मुक्तक-१
कतै सफल नभा'सम्म, बच्चाले नि हेप्दा रैछन
आफन्त झन टाढा हुँदै, उल्टै हिलो छेप्दा रैछन
दिन फिरेर आइगो भने, हुने खाने भइगो भने
तिनैले झन स्वार्थ राखी, उल्टै काखी चेप्दा रैछन ।
मुक्तक -२
नजिक हुने बाहनाले, अाकाश-पाताल छोएर जित्यौ
तिमीबिना बाँच्दिनँ भनी,परेली आँशुमा धोएर जित्यौ
धनको साथ पाएपछि, नजर अन्तै लाएपछि
धोकेबाजको आरोप लगाई, उल्टै कस्सम रोएर जित्यौ ।
मुक्तक - ३
आफ्नो भुँडी भर्न जसले, मार्छन् अरूका छाकहरू
होइन भनी चोखिनलाई, दिन्छन् उल्टै धाकहरू
कालो दाग मनभित्र छ, छिद्रान्वेषी चरित्र छ
त्यसैले पो 'नकटाहरु', काट्छन् अरूका नाकहरू ।
मुक्तक-४
सैतानी चलखेलहरु, सधैका लागि ढल्नुपर्छ
आफ्नै मन मस्तिष्कमा, चेतनाको दियो बल्नुपर्छ
माटो हेरेर पो काम गर्नु, देशैको किन बदनाम गर्नु ?
साह्रै भयो नेपाली अब, स्वविवेकले चल्नुपर्छ ।
मुक्तक -५
भारी बोके नि खाने बेला, तिम्रैमा पोल्टो थापूँला र ?
सुख र दुःख आफ्नै कर्म, तिम्रै आधारमा बाँचूला र ?
तिमीबिना डुब्दिन म सधै, तिमीबिना रूँदिन म अझै
बासै उठे नि पाटी छ बरू, तिम्रैमा पाइलो राखूँला र ?
✍ गोम बिक्रम
gombicram3@[email protected]
कल्लाबारी, पाल्पा ।
२०७५ चैत्र १४
(तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)