Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

‘विश्व सञ्जाल' को गठन अचानक थिएन -सुभाष घिमिरे

‘विश्व सञ्जाल' को गठन अचानक थिएन -सुभाष घिमिरे

सतीश चापागाईं

१, भाद्र २०७५
images
गत महिना नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति “विश्व सञ्जाल” गठन भएको घोषणा भएपछि नेपाली डायस्पोरा एकाएक तरंगित बन्न पुग्यो । नवगठित यो संस्थाको अवधारणा, उद्देश्य, आगामी कार्य योजना लगायत विविध विषयमा उक्त संस्थाका कोषाध्यक्ष सुभाष घिमिरे के भन्नुहुन्छ त ! प्रस्तुत छ नेप्लिज डायस्पोरा डट कमका प्रधान सम्पादक सतिश चापागाईंले वहाँसँग लिनुभएको अन्तरवार्ता । सतिश चापागाईं : अचानक “विश्व सञ्जाल”को कोषाध्यक्षको नयाँ भूमिकामा देखा पर्नुभयो नि ? सुभाष घिमिरे : मेरो लागि कोषाध्यक्षको भूमिका नयाँ भएपनि “विश्व सञ्जाल” को गठन भने अचानक थिएन । विगत चार वर्ष अगिदेखि नै यस प्रकारको संगठन निर्माण गर्ने संबन्धमा नेपाली काँग्रेस पार्टीका विभिन्न तहमा छलफल र विचार विमर्श भइरहेको थियो भन्ने कुरा हाम्रो पहिलो पत्रकार सम्मेलनमा सभापति विष्णु सुवेदीजीले स्पष्ट पारिसक्नु भएको छ । यस्तो छाता संगठनको आवश्यकता र औचित्य स्पष्ट पार्दै नेपाली काँग्रेसका तत्कालीन पार्टी सभापति स्व. सुशील कोइराला र वर्तमान पार्टी सभापति शेर बहादुर देउवालाई समेत लिखित निवेदन दिइएको थियो ।   सतिश चापागाईं : तपाईंहरूको संगठनको उद्देश्य राजनैतिक कि सामाजिक ? सुभाष घिमिरे : हामी निश्चय नै नेपाली काँग्रेस पार्टीको शुभेच्छुक संस्था हौँ । तर हाम्रा उद्देश्यहरू राजनैतिक मात्र छैनन् । त्यसो त राजनीतिको मूल ध्येय समाजको उत्थान, समृद्दि र विकास नै हो । हामीले हाम्रा उद्देश्यहरूमा नेपाली नागरिकताको निरन्तरताको लागि आवश्यक कानून बनाउन पहल गर्ने, NRN लगायत प्रवासी नेपालीबरूको हकहितका लागि क्रियाशील अन्य संघ-संस्थासँग सहकार्य गर्ने, नेपालीले विदेशमा आफू रहेकै स्थानबाट मतदान गर्न पाउने व्यवस्था गर्न पहल गर्ने तथा विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिलाई मुलुकको बृहत्तर हितका लागि उपयोग गर्ने वातावरण बनाउन पहल गर्ने जस्ता विषय पनि समावेश गरेका छौँ । सतिश चापागाईं : यो संस्था नेपाली काँग्रेस पार्टीले गठन गरेको होइन भनिन्छ नि ? सुभाष घिमिरे : हामीले यो संस्था पार्टीले गठन गरेको हो भनेर कहीं कतै भनेका पनि छैनौँ ।   सतिश चापागाईं : यसलाई पार्टीले मान्यता देला त ? सुभाष घिमिरे : अवश्य । हाम्रो कार्यसमितिमा २३ जना त नेपाली काँग्रेसको महासमिति सदस्यहरू हुनुहन्छ, १७ जना विभिन्न देशका नेपाली जनसम्पर्क समितिका पूर्व सभापतिहरू हुनुहन्छ । नेपाली काँग्रेसको आगामी महासमिति बैठकबाट यसलाई पार्टीको विधानमा नै स्पष्ट रुपमा व्यवस्था गर्न पहल भइरहेको छ । यस संबन्धमा पार्टीको केन्दीय नेताहरूसँग कुरा भइसकेको छ ।   सतिश चापागाईं: विश्व सञ्जालले नेपाली जनसम्पर्क समितिका राष्ट्रिय समितिको क्षेत्राधिकार संकुचित गर्न सक्ने आशंका पनि गरिन्छ नि ! सुभाष घिमिरे: त्यस्तो आशंका गर्न आवश्यक नै छैन । हाम्रो उद्देश्य नेपाली काँग्रेसको केन्द्रसँग समन्वय गर्ने, विश्वभरिका राष्ट्रिय जनसम्पर्क समितिहरूको बीचमा समन्वय कायम गरी विधानमा एकरूपता ल्याउने हो । राष्ट्रिय समितिहरूको विधान सम्मत अधिकारमाथि हस्तक्षेप गर्ने कुरा हुँदैन ।

images
प्रकाशित मिति :भाद्र १, २०७५ शुक्रवार - २०:०५:५२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend