२२, बैशाख २०७६
मुक्तक -१
जहिले हिँड्थेँ यौटा बाटो, झ्यालमा बसी कुरेर हेर्थ्यौ
घाइते पार्ने नयनको, मैसित साइत जुरेर हेर्थ्यौ !
माया जालमा अड्काएर, जिन्दगीलाई तड्पाएर
मोहनी आँखा नशा लाग्दो, अचम्मैसित घुरेर हेर्थ्यौ ।
मुक्तक -२
हामी दुईको चोखो माया, पहिले भने नामी भयो
नमूना थियो सारातिर, बखान सुन्दा दामी भयो
तिम्रो बाटो फेरिएसी, स्वार्थको घुम्टोले बेरिएसी
तिम्रो शहरमा माया पनि, जानाजानी लिलामी भयो ।
मुक्तक -३
जहिले पीडा खप्नु पर्छ, संसारमा दिलदारले
मन जितेकै देख्छु बरु, सबै सामु लोकेचारले
एउटा कुरा बुझ्नुपर्छ, भित्री मनले सोच्नुपर्छ
कस्लाई चैन मिल्छ होला, प्रतिशोधको व्यवहारले ?
मुक्तक -४
जस्लाई पनि जिन्दगीमा, एक अर्काको खाँचो हुन्छ
विवेकबिना ला'को माया, जहिले पनि काँचो हुन्छ
सुख-दु:ख नि बुझ्नु पर्यो, आँसुका झरी रुझ्नु पर्यो
विपद पर्दा नछुट्ने साथ, दरिलो र साँचो हुन्छ ।
मुक्तक -५
मोहित पार्ने बैस कस्तो, सुवास उत्ति चल्छ क्यार ?
सारै नपाई जिन्दगीको, जवानीले नि छल्छ क्यार ?
प्रीतिका हुन्थे भेलाहरु !, बिते रसिला बेलाहरु !!
तिम्लाई आफ्नो नभनेरै, जीवन मेरो ढल्छ क्यार ?
✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
२०७६ बैसाख २०
प्रकाशित मिति :बैशाख २२, २०७६ आइतवार -
०८:४३:२२ बजे