२, जेठ २०७६
मुक्तक - १
बगरको यात्रा स्वीकार्नु पर्छ नदीको पानी पिउनेहरुले
चोटहरु धेरै सहनुपर्छ संसारमा अझै जिउनेहरुले
आउनु र जानु त धरामा रित न हो यो जिन्दगीको
हाँसेरै बाँच्नुपर्दछ फाटेको मन एक्लै सिउनेहरुले !
मुक्तक - २
जिन्दगानी संघर्षमा बाँचे मात्र सफल हुन्छ
दु:खसँग सुख मिलाइ नाचे मात्र सफल हुन्छ
रुनु कहिले सार्थक होइन चोटहरु मनमा पर्दा
गुलाब जस्तै काँडासँग हाँसे मात्र सफल हुन्छ ।
मुक्तक - ३
सागरमा मिल्ने आशा बोक्ने नदिले कोशौं बहनुपर्छ
आकाश छुने चाहना राख्ने हिमालले अटल रहनुपर्छ
मन भएर मात्र कहाँ हुन्छ र कसैको शिरबन्दी बन्ने
सुन पनि गहना बन्न आखिर फ़लामको चोट सहनुपर्छ ।
मुक्तक - ४
छरपष्ट बन्दा पनि,,,,,,,एउटै कथा बन्यो जीवन
हजार पटक गन्दा पनि एउटै कथा बन्यो जीवन
उनीसँगै जोडिएछ,,,,,,,,, यात्रा मेरो जिन्दगीको
अलग पारौं भन्दा पनि एउटै कथा बन्यो जीवन ।
मुक्तक - ५
रात जब तिम्रा मेरा,,,,,,तारा गन्दै जान थाले
बिगत सबै अनायासै,,,ताजा बन्दै जान थाले
जहिलेदेखि तिम्रो नाम जप्दै हिडेँ दोबाटोमा
मान्छेहरू सबै मलाइ पागल भन्दै जान थाले !!!
मुक्तक - ६
हाम्रा बाचा बन्धनहरु सबै आज जाली भयो
तिमीलाई सजाएको यो मन पनि खाली भयो
छुट्नु रहेछ आखिर माया नगाँसेकै जाती हुने
हात छुट्ने साथ छुट्ने,,,, दुबै यसैपाली भयो !!
योगराज आचार्य
(छिमेकी दाइ)
मोरंग
हाल : बहराइन
( ✍️ - योगराज आचार्यका यी मुक्तकहरु गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )
प्रकाशित मिति :जेठ २, २०७६ बिहिवार -
१७:२७:३६ बजे