Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

पैताला पुकार (कविता) - आर.बि. निश्चल

पैताला पुकार (कविता) - आर.बि. निश्चल

सतीश चापागाईं

२७, श्रावण २०७६
images
  पूजनीय ब्राह्मण देवता ! साष्टाङ्ग दण्डवत ! माफी चाहन्छु- धृष्टताको निम्ति अनि, दुस्साहसको निम्ति मनभरी गुम्सिएका अनन्त पीडा र अथाह व्यथाहरू दबाएरै राखिरहूँ भन्दा-भन्दै पनि शान्त महासागरमा अचानक ज्वार उठेझैँ मनको बाँध फुटाल्न खोज्दैछन् भावलहरीहरू ! र, सुनामी चलेझैँ विद्युत गतिमा आक्रमण गर्न दौडिरहेछ्न् विचार तरङ्गहरू ! तर, म आफै पृथ्वी बनेर ज्वार, छाल र आँधी तुफानलाई आफैभित्र समाहित गरि सम्हालेर राखेको छु । वनै डढाउन खोज्ने अग्नि अनि बस्ती सखाप पार्न खोज्ने सुनामीलाई मेरो हृदय र मस्तिष्कको बलियो मानववादी प्रेम-चुम्बकले तानिराखेकोले तपाईंको बस्तीमा आगो लाग्न अनि सुनामी आउन दिएको छैन बरू मन मस्तिष्कमा दन्दनी दन्किरहेको अग्निज्वालाले आफैलाई डढाउँदै छु अनि सुनामी छाललाई शब्द-नदीमा शान्त भावले बग्न दिएको छु- तपाईंको सजिलोका निम्ति ! ब्राह्मण देवता ! हजुरले मेरो टाउको काटिदिनुभएछ मुर्कट्टा बनाइदिनु भएछ ! त्यति मात्र कहाँ हो र ? बाहु, जाँघबाट पनि अलग्याइदिएर पैतालामै सिमित गरिदिनुभएछ मलाई । म एउटा जीवन समय गतिको प्रवाहमा विना आँखा र हात तपाइँकै निर्देशनमा चल्न विवश छु । यस पृथ्वीमा जन्मिन पाएकोमा धन्य भएर कृतज्ञ भावले गाउन खोजेँ खुसीले उफ्रिएर नाच्न खोजेँ तर गाउने मुख त हजुरकै रहेछ नाच्ने हातगोडा पनि हजुरकै निर्देशनमा चल्दारहेछ्न् हजुरको निर्देशनविना म पैतालाले गाउने- नाच्ने दुस्साहस कसरी गर्न सक्छु र ? माफ गर्नुहोला ब्राह्मण देवता जिन्दगी तपाईंको जस्तै मेरो पनि छ प्रत्येक जिन्दगी आफैमा प्रभू हो प्रत्येक जिन्दगी आफैमा एउटा टाउको हो त्यसैले , समयगतिको ध्वनि -सङ्गीत- तालसँगै नाच्न खोज्ने मेरा भावलहरीलाई तपाईं आफू टाउको बनेर सुर, ताल नबिगारीदिनू मेरो जीवनगीतलाई तपाईंको जिब्रोले मृत्युशोकमा परिष्कृत गरेर नगाइदिनू ! मेरो जीवनदृष्टिलाई तपाईंको कालो चश्माले चौतर्फी कालै नदेखाइदिनू ! कर्मशील मेरा हातहरूको पौरखलाई धूलोमा नमिसाइदिनू ! जीवन-दर्शनको खोजमा लम्किन खोज्ने मेरा यी पैतालालाई तपाईंको टाउकोको बोझले थिचि नरहोस् ! मेरो हृदयको आवाज मेरो मस्तिष्कको विचार मेरो जीवनदृष्टी मेरो नृत्यकला हजुरकै ध्वनी- आवाज, विचार, जीवनदृष्टि र कला बनाइएर अर्कै रूप अनि ढङ्ग्मा मेरो कलापुष्प फुल्न फक्रिन बाध्य नबनाइयोस् ब्राह्मण देवता मान्छेको जीवन पैताला मात्र हुन सक्छ र ? अनि टाउको, बाहु र जाँघ मात्र पनि हुन सम्भव छ र ? प्रत्येक जीवन आफैमा पूर्ण छ मलाई अब तपाईंको खाँचो महसुस छैन ! अँ, साँच्चि- यो जिन्दगी आफैमा अपूर्ण छ यदि हजुरलाई मेरो आवश्यकता महसुस हुन्छ भने जीवन-नदीको यात्रामा महासागर भेट्न सँगसँगै हातेमालो गर्दै बहौँला ! पैतालाकै जीवन/ जिन्दगी भए पनि हे ! ब्राह्मण प्रभू मेरा आफ्नै आँखा छ्न् जुन अनन्त दृश्य हेर्न खोज्छन् मेरो आफ्नै मस्तिष्क छ जुन दर्शनको बगैंचामा थरी-थरीका दर्शन पुष्प फुलाउँछ मेरा आफ्नै पौरखी कर्मशील हात छन् जुन मान्छेका जिन्दगीमा हीरा बनेर चम्किरहेछ्न् पिरामिड होस या ताजमहल मक्का मदिना होस् वा झूलनवाग मेरै सीपमा चम्किरहेछ्न्- टल्किरहेछ्न् मेरो शरीरमा (रातै) नदी बगीरहेका छ्न् रगतका जुन पृथ्वीको फोहोर-मैला बगाउन चाहन्छ्न् मेरो हृदय पल्पल धड्किएको छ- जो उन्मुक्त ढंगले स्वतन्त्रता गीत गाउँदै मृगशावकझैँ उफ्रन, नाच्न चाहन्छ फोक्सो छ मेरो दूषित जुठो हावा लिइरहेको जो मुक्तिको श्वास फेर्न चाहन्छ । तर के गरूँ- ब्राह्मण प्रभू मेरो रातो रगत हजुरले अशुद्ध बनाइदिनुभएको छ वेदका मन्त्र सुन्न खोज्ने यी कानमा लाहा पगालेर हालिदिनुभएको छ "गायत्रीमन्त्र" जप्न खोज्ने मेरो जिब्रो नै काटिदिनुभएको छ सुन्दरता हेर्न खोज्ने यी नयन नै फुटालिदिनुभएको छ अब, यी कानले सधै-सधै हजुरकै मात्र कति कुरा सुनिरहूँ ? यो जिब्रोले सधैं-सधैं कति हजुरकै गुणको बखान गरूँ ? यी हातले सधै-सधैं हजुरकै मात्र पूजा गरिरहूँ ? यी नयनले सधैं-सधै हजुरलाई मात्रै कति हेरिरहूँ ? यो नाकले सधैंसधैं कति हजुरकै ब्राह्मण - सुवास लिइरहूँ ? यी गोडा- पैतालाले सधैं सधैं कति हजुरकै पदचाप पछ्याइरहूँ ? हजुरकै नृत्य सधैं कति नाचिरहूँ ? आज मेरो जिन्दगी पन्छी हजुरको टाउको पिँजडाबाट मुक्ति स्वतन्त्रता चाहन्छ खुला नील गगनमा हावामा कावा खाँदै उड्न चाहन्छ चाहे; पिजँडालाई ठुङ्ग्दा-ठुङ्ग्दा रक्ताम्य म किन नहूँ ? हजुरको करूणा , दयाभावले (सायद) मृत्युवर्णन म किन नगरूँ ? पिजडालाई म ठुँगिरहन्छु ! पूज्य ब्राह्मण देवता उपहार कर्मफल तपाईंबाट मृत्युु पाए पनि सहर्ष स्वीकार छ मलाई पैताला मात्र म होइन म जीवन हुँ एउटा आफ्नै टाउको, हात, खुट्टा, आँखा भएको मान्छे हुँ म सुन्दर एक जिन्दगी अथाह अनन्त चेतना भएको त्यसैले बिन्ती छ- ब्राह्मण देवता हजुरले अब सबैको टाउको बन्ने कष्ट गर्नु पर्दैन व्यर्थैमा बोझ किन बोकिरहनुहुन्छ अर्को जिन्दगीको ! जुन; ऊ आफैमा अर्को टाउको हो ! आफैमा पूर्ण जिन्दगी हो ! - रिब्दिकोट -७ मैनादी । साभार : किस्ता किस्तामा जिन्दगी (कविता संग्रह २०७६) (-आर.बि. निश्चलको यो कविता  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण २७, २०७६ सोमवार - १२:१६:५३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend