मुक्तक -१
दिलैबाट आहा आउँछ उनले मुस्कान छरेपछि
मुटुमै कुतकुती लाग्छ आँखाले ईशारा गरेपछि
बोली रहेछ अति मीठो, लठ्ठै पर्छ अल्लारे ठिटो
नपग्लिने कुरै छैन आगो रापमा नौनी परेपछि
मुक्तक -२
मिठो मानी तिम्ले खाए, मेरो पेट अघाउँछ प्रिय
तिमी खुशी भयौ भने, मेरो दु:ख भगाउँछ प्रिय
सम्बन्ध मजबुत पाएँ, तिम्रो शक्ति अदभुत पाएँ
तिम्रो साथले मलाई, बाँच्ने आश जगाउँछ प्रिय ।
मुक्तक -३
शून्य भयो दाउरा र घाँस, बिसाएका चौतारीहरू
साथमा बसी प्रेमिल बात, मिसाएका चौतारीहरू
कतै वरलाई पिपल छैन, कतै पिपललाई वर छैन
एक्लै भयो रे कान्छू, तिमी रिसाएका चौतारीहरू
मुक्तक -४
शहरमा पुगेँ तिमीलाई खोज्दै गाउँमा पुगेँ
हाम्रो यो प्रेमलाई ठूलो सोंच्दै गाउँमा पुगेँ
धेरै थिए बाधाहरू,पाइलैपिच्छे काँडाहरू
म मृत्युसँग नडराई प्रेम रोज्दै गाउँमा पुगेँ ।
मुक्तक -५
प्रेममा बाचा बन्धनको, धागो लगाएर गयौ
नदेखेमा छट्पटी हुने, लागो लगाएर गयौ
धनको पछि डुलेपछि, साँचो प्रेम भुलेपछि
यता मेरो जिन्दगीमा, आगो लगाएर गयौ ।
निस्दी-६ पाल्पा ।
(- गम बयम्बु मगरका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )