पाल्पा । यो साता पाल्पामा अस्पतालबाटै शिशु चोरिएको प्रसंगले खुबै चर्चा पायो । धन्न शिशु सकुसल अवस्थामा भेटिए । यसमा प्रहरी अनुसन्धान पूर्ण रुपमा सफल भएको देखियो । शुक्रवार दिउँसो शिशु अस्पतालबाटै चोरिएको घटना थाहा पाएपछि यहाँका स्थानीय संचारमाध्यमहरुले खोजी कार्यलाई सहयोग पुर्याउने गरि समाचार सम्प्रेषण गरे । खासगरि स्थानीय अनलाइन पत्रिकाहरु यो समाचार हात हातसम्म पुर्याउने गतिलो माध्यम नै बने । पाल्पा समाचार डटकम सहित सबै अनलाइनहरुले यो समाचारलाई प्रमुख प्राथमिकताका साथ प्रकाशन गरे । पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल स्वयम् घटना थाहा पाएदेखि अन्त्यसम्म खटे ।
पत्रकारहरु समेत शिशुको खोजी कार्यमा प्रहरीसँगै लागे । तानसेनबाटै प्रकाशन हुने जनचेतना दैनिकका सम्पादक जगदीश भट्टराईले एक महिलाले शिशु चोर मिर्मि पु¥याएको थाहा पाए । उनले प्रहरीलाई खवर दिए । यो कार्यमा बिशेष सहयोग गरेको भन्दै उनलाई प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सरोकारवालाहरुले धन्यवाद समेत दिएका छन् ।
अस्पताल क्षेत्रबाटै नवजात शिशु अपहरणको आरोपमा प्रहरीले गल्याङ नगरपालिका ५ की ३६ वर्षीया बिमकला पाण्डेलाई पाल्पा प्रहरीले शनिवार बिहान गिरफ्तार गर्यो । उनलाई आइतबार दिउँसो पत्रकार सम्मेलन मार्फत सार्वजनिक समेत गरिएको छ ।
खास घटना के हो ?
लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा तानसेन नगरपालिका ९ डाँडाडुमकी २२ वर्षीया जमुना रानाले असार २७ गते बिहान ११.५६ मा शिशु (छोरा) नर्मल रुपमा जन्माएकी थिइन् । सुत्केरी जमुनाको रेखदेख गर्न उनकी आमासँगै थिइन् । सुत्केरी जमुना अर्धचेत अवस्थामा रहेको अवस्थामा उनकी आमा छोरीलाई ज्वानोको झोल ल्याइदिन बच्चा काखमा राखेर मेडिकल कलेजकै क्यान्टिनमा गएकी थिइन् ।
उनीसँगै बिमलाले पनि बच्चा काखमा लिएर सहयोगीको भूमिका निर्वाह गरिन् । दिउँसो ३ बजेतिर ज्वानोको झोल जमुनाकी आमालाई लैजानुस् भनेर बिमकलाले बच्चा आफूले ल्याइदिने बताएकी थिइन् । तर, जमुनाकी आमा सुत्केरी छोरीसँग पुग्दासमेत ती महिला बच्चा लिएर नपुगेपछि मात्र खोजी सुरु भएको थियो । जमुनाकी आमा सरासर ज्वानोको झोल लिएर छोरी भएको हस्पिटलको माथिल्लो तलातिर लागिन । बच्चा समातेकी बिमकला बच्चा सँगै लिएर सरासर मुल गेट बाट बाहिरिइन् ।
शिशुलाई अपरहण गरि उनले स्याङजाको मिर्मी पुर्याइन् । बिमकला कालीगण्डकी ए परियोजनामा सरसरफाई कर्मचारीको रुपमा कार्यरत भएकोले उनी कार्यालयकै क्वाटरमै बस्थिन । २७ गते साँझ उनले बच्चालाई लिएर क्वाटरमै पुगिन् । अस्पतालबाट बच्चा हराएको खवर सार्वजनिक भएपछि स्थानीयले उनको क्वाटरमा बच्चा रोइरहेको र उनी गर्भवती अवस्थामा पनि नरहेकोले उनैले बच्चा अपहरण गरि ल्याएको हुन सक्ने भन्दै प्रहरीलाई खवर गरेका थिए ।
श्रीमान्लाई देखाउन बच्चा जन्माएको नाटक गरिन् बिमकलाले
अरोपित बिमकलाले हालै दोस्रो बिहे गरेकी हुन् । उनको पहिलो पतिको मृत्यु भइसक्यो भने पहिलो तिरका १ छोरा र १ छोरी उनकै माइतीमा बसेर पढ्दै आएका छन् । उनले १ वर्ष अघि फेसबुक चिनजानको आधारमा नेपालगञ्जका एक युवासित बिहे गरिन् । ६ महिना सँगै बसेपछि उनका पति हाल रोजगारीको सिलसिलामा कतारमा रहेका छन् ।
पति कतार गएपछि उनले आफ्नो पतिको धेरै माया पाउने आशमा आफू गर्भवति भएको बताइन् । तर उनले पहिले नै परिवार नियोजन गरि सकेकी थिइन् । गत चैतमा सोही लुम्विनी मेडिकल कलेजमा एपेडिक्सको अपरेसन समेत गरेकी थिइन् । उनी नियमित चेक जाच गराउन मेडिकल कलेज आउने गर्थिन् तर उनले गर्भ जचाउने आएको भन्दै विदेशमा रहेका पतिलाई ढाट्ने गर्थिन् । उनले अस्पतालकै स्वास्थ्यकर्मीहरुका सामु समेत गर्भवती रहेको नाटक गर्थिन् तर गर्भ भने जचाउथिइनन् ।
उनी असार २३ गते देखि नै मेडिकल कलेजमा बस्दै आएकी थिइन् । मेडिकल कलेजमा बिरामी नभएको अवस्थामा बिरामी बेडमा कुरुवा समेत सुत्न पाउने भएकोले उनले अस्पतालका सुत्केरी वार्डका बेडमा ४ रात पुरै बिताइन् । उनले आफू गर्भवति भएको भनेर पतिलाई ढाटेकै कारण पतिलाई देखाउनकै लागि नवजात शिशु चोरेर लगिन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी कृष्णराज सापकोटाका अनुसार श्रीमानले बच्चा चाहिने भनेपछि उनी बच्चाको खोजीमा रहेको र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको वहानाले आएर बसेकी थिइन् । सामान्य रुपमा स्वस्थ उनी अस्पतालमा केही दिनदेखि घुमिरहेकी थिइन् । शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ । प्रहरीले नवजात शिशुकी आमा जमुनालाई शिशु हस्तान्तरण गरेको छ ।
के देखियो बिमकलाको क्वार्टरमा पुग्दा ?
बिमकला पाण्डे कालीगण्डकी ए परियोजनाको क्वार्टर मिर्मिमा बस्दै आएकी थिइन् । उनले बच्चा अपहरण गरि लगेपछि आफ्नो भेष पनि सुत्केरी महिलाको जस्तै बनाइन् । टाउकोमा रुमाल बाधिन् र शरीरमा लगाउने बस्त्र समेत सुत्केरी महिलाको जस्तै (स्थानीय भाषामा मेक्सी) लगाइन् । क्वाटरमा कोइला बालेर आगो बालिन् र शिशुलाई सेकाइन् पनि । उनले सुरुमा प्रहरीलाई समेत मैले ३ दिन अघि मिसन अस्पतालमा यो बच्चा जन्माएकी हुँ भनेर झुक्याएकी थिइन् । पछि उनले गल्ती स्वीकार गरि पतिलाई बच्चा पाएको देखाउन यस्तो गलत काम गरेको स्वीकार गरेकी छन् । अहिले उनलाई अपहरण तथा शरीर बन्धक कसुरमा कारवाही गर्ने गरि प्रहरीले म्याद थप समेत गरेको छ ।
लाचारी अस्पताल, वर्षेनी केही न केही समस्या दोहोरिन्छ
शिशु ३ बजेबाटै हराएको थियो । तर केही मिटरको दुरीमा रहेको यो घटनाबारे प्रहरीलाई ५ बजेपछि मात्रै थाहा दिइयो । लुम्विनी मेडिकल कले जहाँ हरेक वर्ष यस्ता समस्या आउने गरेका छन् । तर अस्पताल प्रशासन भने कहिल्यै जिम्मेवार भएन ।
घटनाकी आरोपित ५ दिनदेखि सुत्केरी वार्ड आसपासमा ५ दिनदेखि गलत मनसाय बोकेर बसेकी छन् । उनी बिरामी पनि छैनन् तर अस्पतालमा ध्यान दिइएन । जसका कारण घटना भयो । ५ दिनदेखि अस्पतालकै बिरामी बेडमा रात बिताएकी अरोपितबारे सोधी खोजी हुनुपर्ने हो कि हैन ? अर्कोतर्फ घटनाको सत्यसथ्य तत्काल पत्ता लाग्थ्यो तर अस्पतालको सिसि क्यामेराले नै काम गरेको देखिएन । त्यत्रो ठुलो अस्पताल सिसि क्यामेरा ठिक पार्नु पर्छ कि पर्दैन ?
अस्पतालको यहाँसम्मको लापरवाही देखिन्छ कि पाण्डेले जमुनाका सुत्केरी कागजपत्र समेत सँगै लिएर गएकी छन् । ती कागजपत्र नर्सिङ होमबाट कसरी चोरी हुन सक्यो । अर्कोतर्फ ज्वानो लिन जाने क्रममै घटना भएको भएपनि ३ घण्टाको शिशु लिएर ज्वानो लिन जान अनुमति कसरी दिए त्यहाँका नर्सहरुले ? यसबारे थप अनुसन्धान हुन आवश्यक छ ।
बावुलाई नोकरी र बच्चाको निःशुल्क उपचार
यो घटनापछि पिडित पक्ष र अस्पतालबीच शनिवार दुई पक्षीय सम्झौता समेत भएको छ । अस्पतालको तर्फबाट शिशुका बावुलाई अस्पतालमा नोकरी दिने र शिशुको उपचार अस्पतालमा जिन्दगीभर नै निःशुल्क रुपमा गरिदिने गरि सहमति भएको छ ।
साभार :पाल्पा समाचारपत्र