Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

खाडीमा उँट चराउन छोरा पठाउँदिन बरु घरै बाख्रा चराउ भन्छु

खाडीमा उँट चराउन छोरा पठाउँदिन बरु घरै बाख्रा चराउ भन्छु

सतीश चापागाईं

३०, श्रावण २०७५
images
    साउन ३०, २०७५ बुधवार कमला खड्का/खोटाङ म अहिले ५३ वर्षको भएँ । बुढ्यौलीले छुँदैै गर्दा अनेक देख्न पर्ने । अनेक भोग्न पर्ने । केही समयअघि मैले नसोचेको कुरा भिडियोमा देखेँ । गाउँमा वित्तीय साक्षरताको कक्षा चलिरहेको थियो । बुहारीहरु जान्थे । म त जाने गरेको थिइनँ । तर एक दिन धेरैजना जम्मा भएको देखेर म पनि गएँ । भिडियो देखाइएको रहेछ । ओहो ! त्यो भिडियो देखेर त मेरो हात खुट्टा काँपे । मेरा पनि दुई छोरा रहरै रहरमा विदेश गएका थिए । मैले त नजानु यतै केही गरौंला भनेको पनि हो । तर मानेनन् ।   विदेश पुगेपछि पनि कहिल्यै नराम्रो छ भनेनन् । तर त्यो भिडियो हेरेपछि त मेरा छोराले पनि यस्तै दुःख पाएका होलान् भन्ने जस्तो लाग्यो । खाडी देशमा कसरी बसेका होलान्, खान पाए कि पाएनन् होला, भनेको बेला पानी पनि खान पाएनन् कि भनेर साह्रै चिन्ता लाग्यो । रातभरी निद्रा लागेन ।   छोराहरु पनि उस्तै । हप्तौं बिरामी हुँदा पनि मलाई भन्दा रहेनछन् । मैले कस्तो छ भनेर सोध्दा जहिले पनि राम्रो छ आमा भन्ने । यहाँ मलाई त सानो भनेर साह्रै माया गर्छन्, तपाईँले जस्तै माया गर्छन्, लगाउन दिन्छन् खान दिन्छन् भन्थे । तर के को हुन्थ्यो ? त्यो भिडियो देखेपछि पो थाहा पाएँ । कतिका छोराले कसरी उँट चराएका । कतिका छोरा बिरामी पर्दा पनि उपचार नपाएका । कोही रोड खन्दा रहेछन् । बाउआमा कतिका रोइरहेको देखेँ । त्यो देख्दा साह्रै नरमाइलो लाग्यो ।   मेरो माइलो छोरा कम्पनीमा काम गर्थ्याे । मैले त जसरी पनि घर आइज बाबु भनें । अहिले त आएको छ । कान्छो चाहिँ दुबईमै काम गर्दैछ । गर्मी हुने ठाउँमा सुतेकै बेला केही पो हुन्छ कि भन्ने चिन्ता । खै किन हो हिजोआजका मान्छेहरु विदेशमा मात्र पैसा देख्छन् । हाम्रो पालामा त त्यस्तो थिएन । जे भए पनि गाउँघरमै बसेर गरीखाने चलन थियो । पराई देशमा न हिँड्न जानिएला, न बोल्न । अनि कसरी पैसा कमाइ होला भनेर सोच्नु । बरु ५० रुपैयाँ खर्च गरिन्थ्यो भने २० रुपैयाँले पुर्‍याउने र ३० रुपैयाँ बचत गर्ने गर्नुपर्छ । अर्काको देशमा जान हुँदैन भन्ने लाग्छ मलाई त । अहिले माइलो फर्किएपछि कुखुरा, बाख्रा, तरकारी खेती र भैंसी पालेका छौं । विदेशको जस्तै नभए पनि घर खर्च चलाएर यसो दुःख बिमार पर्दा उपचार गर्न पुग्छ । अर्काको देशमा उँट चराउन जानु राम्रो होइन । त्यसको सट्टा घरमै बाख्रा चराउ छोराहरु भन्छु म त । मलाई त साह्रै मन परेन विदेशको काम त । सकिन्छ भने त खाडीका देशमा कसैका छोरा पनि नगएकै राम्रो । उज्यालो अनलाइन मेरो कथा मेरो भोगाईबाट ।

images
प्रकाशित मिति :श्रावण ३०, २०७५ बुधवार - २२:३०:४३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend