्रो पछिपछि दुई जना केटाहरू थिए । मान्छेहरु धेरै ओहोर-दोहोर गरिरहेकै थिए । बाटो उत्तिकै चिप्लो थियो । हामी दिदी-बहिनी एक अर्काको हात समाएर हिँडिरहेका थियौँ । हाम्रो लागी सुरक्षित हिँड्नु ठूलै चुनौती थियो । केटाहरुले बेला-बेला आपसमा बोलेझैं गरी हामीलाई छेँड हानीरहेका हुन्थे । हामीले सुने पनि नसुनेझैं गर्थ्यौँ । पशुपतिनाथको दर्शनभर उनीहरुको नजर हामीसँगै दौडीरह्यो । मानाैँ उनीहरु हाम्रो सुरक्षामा हिँडिरहेका छन् । हुन त हामीमा एक-आपसमा बोलचाल भएन । तर, नजरको बोलचाल कुनै चिरपरिचित साथीभन्दा कम थिएन । बिस्तारै बिस्तारै हिँड्दै थियौँ । कोही बोल्यौ राम्रोसँग हिँड्नुस् है लड्नु होला फेरि ? यसो पछाडी हेरेको त हाम्रो पछाडी हिँडिरहेका तिनै दुई युवक पो रहेछन् । हामीले उनिहरूलाई भन्यौँ, - "हामी हिँड्न सक्दैनौँ हजुरहरूलाई ढिला होला ।" "होइन होइन ठिकै छ हिँड्नुस् ।" हामी आफ्नै सुरमा हिँडिरह्यो उनीहरु अझ पनि हामीसँग बोल्न, नजिकिन खोज्दै थिए । सानुलाई बेला-बेला बोलाउँदै थिए । मेरी सानु राम्री भएकाले सबैले माया गर्थे । कतिपय निःसन्तानले दिनुस् नै भनेका थिए । बाटोबाट जब आँखाले भ्याउन छोड्यो । सानो रुखमा चढेर हेर्न पो थाले । हेर त हुँदा-हुँदा रुखमै चढेर पो हेर्छ बा, मर्छकी क्या हो ? कस्तो खाते रहेछ, अब बाटो चेन्ज गर्नुपर्छ त्यस्ताको भर हुँदैन भनेर । हामी तिनीहरूको आँखा छलेर अर्को गल्ली छिरेर चावहिलतिर लाग्यौँ । ती दुई युवक मेरी छोरीको वर्णन गर्थे । कति क्यूट बेबी भन्दै उनीहरु आपसमा कुरा गर्थे । एउटाले सोधीहाल्यो - "हजुरहरूको घर चै कता ?" "पश्चिम ।"- मैले उत्तर दिएँ । उनीहरुमध्ये एकले फेरि सोध्यो, -"अनि यता कता बस्नुहुन्छ ? " "बौद्ध ।" - मेरो उत्तर थियो । "के गर्नु हुन्छ ?"- उनिहरुले अर्को प्रश्न गरे । "केही गर्दैनाैँ, यतिकै घुम्न आको" - मैले उत्तर दिएँ । उनीहरूको प्रश्नले मलाई झ्याउ लागिरहेकाले मैले प्रतिप्रश्न गरेँ । "हजुरहरुको घर कता नि ?" " तनहुँ नि"- ढिलै नगरी जवाफ आयो । मैले मनमनै सोँचे कति हतार भको होला बोल्न । केटी देख्नै नहुने यी केटाको जात । हुन त जातै बैमानी, नजर बैमानी, लोग्ने मान्छेले मौका छोपी हाल्छन् । केटाहरु कतै चोर त हैनन् । मैले बहिनीको कानमा सुटुक्क भनेँ । उनले भनिन्, -"जो पनि चोर हुन्छन् ? हजुर पनि ।" "मान्छेको मनमा केके हुन्छ हुन्छ । अघिदेखि हाम्रो पिछा गरिरहेका छन्, अगाडि जाँदैनन्, के तालका मान्छे हुन् ।"- मैले बेला-बेला बहिनीको कानमा भन्थे । चिप्लो बाटोको कठिन यात्रापछि हामी पशुपति पुग्यौँ । अब चै पिछा छुट्ने भो सोचेर मन्दिरभित्र प्रवेश गर्यौँ । तिनीहरू पनि दर्शन गरेर बाहिर निक्लिए । मैले सन्तुष्टीको सास फेरेँ धन्न छुटकारा पाइयो उफ ! बहिनी हाँसिन् र भनिन् त्यति डर लागेको थियो ? सोधिन् । लागी हाल्छ नि कसरीपछि लागिरहेका थिए, मेरो त सातो नै उडेको भने । उनी हाँस्न थालिन् । डरबाट मुक्त मेरो चेहरा देखेर । पूजा सकेपछि बाहिर निस्कियाैँ । "ती केटाहरु त बहिरै छन् । आम्मै ती मोराहरु त बाहिरै छन् हो केटी । "- मैले बहिनीसँग भनेँ । " हो त खै के तालका मान्छे हो । तिनीहरुको आँखा छलेर यतै बसाैँ भनेको त देखिहालेछ । हाम्रो नजिक आएर कति बेला फर्कनु हुन्छ फेरि भनेर पो सोध्यो । एकछिन बस्छौँ होला । "- मैले कुरा टालेँ । "हो .......! हामी त जान्छौँ" - उसले भन्यो । मैले मनमनै भने, के सुनाको होला गए भइहाल्यो नि, आमाबाटको मामा न बाउबाटको काका । उनीहरु गए । अब हामी पनि जानुपर्छ भनेर हतार-हतार पश्चिमद्वारबाट बाहिर निस्केको मात्र के थियौँ ती केटाहरु त बाहिर पर्खिरहे जस्तै गरी उभिएका थिए । " ल हेर....... के पाराका मान्छे हो हेर त गकै छैनन् ।"- मैले बहिनीसँग भनेँ । उनीहरुले फेरि सोधे, -"जानलाको ? जानु परो नि आफ्नो गन्तव्यमा ।"- मैले भने । मनमनै भने सारै रिस उठेको थियो । मनमनै सोँचे बंगलादेशकी नारी लेखक तसलिमा नसरीनले त्यसै भनेकी हैनन् यौन क्रियाका लागि महिलाहरुले पुरुषहरु चाहिँदैन भनेको दिन त्यो पुरुषहरुको अन्तिम पराजयको दिन हुनेछ । - घोराही उप-महानगरपालिका -५, दाङ हाल : काठमाण्डौ । (मानुषी रेग्मीको यो कथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :चैत्र ११, २०७५ सोमवार - २०:५४:३७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend