२५, बैशाख २०७६
मुक्तक -१
जहिले जहाँ भेटिंदा नि, केवल चुस्स मुख लिन्छौ
मानौं फूल्पात सकिएको, सिख्रो काँडे रूख हुन्छौ
सुख पाउँदा नटेरेर, बैमानी रूप नफेरेर
मनमा सधै दु:ख पाली, सधै सब्लाई दु:ख दिन्छौ ।
मुक्तक -२
जहिले पनि जहाँ पनि, चलाइरह्यौ छुरीहरु
सगरमाथाभन्दा माथि, पुर्यायौ चुरीफुरीहरु
ओर्लिनुपर्छ चढेपछि, सीमाना नाघि बढेपछि
संसार कस्तो मायाबिना, सोची हेर त निष्ठूरीहरु ।
मुक्तक -३
मन परेको कुरा भए, दिलभित्र सजाइदिन्छौ
होइन भने राम्रो पनि, नराम्रोसित दँजाइदिन्छौ
सारै अनौठो तिम्रो बानी, फाइदा भन्दा उस्तै हानी
थाहै नपाई कति कुरा, उल्टै बाह्र बजाइदिन्छौ ।
मुक्तक -४
मनको शान्त तलाउमा, तरङ्ग आफै उठ्न थाल्छ
भक्कानिएर उसैगरी, आँसुको मुल फुट्न थाल्छ
बिन्ति छेउ आउँदै नआऊ, अब पछि लाउँदै नलाऊ
तिमी नजरमा परे मात्र, भित्रको 'घाउ' दुख्न थाल्छ ।
मुक्तक -५
विवश पारी थिचीथिची, निकम्मा र लाछी बनायौ
जीवनभरी रमिते र, निरिहताको साक्षी बनायौ
रहरहरु सक्कयाएर, जाँगरहरु मक्क्याएर
केवल राख्यौ अचानोमा, चाहनाको फाँसी बनायौ ।
✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
२०७६ बैसाख २३
प्रकाशित मिति :बैशाख २५, २०७६ बुधवार -
१०:२४:०४ बजे