१६, जेठ २०७६
मुक्तक-१
जति तिम्लाई सम्झाए नि, मन फेरेनौ रत्ति पनि
लुकाईराख्न सक्छौ दोष, भ्रम छरेर जत्ति पनि
सबै कुरा बिग्रिइरहुन्, मतलब छैन जेसुकै हुन्
माछो पार्न जाल त फेर्यौ, बुद्धि फेरेनौ कत्ति पनि ।
मुक्तक -२
कहिले भने मुटुभरी, मेरै तस्वीर टाँस्ने भयौ
मेरो विरोध सुनिहाले, जाइलागेर मास्ने भयौ
हुँदा हुँदै त के भो कुन्नि ?, बदलिएछ मनै पनि,,
अचेल तिमी आफै पनि, मेरै दु:खमा हाँस्ने भयौ ।
मुक्तक-३
तिम्रो बाटो कुर्दा-कुर्दै, आशै पनि सेलाइसक्यो
बाध्यता र विवशताले, झेल्नु हण्डर झेलाइसक्यो
फेरि यी दिन कहाँ आउनु, यस्तै जीवन कहाँ पाउनु ?
थाहै नदिइ समयले, 'चिप्लेटी' पो खेलाइसक्यो ।
मुक्तक -४
आफ्ना कसुर लुकाइवरी, किच्यौ र पो चिनेँ हजुर
पहुँच मिलाई जता पनि, मिच्यौ र पो चिनेँ हजुर
वर्ग दुश्मन बनाएर, आफ्नै गल्तीले गनाएर
जहिले गला निमुखाकै, थिच्यौ र पो चिनेँ हजुर ।
मुक्तक - ५
निर्वाहमा चलाउँदा नि, जीवन यसै चल्दोरैछ
पौरखले कमाउँदा नि, ईर्ष्यालु मन जल्दोरैछ
चिसो चुलो बाल्नुथियो, नयाँ कदम चाल्नुथियो
उतै लाग्दा रैछन सबै, जताको आगो बल्दोरैछ ।
- गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
२०७६ जेठ १६
प्रकाशित मिति :जेठ १६, २०७६ बिहिवार -
२१:०९:५३ बजे