Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

कुसंस्कार (कथा ) - राजु क्षत्री 'अपुरो '

कुसंस्कार (कथा ) - राजु क्षत्री 'अपुरो '

सतीश चापागाईं

८, बैशाख २०७६
images
  हामी हेराउन जाँदैंछौं । हामी भन्नाले मेरी आमा र म । आमा हेराउने चराउनेमा अधिक विश्वास राख्छिन् । यो उनको पुरानै बानी हो। आफूलाई कुनै गाह्रा अप्ठ्यारा परिस्थितिहरू आइलाग्ने बित्तिकै उनी चिना टिप लिएर ज्योतिषकोमा हेराउन जान थाली हाल्छिन् । ज्योतिषीहरू ग्रहशान्ती गर्ने सल्लाह दिन्छन् अनि उनीहरूको पूजा -आजाबाट शान्ती मिलेको महसुस गर्छिन् । यसैमा उनको सन्तुष्टि मिल्छ । तर यो पाला उनको हातमा कुनै टिप चिना छैन तैपनि हामी जाँदैछौं हेराउन । यतिखेर हामी बसमा बसेका छौं । बस आफ्नो समय तालिका अनुसार चल्छ । मैले आफ्नो नाडी तन्काउँदै घडी हेर्छु , बस अगाडी बढ्न अझै दश मिनेट बाँकी नै छ । सह-चालक गन्तव्य स्थानको नाम लिँदै चिच्याउँदै यात्रुहरूलाई चढाउँदैछ । आडैमा बसेकी मेरी आमा बसभित्रको गर्मीले छट्पटी रहेको आभाष पाउँछु । बाहिरको गर्मीभन्दा बसभित्र बसी नसक्नु छ । यो दश मिनेट अति कष्टकर बनेको छ मेरो लागि पनि । आमाको मुहार चिन्ताग्रस्त देखिन्छ। पैंतालीस पुगे पनि पचास नाघे जस्तो देखिन्छिन् आमा । उनको आफ्नो रोगी शरीरको चिन्ता भन्दा पनि मेरो भविष्यलाई लिएर बढी चिन्तित छिन् भन्ने कुरा मैले सहजै अनुमान लगाएको छु । बस अगाडि बढ्छ। सबैले राहतको श्वास लिन्छन् मानौं एउटा नयाँ जीवन प्राप्त भयो । दायाँ-बायाँ देखिएका चिया बगानहरू छिचोल्दै बस हाम्रो गन्तव्यमा पुगेर रोकिन्छ । भीड छिचोल्दै हामी उत्रिन्छौ, बस आफ्नो अन्तिम गन्तव्यतिर गुड्छ। म बीस वर्षे लक्का जवान , भविष्यको खोजीमा भविष्यबाणी गर्नेसँग जाँदैछु आमासित , यस्तो लाग्दैछ, माउबाख्रा अगाडि हिँड्दैछ, पछाडी पछाडी पाठो उफ्रीदै हिँड्दैछ आफ्नै लापरबाही तरिकाले । केही बेरको पैदल यात्रापछि हामी माताजीको अगाडी हुन्छौं । हाम्रो पालो आएपछि उनले सोध्छिन् -" कहाँबाट आयौ ? नेपालमा घर कहाँ ?" हाम्रो उत्तरसँगै उनले हामीलाई रोकाउँछिन र छोरीहरूलाई बोलाउँदै कोठातिर चिया खुवाउन आदेश दिन्छिन् र अरुको भविष्यबाणी गर्न तर्फ थाल्छिन् । दुइटी सुन्दर जवान छोरीहरू हामीलाई लिएर घरतर्फ लगेर बगानको नम्बर एक चियापत्तीबाट बनेको चिया खुवाएर स्वागत गर्छन् । भारतमै जन्मेर हुर्केर पनि उनीहरूको बोलिचाली, व्यवहार, भाषा शैली शिष्टताले आफ्नै मुलुकको कुनै गाउँमै छु कि भन्ने आभास हुन्छ । दैनिक रुपमा आउने अन्य सेवाग्राहीभन्दा हामी विशेष थियौँ । त्यो मिठो चिया खुवाएर उनले त्यसै सत्कार गरेकी थिइनन् । केही बेर पूर्वको सानो भलाकुसारीले उनलाई आफ्नै माइती आएजस्तो लागेको हुनुपर्छ भन्ने हाम्रो ठम्म्याई रहन्छ। ।उनी नेपालको पहाडी जिल्लादेखि तीस वर्षपूर्व नै आएर घरजम गरेर बसेकी रे ! श्रीमान चिया बगानको जागिरे , छोरो पल्टनिया लाहुरे , घरमा स्वस्थानि माताको मन्दिर, दैनिक पूजापाठ, धर्मकर्म अनि भविष्यको खोजीमा आएकाहरूलाई भविष्य देखाइदिने काम उनको दिनचर्या । न कुनै लोभ न कुनै लालच । खुसीले जति दिए त्यसैमा सन्तुष्ट । सबैलाई बिदाबारी गरिसकेपछि हाम्रो पालो आउँछ । निधार हेर्दै फटाफट हाम्रा बिगत बताउन थाल्छिन् । उनले बताएका बिगतमा होइन र छैन भन्ने कुनै ठाउँ थिएन । उनले भनेको कुराले यस्तो लाग्थ्यो लामो समय उनी हाम्रै छिमेकमा बसेर सबै कुरा नियाली सकेकी हुन् । उनले विश्वास गर्न नसकिने केही भूतकाल बताइन् । हामी भूतकाल सुन्न मात्र गएका थिएनौं । हामीलाई वर्तमान र भविष्य चाहिएको थियो। भुतकाल सकेर उनी वर्तमानमा आउँदा म अझ चनाखो हुन्छु । त्यसदिनको भेटघाटले हामी अझ निकट हुन्छौं । समय-समयमा आतेजाते भइ नै रह्यो । मभने भविष्य बनाउन अर्कै सहरतिर हिँडिसकेको थिएँ । +++ +++ +++ भनिन्छ , सर्प र बाघ एकै ठाउँमा बस्दैनन रे ! त्यस्तै फौजीहरूपनि प्रायः एकै ठाउँमा बस्दैनन् । भारतीय सेनामा कार्यरत बाबा जहाँ जहाँ जानुहुन्थ्यो त्यो ठाउँबाट नचाहँदा नचाहँदै आमा पनि बाबाको पछि पछि लागेर जान बाध्य हुन्थिन् । कहिले दिल्ली त कहिले बाग्डोग्रा कहिले बिन्नागुडी । त्यो ठाउँलाई बिट मारेर दिल्ली पुग्छ हाम्रो परिवार । दिल्लीको तीन वर्षे बसाईँपछि पुरानो क्याम्पदेखि केही नजिक रहेको बाग्डोग्रा आएपछि आमाको मुहार केही हँसिलो देखिन थाल्छ । लामो समयदेखि बिछोडिएकी ती दिदिलाई भेट्न आतुर छिन् भन्ने आमाको बेला-बेलाको प्रसङ्गले जानकारी पाइरहन्छु म । म आमालाई लिएर बागडोग्रादेखि भुटान बोर्डरनेरको त्यो बस्तिमा पुग्छु । गेट खुल्ला थियो, मन्दिरको दर्शन गरेपछि आमाले चारैतिर नजर लगाउँछिन् तर जसलाई भेट्न आएकी हुन उनी कतै देखिन्नन् । केही बेरमा उनकी जेठी छोरी आउँछिन् । उनले हामीलाई सहजै चिन्छिन् । "नानी, खै त नि आमा ? आमाको प्रश्न खस्न नपाउँदै छोरीको आँखा रसाउन थाल्छन् । उनी यो धर्तिमा नरहेको अनुमान लगाउन हामीलाइ कुनै कठिन हुँदैन । मैले मेरी आमालाई दुई पटक बिलौना गरेर रोएको देखेको छु। यो उनको रुवाई तेस्रो पटक थियो। यो भन्दापूर्व उनी आफ्नी दिदी र आमाको मृत्युको खबरले कति दिनसम्म खानु न खुट्नु भएकी थिईन् । उनले मातालाई आफ्नै सहोदर दिदी जस्तै मान्थिन् । उनैलाइ भेट्न त तीनवटा बस फेरेर पाँच घन्टा लामो यात्रा गरेर त्यहाँ पुगेकी थिईन् । आमा भक्कानिएर रोएको देखेपछि छोरीले गर्लम्म अँगालो मारिन् । दुबै जना अँगालो मारेर धेरै बेर रोए । म पुरुष मन पनि थाम्न सकिनँ । नचाहँदा नचाहँदै पनि आँसु खसे मेरा पनि । बाबा सेवाबाट अवकाश लिएपछि हामी आफ्नो गाउँ फर्कियौं । मेरी आमाको भित्री इच्छा थियो, अब बुढेसकालमा पुजापाठ गर्ने धर्मकर्म गरेर बस्ने । हामी सबैले मिलेर उनको इच्छा बमोजिम मन्दिर निर्माण गरायौं । आमाको आधा दिन मन्दिरमै बित्न थाल्यो । शाकाहारी बनेकी उनी साफ-सफाइ पुजा -पाठ , ध्यान आदि उनका दिनचर्या हुँदै गए । एकदिन मैले अनायासै देखेँ - कोही दलित समुदायका महिलाले चिया पिएको गिलासलाई आमाले पानी छर्केर भित्र लैजादै थिइन, मैले थोरै कड्किँदै भने - 'आमा तिमीले यो के गरेको ?' उनीहरू दलित हुन् नि त ! भाँडा चोख्याउनु परेन त ? आमाले आफ्नो स्पष्टीकरण दिन खोजिन् । "आमा! , जुन महिलाले तिम्रो जीवनको बाँच्ने आधार देखाइन् , जुन महिलासित तिम्रो उठबस् भयो । एउटै भान्छामा खाना खायौ । उनकै बिस्तारामा सुत्यौ पनि । आफ्नोमा ल्याएर सम्मानपूर्वक खाना खुवायौ । जसको मृत्युको खबरले तीन दिनसम्म खाना खान पनि सकिनौ, आज त्यही समुदायकी महिला र यी महिलामा किन भेदभाव त नि ?"- मैले भारतका नालीबेली बेलिबिस्तार लगाउँदै प्रश्न गरेँ । "उनीहरू माछामासु , लसुन प्याज, नखाने पूजा-पाठ गर्ने धर्मकर्म गर्ने, सरसफाई राख्ने, बोलीचाली मोठो राख्ने चोखा दलित हुन् नि त !" - आमाले जित्न खोजिन् । झट्ट हेर्दा हाँसो लाग्दो भए पनि गहिराईमा जाँदा आमाका कुरा सत्य पनि थिए। शास्त्रतिर कतै कतै लेखिएको पनि छ रे !, ब्राह्मण क्षत्री भएर धर्म कर्म , संस्कार, पूजा-पाठ साफ-सफाई, मीठो बोली राखेन भने ती ब्राह्मण क्षत्री पनि दलित नै हुन रे ! यदि दलित भएर माथिका भनाइ पुर्याएको छ भने ती बाहुन बराबर नै हुन रे ! तर कथित उपल्लो समुदाय आफू जस्तोसुकै भए पनि उपल्लै जातको बिल्ला भिराइने, दलित समुदायले जे गरे पनि जे बोले पनि उखान हालेर घोच्ने प्रवृत्ति अझै ज्युँ को त्युँ छँदैछ। आमाको आशय त्यहाँनेर मेल खाइरहेको थियो । तर .... मैले असली कुरोको चुरो समातेपछि आमा नीली काली भएर जवाफविहिन भइन् । उत्तिखेरै चुप लागेर बस्नु भएको बाबाले आमाको बचाव गर्दै भन्नु भयो -- "तँ धेरै जान्ने सुन्ने नभइ त, त्यो विदेश थियो, यो गाउँघर हो, यहाँ समाज अनुसार चल्नु पर्ने बाध्यता छ बुझिस् ?" बाबाको आशय बुझ्न मलाई कुनै कठिन भएन तर मैले एउटा सङ्कल्प लिएँ । यो अति रुढीबादी परम्परा , कूसंस्कार र छुवाछूत अनि यो मान्छे मान्छे बिचको विभेद बाबा आमाको पालामा त हटाउन त सकिन तर मेरो छोराछोरीको पालासम्म जरैसित हटाउन कुनै माइकालालले रोकेर रोक्न सक्ने छैन । - माछापुच्छ्रे ४ लाहाचोक कास्की । ( -राजु क्षत्री 'अपुरो' को यो कथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)  

images
प्रकाशित मिति :बैशाख ८, २०७६ आइतवार - ०७:४८:०५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend