१०, जेठ २०७६
मुक्तक -१
जहिले पनि जहाँ पनि, चलाइरह्यौ छुरीहरु
सगरमाथाभन्दा माथि, पुर्यायौ चुरीफुरीहरु
ओर्लिनुपर्छ चढेपछि, सीमाना नाघी बढेपछि
संसार कस्तो छ मायाबिना, सोची हेर त निष्ठूरीहरु ।
मुक्तक -२
रमितै गर्छौ जैले पनि, खाल्टो खनी खसाएर
दुई ढुङ्गाको तरूल झै, चेंपमा पारी फसाएर
फेरि पनि सहँदै आयो, अमिलो मन रहँदै आयो
खतिभन्दा नि अति गर्छौ, विरोधीलाई हँसाएर !
मुक्तक -३
विरोधी हौ सँगै बस्ने, मुटु खोली जिऊँ कसोरी ?
भरिसकेँ दुबै गिलास, एक्लै बसी पिऊँ कसोरी ?
चल्दैन भो जन्ती-मलाम, हामी एक र अर्काविना !
म रूँदा नि हाँस्ने तिम्रो, चित्त बुझाई दिऊँ कसोरी ?
मुक्तक -४
तर्दैनन् जँघार कैले दुई, नाउमा पाउ छिराउनेहरू
भेटिन्न त्यस्तै सद्भाव झन, बुध्दिको बीउ किराउनेहरू
बेलैमा होश पुगेन भने, पहिले आफै जागेन भने
लक्ष्यमा कैले पुग्ने छैनन्, बिचैमा बाटो बिराउनेहरू ।
मुक्तक - ५
नशाको रसले ज्यूँनेहरू, नशाकै सुरमा झुम्छन् सधै
लठ्ठीको भरले हिंड्नेहरू, भुइ-भुइँमा घुम्छन् सधै
सोचलाई गति दिन सके, दृढ..संकल्पी हुन सके
आफ्नै खुट्टाले हिंड्नेहरू, सगरमाथा चुम्छन् सधै ।
कल्लाबारी, पाल्पा ।
२०७६ जेठ १०
प्रकाशित मिति :जेठ १०, २०७६ शुक्रवार -
१८:५३:१४ बजे