२२, आषाढ २०७६
कार्तिक महिना आकाश खुल्ला भएकाले बिहान उठ्न अल्छी लागिरहेको थियो । अल्छीलाई चिर्न बिस्ताराबाट जुरुक्क उठेर सिरकबाट फुत्त निस्कँदै आगनसम्म जाँदा डम्म हुस्सु लागेको हुनाले यहीको वस्तु त्यही देख्न नियालेरै हेर्नु परेको थियो । यत्तिकै अँध्यारोमा हस्पिटल जाने तयारीमा गुवाली भित्र राखिएको साइकल छामछाम छुमछुम गरेर आगनमा निकालेँ । साइकल झिकेको आवाज सुनेर ओछ्यानमा सुतिरहेकी श्रीमतीले -"सिरकको मुख उघारेर मुख धोएर चिया पिइवरी जानू न ।"
" हुन्देऊ बेबीकी आमा मान्छेलाई परेको बेलामा त हो नि सहयोग गर्ने । तिम्रो शहरमा जस्तो नजिक नजिक घर टाढा टाढा मन गरेर कहाँ हुन्छ गाउँमा । गाउँमा टाढा घर भए पनि मन नजिकै हुन्छ । मलाई कुन गाउँको मान्छेले चिन्दैनन भन त ? र म कस्लाई चिन्दिन ?" - जवाफमा मैले भनेँ ।
मेरो कुरा सुनेर श्रीमती फतफताउँदै -"हजुरसँग बोलेर म सक्दिन भैगो उसो भए जानुहोस् ।" - किन्तु उनको बोलीमा माया घोलिएको थियो ।
"अँ साँच्ची सुन त ! बुबालाई ३ ओटा ट्याब्लेट खाइसकेको पाताबाट १ ट्याब्लेट औषधी ८ बजेतिर केही खुवाएर देऊ है ?" - यति भन्दै म साइकल लिएर हस्पिटलतिर लागें ।
हस्पिटल जाँदा बाटाभरी मनमा अनेक तर्कनाहरूले पिङ् खेले । भुवन सायद मरिहाल्दैन होला । अझै कति पीडा सहन बाँकी नै छ । उसले त पीडा पायो नै तर परिवारलाई समेत कति कष्ट र चिन्ताको बिषय बनेकोछ बिचरालाई ! सबैले कर्मको फल हो । जस्तो कर्म गर्यो त्यस्तै फल लाग्छ भन्छन । जुन कर्म गरेको थियो त्यसैको परिणति त होला नि । यस्तै कुरा मनमा खेल्दा बाटाका खाल्डा-खुल्डीमा साइकल तर्काउन भुल्दोरहेछु, साइकल एकैचोटी खाल्डामा थचारिँदा मात्रै चेत खुल्थ्यो । मनमा कुरा खेलेपछि बाटो तातेको के पत्तो लाग्थ्यो । डेढ घन्टा लामो बाटामा भएको हस्पिटल एकैछिनमा आइपुगेछ ।
भुवन मेरो बिद्यालय समयको असल मित्र थियो । अन्य साथीहरूभन्दा उसमा भएको पृथक स्वभाव, मिहेनत र पढाइप्रतिको लगनले गर्दा उस्लाई विद्यालयका सबै गुरूहरूले स्नेह गर्थे । उसमा निहित यही एउटा असल स्वाभाव उसको श्री-सम्पत्ति थियो । मनको अति धनी थियो ऊ । धनको त कुरै नगरौं विपन्न र निमुखा थियो बिचारा । उसको घरमा बेलुका खायो बिहान के खाऊँ हुन्थ्यो ।
मेरो घरदेखि दक्षिणपट्टी सुकुम्बासी टोल थियो । त्यसै टोलमा खर र भाटाले बारेर माटाको लिउन लगाएको भुवनको झुप्रो घर थियो । सन्तानले डाँडा काँडा ढाकून भन्ने पहिलाको आहान भएर होला भुवनको परिवारमा बाबा, आमा, तीन दाजु, एक दिदी र एक बहिनी समेतको आठ जनाको खाने मुख थियो । दैव पनि निष्ठुरी भएर दु:खीमाथी नै खनिँदा रहेछन् । गरिबीको बोझमाथी दैवको अर्को प्रहार भनूँ भुवनकी आमा पक्षघातको बिमारले थलिएकी थिइन् । पक्षघातले थलिएकै बखत बहिनीलाई जन्माउनु परेको थियो । बिरामी अवस्थामा सुत्केरी हुनुपरेको थियो । त्यसपछिको अवस्था अझ बिग्रिँदै गएकोले एकजनाले उनलाई सुताउने, उठाउने, खुवाउने, सौंच गराउने इत्यादि गर्नुपर्थ्यो ।
श्रीमती थलिएपछि भुवनका बाबा एक्लैलाई परिवारको भरण-पोषण गर्न फलामका चिउरा बराबर बन्यो । उनी जजमान (मेलापात)को काम गर्थे । मेलापातको काम सिजन बाहेका दिनहरूमा औंसी र पूर्णे बराबर हुन्थ्यो । निरन्तर मेलापातको काम नपाउँदा उनी स्थानिय स-साना खोल्सामा दुवैतिर बाँध बाँधी बीच भागको पानी फ्याँकी माछा मारेर गाउँको हाटमा पुर्याउँथे । यसरी मेलापात र कहिले माछा मारेर दैनिक आएको पैसाले लालाबालाको भरण-पोषण, श्रीमतीको उपचार, लुगाफाटा, चाडबाड, अन्नपात, पाहुनापासा, तिरो भारो गरेर घरको भित्ता टाल्ने काम छेउसम्म लाग्दैन थियो । दैनिक काम गरेर हाजिरा पैसा समाउन पाएका दिन भुवनका बाबा बेलुका घर फर्कदा बेलुका र बिहानलाई चामल, नुन, तेल लिएर बेलुका घर फर्कन्थे । बाबा बेलुका घर नफर्कँदासम्म छोराछोरी भोकले पकाउने भाँडा हातमा लिएर बाबाको बाटो हेर्दै बसिरहेका हुन्थे । कुनै दिन भनेजति माछा नपाउँदा र माछा पाएको बेला नबिक्दा बेलुका खायो बिहान खानलाई भाँडामा हालेर पानीमा मिसाउने कुरा हुँदैन थियो । यस्ता बेलुका खायो बिहान के खाऊ त्यो घरमा कति आए कति गए हिसाबै थिएन ।
घरको नाजुक आर्थिक स्थितिले भुवनको उत्कट पढ्ने चाहनालाई कुनै छेकबार लगाउन सकेन । ऊ सधैं १ घन्टा टाढाको विद्यालयमा साथीसँग पैदल गएर विद्यालयको झ्यालमा हेर्दै पढाएको सुनेर बस्थ्यो । दिनहुँ यसरी झ्यालमा अबोध कोही बालकले हेरेको देखेपछि एक दिन गणित शिक्षक जगदिश सरले भुवनलाई कक्षा कोठाभित्र बोलाउनु भयो र सोध्दै भन्नू भयो - " तिम्रो नाम के हो ? किन यसरी सधैं झ्यालमा बसेर हेरेका नि ?
जवाफमा भुवनले - "मेरो नाम भुवन मेचे हो । हाम्रो बाबाले स्कूल पढाउनु भएन । मलाई किताबमा भएको कुरा सुन्न पाउँदा मज्जा लाग्छ । त्यही भ'र सधैं आ'को सर । ऊ.. त्यहाँ मेरो साथी पनि छ ।" - हातले देखाउँदै भुवनले भन्यो ।
उसको कुरा सुनेर सर एकछिन भावविह्वल भए । आफ्नो उडिरहेको मनलाई भङ्ग गर्दै केही क्षण पश्चात् सरले भन्नु भयो -" जाऊ पछाडीको बेञ्चमा गएर बस । मेरो क्लास सकिएपछि निस्कनु है, नत्र अरू सरहरूले गाली गर्छन् तिमीलाई बस्न दिँदैनन् नि । अहिले जाऊ बस ।"
" सुन त भुवन, भोलि मलाई तिम्रो घर लैजाऊ ल ? जगदीश सरले भन्नु भयो । भुवनले स्विकृतिमा मुण्टो हल्लाउँदै पछाडिको बेञ्चमा गएर बस्यो ।
स्कूलपछि लुरुलुरु भुवन बाहिर निस्किँदा उसलाई आजको गतिविधी आमालाई सुनाउन हतार भैराखेको थियो । ऊ घोडा झैं बुर्कुसी मार्दै एक घन्टा समय लाग्ने बाटोको घर आधा घण्टामै पुगेको थियो । घर पुगेर आमाको छेउमा हतार गरेर जान खोज्दा ढोकामा ठोक्किएर एक्कासी लड्यो । उसको नाकबाट रगत बगेको थियो । त्यो घटना देखिरहेकी आमाको आँखाबाट बर्र आँसु झर्न थाल्यो । उनी चाहेर पनि न बोल्न सक्थिन न केही गर्न, तर उनको अनुहार सरसर्ती पढ्दा छोराछोरीको दुखाइको दर्दमा आमाले सुम्सुम्याएर मुखले फु फु गर्दिन पाए चट्ट निको हुने थियो तर के गर्नु यस्तो हालत भगवानले बनाइ दिए । मैले त यो जीवनमा जानी जानी केही पाप गरेको जस्तो लाग्दैन ? किन यो सास्ती व्यहोर्नु पर्यो ? मेरै सन्तान मेरै अगाडी लडेर रगताम्य हुँदा मैले केही गर्न नसक्ने बनायौ । धन्य प्रभु ! भनेर भगवानप्रति गुनासो गर्दैछिन् जस्तो अनुमान लगाउन सकिन्थ्यो ।
केटाकेटीको दुखाई एकैछिनमा बिसेक हुँदोरहेछ । भुवन रगत थामिएपछि आमाको सिरानमा बसेर आमाको आँसु पुछ्दै आज उसको दिनभरीमा भएका क्रियाकलाप र सर घरमा आउने कुरा कतै नरोकिइ सबै एकैचोटीमा सुनाएर पूर्णबिराम लगायो । छोराको कुराले आमाको मलिनो अनुहारमा प्रसन्नता छाएको थियो । उनको मुहारका संकेतहरूमा छोराले पढ्न पाउँछ कि भन्ने आशाहरू उनको मनमा चल्मलाउँदैछन् जस्तो लाग्थ्यो । सोच्दा सोच्दै शरीरको पक्षघात भएको भागपट्टि धेरै समय सुत्न नमिल्ने हुनाले अर्को कोल्टो फर्किन ।
भुवनले आफ्दा दाजु, दिदी र बेलुका मेलाबाट आएपछि आफ्ना बाबालाई सर आउने कुरा सुनाइसकेको हुँदा केटाकेटीलाई बिहानै घरको सरसफाई गर्न लगाए । भुवनका बाबाले त्यो दिन आफ्नो काम माया मारेर सरको प्रतीक्षामा बसेका थिए । प्रतीक्षा गरेको समयभन्दा केही ढिला गरेर साँझमा भुवनको आँगनमा सरले साइकल टेकाएपछि भुवनका बाबाले विनम्र भावमा सम्मानपूर्क नमस्कार टक्राए । जगदिश सर पनि नजिकैको मुडा तानेर आगनमा बसे ।
"यो दु:खीका आगनमा के कामले पाल्नु भयो सर ? तपाईले यो घर, आँगननै पवित्र बनाइ दिनु भयो ।" - भुवनका बाबाले विनम्रतासित प्रश्न राखे । उता भुवन र उसका दाजु, दिदी, बहिनी अलिक पर बसेर चुपचाप सुनिरहेका थिए ।
" हेर्नुस दाजु मलाई लज्जित नबनाउनुहोस् । म तपाईंको घर आगन पवित्र बनाउने कहाँ हैसियत राख्छु र ? बरु एउटा कुरा, तपाईंको छोरा सधैं विद्यालयको झ्यालमा आएर बस्छन् । बाबाले स्कूल पढाउनु हुन्न भन्छन् यही कुरा बुझौ भनेर यहाँसम्म आएको हुँ । " - सरले कुरा नघुमाई सीधै भुवनका बाबाको अगाडि राखी दिनुभयो ।
सरका कुरा सुनेर भुवनका बाबाले मलीन मुहामा भने - "यो भुवन अलिक भिन्न स्वभावको छ । सानैदेखि चिन्तनशील, व्यवहारिक र मिहेनती पनि छ । स्कुल जान्छु भनेर मलाई बारम्बार भनिरहन्छ तर म एउटाले यत्रो परिवार चलाउनु परेको छ । यसका दाई दिदीहरू मसिनै छन् । यिनकी आमा बिरामी भएर थला परेकी आठ बर्ष भैसक्यो । म सुकुम्बासीको सम्पत्ति हुने कुरै भएन । ऋणले गाउँमा मुख देखाएर हिँड्ने ठाउँ सक्किसकेको छ । मजदुरी गरेर जसोतसो यिनलाई मुखमा माडसम्म लगाएकोछु । पढाउने काम मेरा लागि सपनाभन्दा बाहिरको कुरा भो नत्र छोराछोरीलाई स्कुल पठाउन कुन बा-आमालाई मन हुँदैन थियो र सर ? " - उनी नपढेका भए पनि मुखका बाठा थिए । नरोकिइकन सम्पूर्ण आफ्ना दु:खका आन्द्राभुँडी खोलेर सरको अगाडि राखी दिए ।
भुवनका बाबाको कुरामा जगदिश सरको उपकारी मन पग्लिएर आगोमा घ्यु भैदियो । उनी सोचमग्न भए । उनी मन-मनमा गरिब हुनु अभिशाप रहेछ, गरीबीका कारण आफ्ना इच्छा, चाहना एकै पोको पारेर मुटुमा राखी जीवनभरी आफ्नै मुटु बिझाउनु पर्ने रहेछ यस्तै भन्दै थिए झैं लाग्थ्यो ।
एकछिनपछि सोचाईमा प्वाँख हालेको मन एकतृत पारेर भन्न थाले - "तपाईको कुराले मेरो मन पग्लियो । तपाईसँग भगवान साँच्चै निष्ठूरी भएका रहेछन् । जिन्दगीमा दु:ख-सुख यस्तै हो दाजु चिन्ता लिनु हुँदैन । अनर्थ लिनु हुन्न भने एउटा कुरा तपाईंलाई भनौ ? " - भनेर जगदिश सरले प्रस्ताव राखे ।
"किन अनर्थ लिनु सर ? एउटा होइन हजारौं कुरा भन्नुस मलाई कदापी आपत्ति हुनेवाला छैन सर !"- भुवनका बाबाले भने ।
आफ्ना कुरामा सहमति जनाएपछि जगदिश सरले खुशी हुँदै भन्नू भो - " तपाईंलाई छोरो पढाउने इच्छा छ भने मलाई दिनुहोस् । म लगेर पढाइ दिन्छु । मेरो घरमा यही उमेरको एउटा छोरा छ । उसको साथी पनि हुने, भुवनको पढ्ने तिब्र इच्छा पनि पूरा हुने । घरमा हामी सबै मिलेर काम गर्छौं । कसैले कसैको भेदभाव गर्ने काम मेरो घमा हुन सक्दैन । यदि भविष्यमा पढी गुनी ठूलो मान्छे भएर आएछ भने खुसीले रमाउँला । भएन र आएन भने पनि मलाई पूण्य कर्म गरेको फलिफाप कही जाँदैन । मेरो कुरा यही हो तपाईंको के विचार छ ? " जगदिश सरले फेरि सोध्नु भयो ।
सरको कुरा सुनेपछि भुवनका बाबाको मुहार एकाएक चहकिलो भएको थियो र प्रसन्न मुद्रा भुवनका बाबाले भने- " हुन्छ सर, मेरो मुखबाट बोलिनु पर्ने कुरा तपाईंबाटै सुन्न पाउँदा मैले कसरी नकारूँ ? ढुङ्गा खोज्दा मलाई देवता मिलिरहेछ ।" उनले छोरालाई सोधे -"भुवन ! जान्छस् हैन त सरसँग ?"
भुवनले तत्काल सहमति जनाउँदै टाउको हल्लाइहाल्यो ।
भुवनका बाबाले छोरालाई सबै कुरा सम्झाउँदै गए -" न्यास्रो मान्नु पर्दैन धेरै टाढा पनि होइन रहेछ उ त्यो गाउँदेखि पारिपट्टीको गाउँ त रहेछ । उहाँ गएपछि चकचक नगर्नू, सरको छोरासँग मिलेर बस्नु, सरले अह्राए सिकाएको कुरा नाइनास्ती नगर्नू र पढेर ठूलो मान्छे हुनु ल छोरा । म बेला बेला आउँछु ।"
अलिक पर्तिर एकै समूह बनाएर कुरा सुनिरहेका दाजु तथा दिदी बहिनीहरूले भुवनका लुगाफाटा प्लाष्टिकको जेब्रा झोलामा हालेर ल्याईदिँदा जगदिश सर सानो टिपोट कपीमा केही लेख्दै हुनुहुन्थ्यो । लेखिसकेर ल दाजु लिनुहोस यस्मा मेरो पूरा नाम ठेगना छ । पछि मेरो घर आउन तपाईंलाई सजिलो पर्छ भनेर उक्त टिपोट भुवनका बाबाको हातमा थमाई दिनु भयो र भुवनको केही पिर चिन्ता लिनु पर्दैन मेरो घरमा हाँसी खुसी राख्नेछु भनेर अब रात परिसक्यो हामी ढिला नगरौँ हामी जान्छौ ल भन्दै विदा माग्दा भुवन पिँडीमा सुताएकी आमा नजिक गएर आमाको गाला सुम्सुम्याउँदै म जान्छु ल आमा भन्यो तर आमा बोल्न सक्दिन थिइन एकैछिनमा अँध्यारो मुख लगाएर आँखाबाट निरन्तर आँसुमा मातृत्व भाव बगाइराखिन् ।
भुवन विदावारी भएर सरसँग जान लाग्दा उस्का बाबा, दाजु, दिदी र बहिनी उभिएर परसम्म हेर्दै थिएँ । त्यो दृष्य देख्दा छोरालाई परदेश पठाएको अनुभव उनीहरूमा भैरहेछ जस्तै लाग्थ्यो । पहिला स्कुलमा र आज आफ्नै आगनमा सरलाई भेटेपछि भुवन सरसँग घुलमिल भैसकेकोले उसमा कुनै डर र संकोच थिएन । सरको घर जाने क्रममा सरले साइकल हाँक्दै गफ गर्नु हुन्थ्यो, भुवन अगाडि बसेर लाइट बालेर बाटो देखाइदिँदै सरले सोधेका प्रश्नहरुूको जवाफमा दुवै जना गफिएर घर पुगेका थिए ।
भुवन सरको घर पुगेको भोलिपल्ट नै सरले विद्यालय भर्ना गरिदिएका थिए । जगदिश सरको श्रीमान, श्रीमती अलग अलग विद्यालयमा एउटै समय पढाउन जाने हुँदा बिहान घरमा खाना बनाउने, सर-सफाई आदि इत्यादी काम सबै जना मिलेर एकैसाथ सक्थे । भुवनलाई तोकेर तैले गर्ने काम भनेर कहिल्यै कुनै काम लगाउँदैन थिए । जस्ले गर्दा भुवन त्यही घरको सद्स्य हो भन्ने देख्नेहरूलाई महशुस हुन्थ्यो । भुवनको पढ्ने उत्कट चाहना भएकोले सरको घरमा सर र वहाँको श्रीमतीलाई कामधन्दामा सहयोग गर्दै अति मेहनत गरी पढेर बर्सेनी प्रथम हुन्थ्यो । जसले गर्दा जगदिश सर आनन्द र सन्तुष्ट हुनुहुन्थ्यो । ऊ सधैं कक्षामा दोस्रा नभै एस. एल. सी. मा प्रथम श्रेणीमा मसँगै उतीर्ण गरेको थियो ।
एस.एल.सी.सकिएपछि म काठमाण्डौमा सानोतिनो काम गर्दै क्याम्पस पढें उसले भने गाउँकै क्याम्पसमा भर्न भएको थियो । हामीले क्याम्पस पढिरहेका बेला देशमा ठूलो राजनितिक परिवर्तन भैदियो । परिवर्तनको नयाँ उपलब्धी तत्कालै देखाउनका निमित्त परिवर्तित नयाँ सरकारले भटाभटी विभिन्न देशमा श्रम सम्झौता गर्यो । गाउँका बेरोजगार जल्दाबल्दा युवाशक्तिहरु खेती किसानी काममा परम्परागत प्रणालीबाट परिश्रम गरे अनुसार भनेजस्तो आम्दानी नपाउँदा आजित भएर विदेशिनेहरूको लहर चलाए । गाउँमा हरेक घरका युवा विदेशिएपछि गाउँका छाप्रा घरहरूले फटाफट मुहार फेर्न थालेका थिए । छाप्राहरू भत्किने र नयाँ बिल्डिङ्ग ठडिने क्रमको प्रतिस्पर्धा चल्दा भुवनले घर बनाउने कामलाई आम्दानीको श्रोत बनाउने निधो गरि घर बनाउने काम सिकेर सयभन्दा बढी घर उसैले ठड्याई दिएको थियो । उस्ले निरतन्तर घर बनाउने कामको परिश्रमबाट राम्रो आयआर्जन गरी आफूलाई आधा विघा जग्गा र बस्नको लागि एकतले सुन्दर बिल्डिङ्ग बनाई सकेको रहेछ भुवनले घरबनाउँने पेशाबाट प्रगतिको शिखर उक्लदै गरेको समय म काठमाण्डौबाट गाउँ गएको रहेछु । आँफूलाई जहाँको त्यही तर भुवनले गरेको उन्नति र प्रगति देखेर आफू र भुवन बीचना भएको फरक मुल्याङ्कन गर्दै अचम्म परेको थिएँ ।
भुवनको उन्नति प्रगति नजिकैबाट नियालेर म पुनः आफ्नो कर्म थलो काठमाण्डौ फर्किएपछि दिन, महिना, बर्षहरू बितेको पत्तै भएन । एकाएक देशमा क्रान्ति शुरू भएर अन्तिम रुप लिइरहेको थियो । सर्वहारा बर्गको पक्षमा क्रान्तिले बिगुल फुकेको हुनाले हदभन्दा बढी जनसंख्या गरिबीको रेखामुनी रहेर बाँच्न बाध्य देशमा जनसमर्थन नपाउने कुरै थिएन । जनसमर्थन पाएपछि आखिर देशमा क्रान्ति सफल भएरै छाड्यो । क्रान्तिकारी समूहले देश संचालन गर्ने बागडोर हातमा लिएपछि केही निर्णयहरू गरीब जनताको पक्षमा सुनाए । जसमध्ये मेचे, कोचे, राउटे जातिलाई लोपोन्मुख जातिमा दर्ज गरि जनही पन्ध्र सय भत्ता दिन शुरू गरेपछि भुवनका भने उल्टा दिन शुरू हुन थालेका रहेछन् ।
देशमा शान्ति प्रकृया पूरा भैसक्दा पनि म गाउँमा नगएको दुई चार साल भैसकेको रहेछ । एकदिन घरबाट बुबालाई सञ्चो नभएको खबर आएर म सपरिवार गाउँ गएको थिएँ । गाउँका एकजना छिमेकीले भुवनको बारेमा आफूलाई भ्रामक लाग्ने किसिमका नकारात्मक खबर सुनाए । मैले उसका कुरालाई विश्वास गर्न सकिरहेको थिइन । त्यसैले भ्रम चिर्न म स्वयं भुवनको घर जाने निधो गर्दा उपयुक्त समय मेरो पर्खाइमा थियो ।
त्यस साल सालिन्दाभन्दा फरक मौसमले बर्षाको अन्तिम अन्तिम महिना असोज भए पनि तीन दिनदेखि लगातार झरी परिरहेको थियो । दिउँसो २ बजेतिर आकाशले आँखा उघार्दा खोरमा थुनिएका बाख्रा कराई रहेका थिए । मैले आमालाई भुवनको घरसम्म पुगेर आउने कुरा जनाउँदा आमाले -" एकछिन पख है बाबू म बाख्रालाई घाँस हालेर खाजा बनाउँछु । "- भन्नू भयो म भने फेरि पानी पर्न सक्छ भनेर आमालाई थामथुम परेर भुवनको घरतिर लागें ।
भुवनको घरमा पुग्दा उसको घरको आँगनभरी झार उम्रिएर झाडी भैसकेको रहेछ । घरको बरण्डा (पिँडी)को खाटमा ऊ लडिरहेको थियो । उसका एक बथान बर्सेनीका भण्टाङ्गभुण्टुङ्ग एकै ठाउँमा उभिएर मान्छेको मुख नदेख्या झैं गरी मलाई ट्वाल्ट्वाली हेरिरहेका थिए । उसकी श्रीमती कतै बाहिर निस्किएकी रहिछन् । म भुवनको खाटैमा गएर बसें र उस्लाई सोध्दै भने- "भुवन तिनीलाई के भयो ? किन सुतिरहेका ?"
उसले उल्टै मलाई मसिनो स्वरमा -"कहिले आयौ मित्र ? " -भनेर सोध्यो ।
"म आएको एक महिना भयो । बुबा बिरामी हुनुहुन्छ त्यसैले आएको हु भनें र तिमीलाई के भयो किन सुतेका ?" - मैले सेधें ।
" बिरामी परियो मित्र । मेरो बिमार सुनाएर किन तिमीलाई दु:खी तुल्याऊ । भै'गो मेरो बारेमा चिन्ता नलेऊ ।" - ऊ रोकियो ।
उसले कुरा लुकाउन खोजेको बुझेपछि मैले भावनामा डुबाएर कुरा ओकल्न लगाउने मनशायले भने- "भन न यार तिम्रो र मेरो बिगतको मित्रवत व्यवहार बिर्स्यौ ? हामी स्कुलमा हुँदा हाम्रो एक आपसको मनमा के कुरा लुकाउँथ्यौ ?। दुई शरीर भए'नि एउटै मन थियौ । आज पो आ-आफ्नो व्यवहार निभाउन अलिक जस्तो भएका छौं । आखिर हौं त हामी असल मित्र । "
यसपछि उसले बिरामी स्वर निकालेर भन्न थाल्यो- "मित्र विनासकालमा बिपरित बुद्धि हुनेरहेछ । मलाई अधोमतिले छोयो । सरकारले लोपोन्मुख भनेर प्रोत्साहन दियो । भत्ता बढी भित्रीने प्रलोभनमा परेर आफ्नो एक छोरा सहित तीन जनाको सुखी परिवारबाट बर्सेनी बढाएर आठ आठ जनाको परिवार बनाएँ । भत्ताको लोभमा परेर सन्तानको बथान मात्र बनाइएन । छोराछोरी मसिना हुन्जेल भत्ताले घरमा बसी-बसी खान पुग्न थालेपछि आफ्नो काम समेत छाडेर दिनभरी गाउँमा तासको खाल जमाएर बसियो । औंसी पूर्णेमा पिउने मदिरा जातले पाएको भन्दै दिनहुँ पिउँदा मदिराको लत बस्यो । दिनहुुँ भट्टीमा जानू, रक्सी पिउनु र बेलुका नालीमा लडिरहनु मेरो दैनिकी बन्यो । मदिराको लत बसेपछि श्रीमतीले बत्ती बालेर खोज्न नहिँडेको कुनै रात भएन र पनि मैले पिउन छाड्न सकिनँ । अहिले पिएन भने हात गोडा काम्छन् । अस्ति अलिकती ऋणपान गरेर अस्पताल गइ चेक गराउँदा ७० प्रतिशत कलेजो बिग्रेको भनेर रिपोर्ट निस्किएको छ ।" - भन्दै आँखाबाट आँसु बगायो र एकछिन बोल्न नसकेर रोकियो । उस्का आँसु बगेर नाकको डाँडीमा देब्रेबाट दाहिना कट्न लाग्दै थियो । देब्रे हातको चोर औलाले आँसु पुच्दै भुवनले फेरि भन्यो - "हेर मित्र "फुसुक्क सास गएर मरिहाल्न पाए हुने थियो । मैले कष्ट पाउँदा परिवारले समेत सास्ती खेप्नु परिराखेको छ । लालाबाला मसिना छन् दु:ख पाउँछन् भन्ने चिन्ता लाग्छ । यही हो मित्र मेरो हाल खबर ।" भुवनले गहभरी आँशु बनायो ।
भुवनको अन्तिमतिरका कुराहरूले मेरो मन छोएर आँखाका बाँध फुटाउन लागेका थिए तर आफूलाई कठिन साथ सम्हालेर उसलाई सम्झाउने प्रयासले भनेँ - "धेरै चिन्ता नलेऊ भुवन । चिन्ताले झन मान्छेलाई छिट्टै सिध्याउँछ । सबैको अन्तिम बाटो त्यही त हो, अलिकती ढिलो र चाँडो मात्र न हो । छोराछोरी भगवानले दिएका बरदान हुन् । सबैले एक न एक थोक गर्छन् खान्छन् कुनै चिन्ता लिनु पर्दैन बरू तिमीलाई म गीताको किताब पठाई दिन्छु । गीता पढ्यौ भने चिन्ता सधैलाई दूर हुन्छ । त्यस्मा जीवन जगतको ज्ञान छ । गीताले जीवन के हो छर्लङ्ग बनाउँछ तिमीले पढ्नू । ल अब फेरि कुन बेला पानी दर्किने हो । म अहिले जान्छु ल मित्र ? बेला बेलामा तिमीलाई हेर्न आइराखुँला ।" - मैले ऊबाट बिदा लिएर निस्किएँ ।
भुवनका शुरुदेखी अहिलेसम्मका कुरामा बाटोभरी अनेक कुराहरू मनमा खेले । नेताहरूले सपना बाँड्दा देशको निम्ति भनेर हजारौंले शाहदत प्राप्त गरे तर आखिर खै ? सबै नेताहरूकै लागि मात्र रहेछ । जनतालाई भ्रममा राखेर उनीहरू सत्तामा पुगेका हुनाले कानून जिउँका तिउँ उहीँ छ । विनियोजित आर्थिक बजेट विकासमुखीभन्दा जनमुखी बनाएर पैसा बाँडेर सकिरहेछ । वास्तविक दीन-दु:खीहरूको सही पहिचान हुन सकिरहेको छैन । यस्ता भत्ताको नाउँमा दुरूपयोग र त्रुटिपूर्ण वितरणले भुवन जस्ता कैयौं सुखी परिवारलाई बर्बाद गरिरहेको होला । भलै मेरो देश भन्नू पर्दा आफैलाई ग्लानी भएर आउँछ । यस्तै कुरा मनमा खेलाउँदै घर पुगेको थिएँ ।
मैले भुवनलाई भेटेर आएको बीस दिन पनि पुरा भएको थिएन होला । एक दिन अचानक राती १२ बजे छिमेकमा खैलाबैला मच्चिएको सुनेर निस्पट्ट अँध्यारोमा आगनसम्म निस्किएँ । पल्लो छिमेकीको घरमा कोही बोलिरहेका सुनें तर कान तिखा नभएर होला कुरा प्रष्ट नबुझिएको हुनाले उसको घरसम्म जाँदा आगनमा उनीहरुका आमा छोरा भएर बोलिरहेका रहेछन् । म पुगेर के को खैलाबैला हो भाउजू भनेर सोद्धा भाउजुले -"भुवन एक पल्ट मरेर फेरि होश घुरायो अरे । अहिले एम्बुलेन्समा हालेर हस्पिटल लग्दैछन् । यसका बाबा पनि भर्खर जानू भयो । त्यही कुरा गरेर बसेका बाबू भनेर अझै कुरा लम्ब्याउँदै त्यसलाई रक्सी नपिइ भनेर कति भन्दा लागेन हेर ३५/४० को उमेरमै मर्ने भो । बाल-बच्चाको बिल्लिबाँठ हुन्छ होला । च... च.... च .... । "
भाउजुको कुरा सुनेपछि मैले- "आ भाउजू त्यो मरिहाल्दैन क्या । नसिबमा कति भाग भोग लेख्या छ । त्यो नभोगी र मिति नपुगी कहाँ मर्छन् मान्छे ? अहिले लागे है भाउजू बुवा बिरामी हुनुहुन्छ । म भोलि बिहान मात्रै हस्पिटल जान्छु ।" - भनेर भाउजुसँग राती बिदा भएको थिएँ ।
- झापा, नेपाल ।
- झापा, नेपाल ।
(तेज कार्कीको यो कथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)
प्रकाशित मिति :आषाढ २२, २०७६ आइतवार -
००:३०:३८ बजे