मुक्तक -१
लगनगाँठो कसौं भन्दा, बजायौ उहिले दन्तहरु
नौमती बाजा घन्काएर, ल्याउँला भन्थेँ जन्तहरु
समयले कोल्टो फेर्दै गयो, विवशताले घेर्दै गयो
शिशिरभन्दा उजाड देख्छु, अचेल तिम्रा वसन्तहरु ।
मुक्तक -२
आफ्नै मुहार हेरि-हेरि, बितायौ कति पलहरु
पर्खिन्छ कहाँ जवानीले, बैसले गर्दा छलहरु
सधै खुशी नि रहँदैन, कर्म आफ्नै हातमा छैन
अधुरै होलान् सपनाहरु, आँखामा छाए बादलहरु ।
मुक्तक -३
बैसको फूल फूलेपछि, सुगन्धी-राग पोखिँदो रैछ
दुनियाँलाई लोभ्याउने, रत्नसित जोखिँदो रैछ
पारखीलाई श्रीखण्ड हो, नजान्नेलाई दुर्गन्ध हो
बिटुलो भए त्यही बैश, चोख्याऊ जति नचोखिँदो रैछ ।
मुक्तक -४
हामी दुईको चोखो माया, पहिले भने नामी भयो
नमूना थियो सारातिर, बखान सुन्दा दामी भयो
तिम्रो बाटो फेरिएसी, स्वार्थको घुम्टोले बेरिएसी
तिम्रो शहरमा माया पनि, जानाजानी लिलामी भयो ।
मुक्तक -५
विवशताले जता पनि, ठक्कर मात्र दिंदो रैछ
चोखो मायामा मर्म पारी, मुटुमा बाण रोपिँदो रैछ
सपना सुन्दर सजाए नि, मनमा आशा जगाए नि
धनले गाँठो पारेपछि, जसको नि मन बदलिंदोरैछ ।
- गोम बिक्रम
[email protected]
कल्लाबारी, पाल्पा ।
२०७६ बैसाख १७
(-गोम बिक्रमका मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )