Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

नानीको बा (लघुकथा) - अवतार ढकाल

नानीको बा (लघुकथा) - अवतार ढकाल

सतीश चापागाईं

३, श्रावण २०७६
images
  पाँच बर्षको छोरो र दुई बर्षकी छोरीलाई छाडेर मानेकी स्वास्नी पोइल हिंडी भन्ने हल्ला चल्यो एकदिन । गाउँका मान्छेहरूका लागि ब्रेकिङ समाचार बन्यो । " बाबा ममी कहाँ ग'को ? बाबा ममी खोई ? ममी किन नआको ?" छोरा छोरीका यस्ता प्रश्नहरूको सामना गर्न नसकेर भक्कानियो माने । " खुट्टा भए जुत्ता जाबो कति कति ? त्यस्ती पापिनीलाई कसरी जन्म दिएछन् भगवानले ? अब छोरा छोरी स्याहारोस् कि काम गरोस् ।" छिमेकीहरूले सहानुभूति र सल्लाहका शब्दहरू दिन कुनै कन्जुस्याइँ गरेनन् । काम नगरी मुखमा माड लगाउने उपाय थिएन । छोराछोरीलाई सँगै लिएर काममा गयो ऊ केही दिन। माया मारेर जाने स्वास्नीको यादले भन्दा पनि छोराछोरीको पीरले बिथोलियो । + + + " मानेकी स्वास्नीलाई त पुलिसले अड्डा सार गर्दै चौकीमा ल्यायो रे नि ?" गाउँका मान्छेहरू यस्तै कुरा गर्दै एकदिन बिहानै पुलिस चौकीतिर उकालो लागे । चौकीको आँगनमा गोलाकार बनाएर राखिएका बेन्चहरूमा गाउँका भलादमीहरू भरिएका थिए । ढोकाको छेवैमा मानेकी स्वास्नी घोसे मुण्टो लगाएर बसिरहेकी थिई । " यो छाडा आइमाईलाई गाउँमा राख्न हुँदै हुँदैन । मानेले पनि राख्न मान्दैन । यो जहाँ जान्छे जान्छे ।" - एकजना भलादमीको फैसलामा प्राय : सबैले सहमती जनाइ सकेका थिए । एकहातले छोरालाई डोहोर्याउँदै छोरीलाई काँधमा राखेर माने आइ पुग्यो । भुईँमा राख्ने बित्तिकै छोरी -" ममी ...! ममी... !! " भन्दै दौडिँदै गएर उसकी आमाको दूध माग्न थाली । मानेलाई देख्ने बित्तिकै स्वास्नी चाहिँ घुँक्क घुँक्क रुन लागी। " ल भन माने ! के यो आइमाइलाई तँ अझै स्याहार्छस् त ? अर्कैसँग गैसकेछी तेरी स्वास्नी त रहिन अब यो ।"- पहिल्यै फैसला सुनाउने भलादमी बोले । मानेले एकछिन स्वास्नीतिर, एकछिन छोरीतिर अनि छोरातिर हेर्यो । एकछिन आकाशतिर हेर्यो, फेरि भुइँतिर हेर्यो र केही सम्झे झैं गरेर असइतिर हेर्दै भन्यो ,- " नानीकी आमा यही हो । यसैले के भन्छे । यसले मानी भनें मैले फेरि यसलाई लान मिल्छ साहेब ?" - अरुण : ५ , याकु भोजपुर । हाल : खैरहनी न. पा. चितवन ।   (अवतार ढकालको लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :श्रावण ३, २०७६ शुक्रवार - ०८:३२:५२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend