३, श्रावण २०७६
न त मैले जोगाएर राखेको मेरो प्रेम मेरो भयो
न त जात भात छुवाछुतको विभेद अन्त्य भयो ।
जब कसैसँगको गहिरो प्रेमको सागरमा चुर्लुम्म डुबिन्छ नि अनि त संसार आफैले जितेको आभाष हुँदोरहेछ । हो म पनि पारुको मायामा यसरी डुबेको थिएँ । उनको त्यो मधुर बोलीले मलार्इ उनीतर्फ खिचेको धेरै भएकै थिएन । स्कूल स्तरको पढाई सकेर म कलेज भर्ना भएको थिएँ । संयोग भनौं या के भनौं कलेजको पहिलो दिनमै उनीसँग परिचय भएको थियो । त्यही दिनदेखि म र उनी एक असल साथी भई सकेका थियौं । निकै गफिन्थ्यौं आत्मीयतामा । कहिले हामी कफी सपमा हुन्थ्यौं त कहिले पार्कमा ।
असल साथीबाट हामीलाई प्रेमी-प्रेमीका बन्न समय नै लागेन । उमेर नै त्यस्तै भएर होला विपरित लिङ्गीप्रतिको आकर्षण । समयको बहाव कति चाँडै बहँदो रहेछ कुन्नि । कति छिट्टै बितेको हो सायद माया भन्दा ठूलो केही छैन जस्तो लाग्ने ती पलहरूमा रमिरहन मन लाग्ने, ती एकान्त ठाँउहरूमा ।
हाम्रो प्रेम यसरी झाँगिदै थियो र पनि हामीले आफ्नो भविष्य र गन्तव्य चाही भुलेका थिएनौं, पढाई पनि निरन्तर चलिरहेकै थियो । कक्षा बाह्रको परिक्षा दिएर बसेका थियौं । यता मायाको कोपिला फक्रिँदै थियो सुवास अनायासै हावामा मिसिँदै पारुको घरसम्म पुगेछ । अनि त पारुलाई घरमा धेरै गाली गर्नु भएछ । हाम्रो मायाको बाधक थियो मेरो जात । म सानो जात अझ स्पष्ट भनौं भने कथित ब्राह्मणहरुबाट हेपिएको र स्पष्ट भनूँ भने पानी नचल्ने । पुर्ख्यौली संस्कारले मेरो ललाटमा दलितको ट्याग झुन्ड्याई दिएको छ, वा परापूर्वकालदेखि चलेको रित मैले सिएको लुगा लगाउन हुने तर मैले गल्तिले छोएको बस्तु चीजहरुलाई सुनपानीले छर्केर चोखो हुने क्या गजबको दासत्व चलन कथित ठूला जात भनाउँदाहरुको शोषणले थिचिएको हो म दलित ।सुन्दै जानूहोस् म आज दिल खोलेर सुनाउँछु । पारुको प्रेममा पौडीरहेको यो प्रेमीले कसरी कथित ब्राह्मणकी छोरीलाई बिहे गर्न के के संघर्ष गर्छ सुन्दै जानूस् । यो जातिय बिभेदले थिचिएको किचिएको अनि गहुँसँगै घुन पिसिन्छ नि हो म पनि त्यसरी नै पिल्सिएको हो, म दलित गरिब अनि पीडित पारु, सम्पन्न घरकी एक्ली छोरी सानो ठूलो जातको अनि धनी गरिब यो जालोमा नराम्रोसँग फस्यो हाम्रो मायाँ । म चाहन्थे समानता होस् सबै जातजाती बिच यो छुवाछूत अनि पुरानो सोचले ग्रसित हाम्रो समाजबाट हटोस् र हाम्रो प्रेममा कोही बाधक नभैदियोस् तर यो सम्भब थिएन ।
कुनै सम्भावना नदेखेपछि म सर्वहाराको पक्ष लिएर दु:खी गरिब जनता अनि पीडित नारीको हकहितको लागि हतियार उठाएको तत्कालिन बिद्रोही उपमा भिराइएको माओवादी पार्टीमा प्रबेश गरें, केवल हाम्रो प्रेममा कोही बाधक नभैदियोस् भनेर । अनि त म पनि सर्बहाराको पक्षमा उभिन थालेँ, हातमा हात काँधमा काँध मिलाएर ।
मलार्इ शुरुमै एउटा सेक्सन हेर्ने जिम्मा दिइयो । अब म एउटा साधारण गरिब दमाइको छोरो मात्र रहेन, एउटा सेक्सनको कमान्ड गर्ने सेक्सन कमान्डर भएँ । युद्ध उत्कर्षमा थियो मार्ने र मर्ने खेल यसरि चलेको थियो कि मान्छेहरुबाटै मान्छे त्रसित र भयभित हुन्थे ! दिनहुँ रेडियोमा भिडन्त, विष्फोट, मृत्यु र क्षतिका खबरहरु आइरहन्थे । म मान्छे मार्ने उद्देश्यले त होइन यो जातभात र छुवाछुतले जकडिएको समाजलाई परिवर्तन गर्न युद्दको बाटो रोजेको थिएँ । पारुसँगै सल्लाह गरेर मैले पारुलाई अपनाउनको लागि नै क्रान्तिको बाटो रोजेंको थिएँ, घर छोड्नु अघिल्लो रात पारुले आफ्नो टाउको मेरो काँधमा राखेर भनेकी थिइन् - ‘सुवास हाम्रो प्रेम यो समाजले स्वीकार गर्दैन ! हाम्रो प्रेमलाई साकार गर्न अब हामीले क्रान्तिको बाटो रोज्नै पर्छ ! तिमी जाऊ केही समयपछि म पनि तिमीसँगै आउनेछु । क्रान्तिमै बिहे गरौंला र यो समाजमा एउटा नमूना जोडी बनौंला । हाम्रो प्रेमको पालुवा अंकुराउन अब क्रान्तिमा मात्र सम्भब छ ।" यसरी क्रान्तिमा होमिने दुवै जनाको सहमति भएपछि मैले घर छाडेको थिएँ ।
पारुलाई अपनाउने सपना बोकेर घर छाडेको महिनौ दिन भयो बर्ष बिते, आक्रान्त परिवेशले पारुसँगको दुरी बढेर गयो, थुप्रै लडाइँहरुको अग्रमोर्चाको भूमिका निर्वाह गरेपछि म एकैचोटी प्लाटुन कमाण्डरको जिम्मेवारीमा पुगें, भौतिक दूरी बढे पनि मनको दूरी झन् भन्दा झन नजिक भएको आभाष हुन्थ्यो । पारुप्रतिको प्रेममा रतिभर पनि बिचलन आएको थिएन ।
लामो समयपछि मेरो नाममा पारुको पत्र हात पर्यो । उस्तै शिष्टता र प्रेम भरेर पठाइएको पत्र थियो ।
प्रिय पारु !
जनताको दु:खको जीवन बदल्ने यो महासमरमा साथ दिने तिम्रो प्रतिबद्धतालार्इ सलाम । पत्र पाएपछि खाना खाँदैछौ भने खाना खाएर हात धोइसकेपछि हात नचिसिँदै भए पनि त्यहाँको स्थानीय कार्यकर्ताको सम्पर्क हुँदै यो महासमरमा होमिने तिमी एक बहादुर प्रेमीका हुनेछौ, तिमीसँगै छिट्टै भेट्ने आशासहित यो पत्रमा यत्ति नै ।
उही सदा तिम्रो दर्शनाभिलाषी सुवास
छोटो व्यहोरा सहितको पत्र पारुको नाममा पठाएँ । युद्ध उत्कर्षमा थियो, पत्र पाइसकेपछि उनले घर छाडिन् भन्ने खबर पाएँ । खुशीको सीमा नै रहेन । अब पारुसँग जनवादी बिहे छिट्टै हुन्छ भन्ने विश्वासले म दृढ बनिरहें । पारुले घर छाडे पनि हाम्रो भेट लामो समय हुन सकेन ! म म्याग्दी लडाइँको मोर्चामा सामेल भएँ र लडाइँमा मेरो खुट्टामा गोली लाग्यो र म घाइते भएँ, घाइते भएर ओच्छ्यानमै थलिएको बेला पारुको नामको पत्र आयो !
“सुवास मलाई माफ गरिदेऊ म बटालिएन कमान्डर पहाडको प्रेममा परें, दुश्मनको पन्जामा परेको बेला आफू लडेरै पनि मलाई नछोडेर पहाडले मलाई जीवन उपहार दिए र त्यही बदलामा मैले उनलाई प्रेम दिएँ, तिमी यति सुन्दर छौ अरु नि पाइहाल्छौ, आफ्नो जिन्दगी नयाँ प्रेमबाट सुरु गर !”
लडाइँमा लागेको गोलीको पिडा त के पिडा थियो र मलार्इ पारुको पत्रले झन् गहिरो गरी दुखायो, म दुखीरहें जुन प्रेम प्राप्तिको निम्ति मैले घर र समाज छोडें त्यही प्रेम मेरो आज हुन सकेन ।
धेरै समयपछिको पिडापछि म सम्हालिएँ ! पारु र पहाडबीच जनवादी बिहे भैसकेको खबर सुनें । जातपात र छुवाछुतको विभेद मनैदेखि अन्त्य गर्न हिँडेकी, तिम्रो मनबाट जातको विभेद हट्न सकेनछ, उच्च जात नै रोजेछ वाह पारु ! पत्र लेखें तर खै किन पठाउन मन लागेन ।
युद्धबाट शान्ति प्रक्रियामा अवतरण गरियो र युद्ध लड्ने हामीहरु अस्थायी शिविर अथवा क्यान्टोनमेण्टमा सारियौं ! केही बर्ष अस्थायी शिविरको बसार्इपछि सेना समायोजनको प्रक्रिया अगाडी बढ्यो । पहाड नेपाली सेनाको मेजर भए भने पारु अवकासमा निस्कीइन् मेरो गोली लागेको घाइते खुट्टाले गर्दा समायोजन हुने बाटो बन्द भयो र राहतको केही लाख रकम लिएर म अवकासमा निस्किएँ ।
अवकासमा निस्किएपछि धेरै समय बेरोजगारी भएर बसें । देशमा रोजगारीको वातावरण नै थिएन । युद्धमा त्यसरी ज्यान जोखिममा राखेर रगत बगाउने हामीहरु अयोग्य भएर बाहिर फालियौं । पारुको बिहेको खबरपछि उनिसँग कहिल्यै भेट भएन । देशमा गरिखाने वातावरण केही नभएपछि विदेशिने निर्णय गरें र साउदी अरबको भिजा लगाएँ ।
न त मैले जोगाएर राखेको मेरो प्रेम मेरो भयो न त जात भात छुवाछुतको विभेद अन्त्य भयो । त्यति धेरै बलिदानी र मेरो प्रेम प्राप्तिको लागि गरेको लगानी सब खेर गयो । अहिले खुट्टामा लागेको गोली सहितको घाइते शरिर लिएर साउदी अरब पराया भूमिमा चौकीदारी गरिरहेछु । हेर्न मन लाग्छ पारुलाई कहिलेकाहीँ फेसबुकमा साथी नभए पनि सर्च लिस्टको पहिलो नम्बरमा पारुकै नाम छ । अहिले पारु बच्चाको आमा भएकी छिन् अनि मेजर पहाडकी श्रीमती ।
कुनै बेलाकि मेरी पारु मेरो प्रेम !
हाय, फगत बिगत !
यही थियो युद्दको मेरो अधुरो प्रेम !!
जब विगतको पाना पल्टिन्छ म अझै पनि घोत्लिन पुग्छु मनभरी तरङ्ग छुट्छन् -
"न त मैले जोगाएर राखेको मेरो प्रेम मेरो भयो न त जात भात छुवाछुतको विभेद अन्त्य भयो ।"
– घोराही उप-महानगरपालिका -५, दाङ ।
(मानुषी रेग्मीको यो कथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)
प्रकाशित मिति :श्रावण ३, २०७६ शुक्रवार -
२०:०८:२५ बजे