Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

सुर्य लम्सालको "जय नेपाल" र मेरो मनोगत विश्लेषण -शैलेश श्रेष्ठ

सुर्य लम्सालको "जय नेपाल" र मेरो मनोगत विश्लेषण -शैलेश श्रेष्ठ

सतीश चापागाईं

२, बैशाख २०७६
images
  चुनाबमा उठ्नुको अन्तर्य, अभिष्ट अनि अन्तिम उदेश्य भनेको "चुनाब जित्नु" नै हो । प्रयोग, परिक्षण अथवा मनोरंजनका लागि चुनाबमा अक्सर कोही पनि उठ्दैनन । त्यसमाथि पनि एनआरएनए अमेरिकाले एउटा यस्तो क्रुर प्रचलन र नजिर स्थपित गरिदियो कि उठ्नेले जसरी हुन्छ जित्नै पर्ने! त्यसरी चुनाब जित्दा जे पनि जायज, मान्य अथवा सामान्य हुन थाल्यो । अकुत द्रब्य खर्च गरेर राजनैतिक शक्ति केन्द्रको चरणमा शरण पर्दै चुनाब जित्ने प्रचलनले निरन्तर मान्यता पाईरह्यो । प्रवासमा भात्री संगठन संचालन गरेर बसेका अतृप्त राजनैतिक-आत्माहरुले "जसरी हुन्छ जिताई दिने" त्यता क्रुर र अबैधानिक ठेक्कापट्टा लिन थाले त्यो आज पर्यन्त यथावत छ र अहिले त्यो मोलमोलाईको चरणमा छ । तर २०१५-२०१७ र २०१७-२०१९ को तुलनामा निक्कै घटेको छ । जति चांडो र बढी सचेत, स्वाधीन, शिक्षित, स्वतन्त्र र गैरराजनैतिक चरित्रमा मान्छेहरुको क्रियाशील बढ्दछ त्यति नै चांडो त्यस्ता परजीवी राजनीतिबाजहरुको दिन सकिन्छ । हिजो दलगत राजनीतिमा चुर्लुम्म डुबेका र रमाएका संजय थापादेखि एउटा कांग्रेसी सह-गोत्रीय खेमाको आशिर्बाद पाउने २०१७-२०१९ मा मरिहत्ते गरेर लागेका सुर्य (साल) लम्साल पनि अहिले यो संस्थालाई राजनीतिमुक्त बनाउनु पर्ने मायावी रोमाञ्चक चुनाबी नारा लिएर अध्यक्ष पदको उम्मेदवारी दिएर चुनाबमा होमिएका छन । नेपाली जनसम्पर्क समिति अमेरिकाका संस्थापक डा. अर्जुन बन्जाडे कांग्रेसी परिचय र दलगत दाग फाल्न हरेक प्रयत्न गरिरहेका छन भने वर्तमान बरिष्ट उपाध्यक्ष "म जे छु ठिकै छु बिथोल्न नआउ" बोलको गीत चुपचाप गुन्गुनाउँदै अघिला दुई निर्वाचनहरुमा सफलतापुर्वक ठेक्कापट्टा संचालन गरेकाहरुको राजनैतिक चरण र शरणमा परेका छन । उनी समीकरणमा मात्र होइन परिणाममै पनि "तेश्रो केशब पौडेल" बन्ने महत्वाकाँक्षाका साथ अघि बढेको स्पष्ट देख्न सकिन्छ । आफुसंग भएको सक्षमता र औकातले मात्र चुनाब जित्न कठिन हुने निर्क्यौलमा पुगेका सुर्य लम्साल नयाँ भोट बैंकहरु खोज्न नयाँ नयाँ परिक्षणहरु गरिरहेका छन । एनआरएनए अमेरिकालाई गैर राजनैतिक स्वरूपको संगठन बनाउने अन्तरमनको चाहना हुँदाहुँदै पनि उनी अमेरिकामा कांग्रेसको भात्री संगठनहरुमा निर्लिप्त रमाएका एक जत्थालाई परिचालित गरेर चुनाब जित्ने र अझ जसरी हुन्छ जित्ने नयाँ रणनीतिमा लागेको बुझ्न कठिन छैन । त्यसैले उनी आफुलाई सबैको साँझा उम्मेदवारसम्म भन्न थालेका छन । अघिल्लो हप्ता आफ्नो चुनाबी घोषणामा जन्मभुमीको भन्दा कर्मभुमिका बिषय र मुद्दाहरुलाई प्राथमिकतामा राखेर काम गर्ने उद्घोष गरेका सुर्य लम्सालले हिजो नेजाले भर्जिनियामा आयोजना गरेको चुनाबी बहसमा भाग लिएर आएपछि सम्प्रेषण गरेको स्टाटसलाई "जय नेपाल" को सम्बोधनले बिट मारेछन । नेपालकै जय कसले चाहदैन र? तर उनको यो पछिल्लो मनोबिज्ञान र प्राथमिकताले धेरै कुरा बोल्ने प्रयास गरेको छ उनी "सुर्य लम्साल जिताउँ अभियान" मा परिचालित "जय नेपालमार्का" ठुलो जत्थालाई आस्वस्त पार्न चाहन्छन र "जय नेपाल" को सम्बोधनले त्यसको सहजीकरण मात्र प्रत्याभूति समेत गर्दछ । एनआरएनए अमेरिकामा उम्मेदवार बनेका अधिकांशका मनमा "कांग्रेस मानिया" ले घर जमाएको छ उनीहरुलाई के लागेको छ भने कांग्रेस नभई अथवा उनीहरुको सहानुभूति, समर्थन अथवा सान्त्वना बिना चुनाब जित्न असम्भब छ । आखिर चुनाब हो अब हुने कार्यक्रम र बहसहरुमा सुर्य लम्सालले आफ्नो मन्तब्यको आरम्भमै "आदिबासी अभिबादन!" भने भने पनि हामीले आश्चर्यचकित भईरहन आवश्यक छैन । खेल भर्खर सुरु भएको छ मौसम जस्तै उम्मेदवारहरुको रंग अनि ढंगहरु पनि परिवर्तनशील हुनेछन । केही एकांकीहरु आफ्नै रंग अनि ढंगहरुमा पटाक्षप भएकाछन तथापी पूर्णाङ्कि नाटक त मन्चन हुन बाँकी नै छ । हामी तपाईहरुको अभिनय होइन प्रबृत्ति र चरित्रको आधारमा आफ्नो मत अर्थात् मन दिनेछौं ।

images
प्रकाशित मिति :बैशाख २, २०७६ सोमवार - २३:१४:३६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend