हरेक बिहान, लाग्छ घर-घरमै हटिया
हरेक साँझ, लाग्छ पाइला-पाइलामै हटिया
के छैन मेरो देशको हटियामा ?
भेँडादेखि गोलभेडासम्म छ
पित्तल, सुनदेखि नुनसम्म छ
ऊनदेखि खुनसम्म छ
सियोदेखि दियोसम्म छ
के छैन मेरो देशको हटियामा ?
सूर्य, तारा र जूनसम्म छ !
यी होइनन् आफ्नो बारीका उत्पादन
यी त हुन् खोला पारिका उत्पादन
देशको हाट भर्न आइपुगेका छन् मेरो देशमा
तानिएकाछन् तिनकै स्वादमा अर्गानिक मनहरू
जुन हेर्यो त्यही महंगो छ
महंगो छ सुनभन्दा तरकारीको नून
महंगो छ लसुनभन्दा ऊन
महंगो छ ऊनभन्दा लसुन
महंगो छ नुनभन्दा गणतन्त्रको कानुन
के छैन मेरो देशको हटियामा ?
सबैभन्दा सस्तो भएको छ मान्छेको गुन !
सबैभन्दा सस्तो भएको छ मान्छेको खुन !!
के छैन मेरो देशको हटियामा ?
झुण्ड्याएर नट फ(र) सेलको रंगीन साइनबोर्ड
आफैंलाई राखेर एउटा रंगीन नाङ्लोमा
बसेको छ बिक्रीमा मिसन
र, यस्तो सोचिरहेछ यतिबेला-
आज कति कमिशन मिल्छ होला !?
यतिबेला भेटिरहेको छु म-
बाँच्नुभन्दा मर्नुमा महान् अर्थ !!
- तीनपाटन गाउँपालिका, सिन्धुली
हाल: काठमाडौं
मोबाइल: ९८५१०-८८२७०
इमेल: [email protected]
(-मिसन अधिकारीको कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)