Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

'खाएरै छोड्छन् साइँदुवाहरु ।' -गोम बिक्रमका ५ मुक्तकहरू

'खाएरै छोड्छन् साइँदुवाहरु ।' -गोम बिक्रमका ५ मुक्तकहरू

सतीश चापागाईं

१०, जेठ २०७६
images
'खाएरै छोड्छन् साइँदुवाहरु ।' -गोम बिक्रमका ५ मुक्तकहरू

  मुक्तक - १

आफ्नो भुँडी भर्न जसले, मार्छन् अरूका छाकहरू

होइन भनी चोखिनलाई, दिन्छन् उल्टै धाकहरू

कालो दाग मनभित्र छ, छिद्रान्वेषी चरित्र छ

त्यसैले पो 'नकटाहरु', काट्छन् अरूका नाकहरू |

 

मुक्तक - २

भित्रै पुगेका आँखा अनि, चाउरे गाला पुक्क होलान्

खोक्रिएका आन्द्राभुँडी, दाना पाउँदा भुक्क होलान्

चुनाव जितें भनेदेखि, सपना साकार बनेदेखि

'आफ्नै' विकास मस्तसित, सातै पुस्ता ढुक्क होलान् ।

 

मुक्तक - ३

प्रतिष्ठालाई च्याँखे थापी, खेल्छन् यस्ता जुवाहरु

'इलम' तिनका सुनेपछि, रुन्छन् आमा-बुवाहरु

दुनियाँमा गनाइरहून्, देशै बदनाम बनाइरहून्

कस्सम रत्ति लाजै हुन्न, खा'रै छोड्छन् साइँदुवाहरु ।

 

मुक्तक -४

सपना देखाई समृद्धिको, भ्रष्टाचारको खेलमा देख्छु

प्रमाणित दोषी पनि, ढाक्ने जाल र झेलमा देख्छु

सत्य कहिले डग्ने होइन, झुटो कहिले टिक्ने होइन

इमान्दार त सधैभरी, बेइमानीको जेलमा देख्छु ।

 

मुक्तक -५

लचकदार छ भुँडी अति, जति खाए नि कमै हुन्छ

मौका मिलाइ कोच्न सक्ने, क्षमता हरदमै हुन्छ

चुनाव खर्च पूर्ति गर्न, दुनियाँ सामु फूर्ति गर्न

खानु थियो र खाएकै छु, जे खाए नि हजमै हुन्छ ।

 

कल्लाबारी, पाल्पा । २०७६ जेठ १०

images
प्रकाशित मिति :जेठ १०, २०७६ शुक्रवार - १९:०४:५८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend