५, आषाढ २०७६
मुक्तक -१
भोलि शत्रु बन्छन् यिनै मित्र भन्ने कुरा नबुझेर,
पैसा देखेपछि फेरिन्छ चरित्र भन्ने कुरा नबुझेर
भिमदत्त जस्ता वीर पुरुषले आफ्नो ज्यान गुमाए,
देशद्रोहीकै रजाइँ छ देशभित्र, भन्ने कुरा नबुझेर ।
मुक्तक -२
बर्खा लागेर यतिबेला खेतबारीमा धेरै काम छ,
पुस-माघमा भेट्न आउँला अहिले बढी घाम छ,
हो छातीमा नाम लेखाएर, प्यासी अधर देखाएर,
नजिक नआऊ सुन्दरी यो ज्यान.त्यसै बदनाम छ ।
मुक्तक -३
हो कहिले जीत हुन्छ कहिले हार हुन्छ,
यो शृङ्खला मित्र यहाँ लगातार हुन्छ,
जसले केही गर्छु भन्ने विश्वास राख्छ नि,
त्यस्ता व्यक्तिको मात्र सपना साकार हुन्छ ।
मुक्तक -४
मेरा आफ्ना भोगाइ र अनुभवी बिचार दिनुछ,
हरेक कदममा हौसला र असीम प्यार दिनुछ ,
धन सम्पत्ति मात्रै हैन आफ्ना सन्तानहरूलाई,
आफ्नो अमूल्य समय र राम्रो संस्कार दिनुछ ।
मुक्तक -५
तिम्रो लागि घर परिवार त्याग्न सक्दिनँ
हाम्रो घरको सुख शान्ति भाँड्न सक्दिनँ
परिवारमा मिली बस्न राजी भए बिहे गरौँ ,
बुढेसकालमा बा-आमा एक्लै पार्न सक्दिनँ ।
फेदिखोला:३ गहतेरा
स्याङ्जा ।
( - एस.पी.असफलका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)
प्रकाशित मिति :आषाढ ५, २०७६ बिहिवार -
०९:३९:३१ बजे