२७, जेठ २०७६
मुक्तक -१
नजिक भए ओत दिने, उस्तै उस्तैको 'छाते' भएछौ
टेबुलैमुनी हात हुन्छ, क्या मजाको 'भाते' भएछौ
बेवकूफहरु बढाइरह्यौ, सज्जनहरु घटाइरह्यौ
पैसाबिना चल्ने होइनौ, साँच्चैको 'एकहाते'भएछौ ।
मुक्तक -२
विवशताले जता पनि, ठक्कर मात्र दिंदो रैछ
चोखो मायामा मर्म पारी, मुटुमा बाण रोपिँदो रैछ
सपना सुन्दर सजाए नि, मनमा आशा जगाए नि
धनले गाँठो पारेपछि, जसको नि मन बदलिंदोरैछ ।
मुक्तक -३
सुनको थालमा हिरा पस्की, तिमीले नि खान्नौ होला
कमाएको सम्पत्ति सब, जाँदा कुम्ल्याइ लान्नौ होला
बन्छौ किन न्यायको मूर्ति, देखाएर धनको फूर्ति
धनमै कसुर लुकाएर, जिउँदै स्वर्ग जान्नौ होला ?
मुक्तक -४
हुने नहुने कुराहरू, पैसैले सब सिक्दा रैछन्
जस्तो ठाउँमा जे गरे नि, पैसैले सब टिक्दा रैछन्
नदेखूँ भन्ने लागे पनि, देख्नै पर्ने अचम्मै छ नि !
मै हुँ भन्ने 'गाँठवाला' नि, पैसैले सब बिक्दा रैछन् ।
मुक्तक -५
लाउनू किन फोश्रा गफ, उल्फाका गुड्डी हाँकेकोछ
सज्जनलाई पाखा पारी, झुक्क्याएरै जाकेकोछ
कहिले आफै नाङ्गिनेछौ, सबका सामु उदाङ्गिनेछौ
तिम्रो इज्जत त जता पनि, पैसाले पो ढाकेकोछ ।
✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
२०७६ जेठ २५
प्रकाशित मिति :जेठ २७, २०७६ सोमवार -
१०:१९:२१ बजे