तस्विर:राजु क्षत्री अपुरो को फेसबुक वालबाट
"बुवा"
"हजुर "
"म हजुर जस्तै मुटु र नशा रोगको विशेषज्ञ बन्न चाहन्थें । तर हजुरले मलाई अर्कै विशेषज्ञ बनाइदिनु भयो । हजुरको कुरा टार्न पनि सकिन मैले । अहिले पछुतो लागिरहेको छ। यो सरकारी जागिरले मात्र कहिले कमाउँला मैले ? बाहिर कुनै क्लिनिक, प्राइभेट अस्पतालमा मेरो माग नै छैन "- डा छोराले आफ्नो रिटायर्ड बुवासँग गुनासो पोख्यो ।
"चिन्ता नगर बाबू , अबको केही बर्षमा तिमीलाई दामको ओइरो त आउँछ नै, नाम पनि चुलिँदै जानेछ । ढुक्क हुनू ।" - बाउले सान्त्वना दिए ।
"तर कसरी बुवा हजुर?, मैले त हजुरको कुरै बुझ्न सकिन । "- ऊ बाउको कुरामा उल्झिएको थियो ।
"ल त्यसो भए आऊ मसँग !" भन्दै उनले एउटा ठूलो पार्कमा लगे । त्यहाँ मानिसहरू आ- आफ्नै धूनमा थिए । आफैमा मस्त थिए । कोही बहुलाहा झैँ एक्लै हाँस्दै गरेका भेटिन्थे । पार्कमा को आयो, को गयो त्यो त सरोकार नै भएन, आफ्नै आडमा को को छन् , त्यो समेत कसैलाइ पत्तो थिएन ।
यिनीहरू नै हुन् तिम्रा भोलिका खास बिरामीहरू । यी जस्तै लाखौं बिरामीहरू अब यस सहरका सबै निजी तथा सरकारी अस्पतालमा छ्यापछ्याप्ति भेटिने छन् । अहिले तिमीलाई यहाँ नदेख्नेहरू धेरै जसोलाई अस्पतालमा भेट्नेछौ ।
छोराले सबैलाइ हेर्यो । उनीहरू पार्क घुम्दै गर्दा दुई घण्टादेखी सबै घोप्टे मुद्रामा मोबाइल चलाउँदै गरेका देखिन्थे। अझै कतिन्जेल घोप्टे मुद्रामा मोबाइल चलाएर बस्ने हुन् कुनै निधो थिएन ।
उनले बुवालाई खुशी हुँदै भने- बुवा हजुर, मैले रोगीहरू राम्ररी चिनेँ । अब कान्छो भाइलाई चाहिँ आँखा
विशेषज्ञ बनाउनु पर्छ है ।
- माछापुच्छ्रे गा.पा. -४ लाहाचोक, कास्की ।
( - राजु क्षत्री 'अपुरो' को यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)