Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेपाल मेराे घर (कविता) -शङ्कर ढकाल (छन्द : शार्दूलविक्रीडित )

नेपाल मेराे घर (कविता) -शङ्कर ढकाल (छन्द : शार्दूलविक्रीडित )

सतीश चापागाईं

११, जेठ २०७६
images
  छन् लाखाैँ प्रिय नृत्य लाेकलहरी भाषा कला संस्कृति बानी स्वच्छ छ सम्झिने हृदय छन् नेपालकाे अाकृति । पन्छी पर्वत शृङ्खला हिमनदी दिन्छन् सदा झङ्कृति फुल्ने पुष्प गुराँस अाँक पुतली जाई बनून् संस्मृति ।।१।। झण्डामा रवि चन्द्र छन् चहकिला अाभा दिने सुन्दर अाशा अादर अस्मिता अवनिमा अध्यात्म छन् उज्जर । अाराेही हिमशैलमा विविध छन् लाग्ने सदा लस्कर नामी उच्च हिमालका शिखरमा पुग्छन् छिटै भास्कर ।।२।। लक्ष्मी माधव लेखनाथ सम हुन् राम्रा कवि द्याेतन हाम्रा यी कविका सुरम्य कविता छन् व्याेम झैँ कञ्चन । नामी सुन्दर देशमा चहकिला पैदा भए सज्जन उम्दा उर्वर भूमिका तरु लता खाद्यान्न हुन् काञ्चन ।।३।। प्रज्ञा मानवता खुला हृदय छन् सत्कर्ममा जाँगर हाम्रा पूज्य अनन्य अाड मनका हुन् शैलजाशङ्कर । काेदाे गुन्द्रुकमा छ स्वाद रसिलाे ऊर्जा दिने तत्पर प्राणी बस्न रुचाउँछन् मिलिजुली साझा बनाई घर ।।४।। खाेला ताल नदी सुरम्य छहरा लाेभ्याउने छन् मन डाँडा पत्थरकाे छ शैल हिमकाे छन् चन्द्रमा चन्दन । डम्फू मादल बज्दछन् हरघडी साझा सफा अाँगन धेरै तुष्ट छ देवभूमि भवमा नेपालकाे जीवन ।।५।। नेपाली जन छन् विशुद्ध रसिला छैनन् अधर्मी छली खाई हार कदापि लड्न नसकी जाँदैन सीमा ढली । हाम्रै देश सिङार्दछन् प्रकृतिले डाँडा र पाखा डुली अाई बस्छ सधैँ यहीँ मुलुकमा बैशाख बाटाे भुली ।।६।। छर्छन् दीप अनन्य चन्द्र सविता भाग्दै नभागी पर जुट्छन् देश विकास गर्न नरका झन् शक्तिशाली कर । माटामा सुकिला विभिन्न थरिका छन् अन्नका अाकर हावा शीतल शुद्ध चल्दछ सधैँ नेपाल मेराे घर ।।७।। - तानसेन नगरपालिका - ७ काजीपौवा, पाल्पा । (-शङ्कर ढकालको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।काम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ ११, २०७६ शनिवार - १८:५९:४७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend