मुक्तक -१
पाखा पारिन्छन् गर्नेहरु, नगर्नेकै सान हुन्छ
जहाँ पनि टिकीरहन, ठूलाकै यशोगान हुन्छ
विकृति जति झाङ्गिदै गए, सत्यता उति नाङ्गिदै गए
काण्ड घटाइ नानाथरी, सुशासनको रटान हुन्छ ।
मुक्तक -२
आफू पहिले नअघाइ, जिम्मेवारी बोकिदैन
जबसम्म चित्त बुझाई, सुविधा हक तोकिंदैन
देशको कुनै चासो छैन, अरुसित गुनासो छैन
बिरामीहरु मरुन् तर, धर्ना जुलुस रोकिदैन ।
मुक्तक -३
कति विद्यालयहरु त, भौतिक रुपमा जीर्ण हुन्छन्
व्यवस्था सबै लथालिङ्ग, सुधार्नेहरु संकीर्ण हुन्छन्
दुनियाँ दिइन्छ आशाहरु, विज्ञापनका भाषाहरु
'सर्वोत्कृष्ठ नतिजा सहित, शतप्रतिशत उतीर्ण हुन्छन् ।
मुक्तक -४
सर्वश्व हुन्छ पहुँचमा, हतियार यही छान्दारैछन्
हातमा शक्ति छउन्जेली, विश्वविजेता मान्दारैछन्
शिखर चढ्ने झर्नुपर्छ, जिउँदो पनि मर्नुपर्छ
अर्काको बुई चढ्ने मात्र, दुनियाँ तुच्छ ठान्दारैछन् ।
मुक्तक - ५
कसम खान्छ उसैले जो, सबैभन्दा झुट छ
हजुर भित्र बाहिर कुरो मिले, जे गरे नि छुट छ
हजुर आफै उत्पात गनाएर, जनता भेंडो बनाएर
देशै बेची खान्छन यहाँ, सारा ब्रह्मलुट छ हजुर ।
[email protected]
कल्लाबारी, पाल्पा ।