Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

चोखो प्रेम(लघु कथा) -बिर्खे अञ्जान

चोखो प्रेम(लघु कथा) -बिर्खे अञ्जान

सतीश चापागाईं

२, भाद्र २०७६
images
  " हेलो ! हैन आजभोलि कता व्यस्त हो ? बोलचाल नै छैन नि ?" - हरिले आफ्नो प्रेमीकालाई फोनबाट भन्यो । लाडिएर प्रेमिकाको धुतुनोबाट निक्लियो बोली - "बाबा ! हजुरलाई दिन-रात सम्झिरहेको छु तर हजुर काममा तनाव भैरहनु भएको छ जस्तो लागेर मुटुमा ढुङ्गा राखेर बसेकी थिएँ । आज हजुरको बोली सुनेँ आनन्द आयो । बाबा लभ यु । अँ बाबा ! फोन आयो एकछिन पछि फेरि कुरा गरौंला है। " हरि दङ्ग पर्दै भन्यो - "हुन्छ कालू , पछि कुरा गरौंला ।" + + + + + + + + + "हैन ए सुनिता ! कोसँग बात मार्दै हो ?" - अचानक पूर्ण आएर भन्यौं । अकमकाउँदै सुनिताले भनिन् - "बाबा मेरो स्कुलको साथी पार्वतीले फोन गरेकी थिइ। एकछिन उसैसित कुराकानी गरेको ।" " ए ए , अनि तिम्रो हालखबर के छ नि माया ?" " सबै ठिकै छ तर बाबा तपाईंको यादले भुतुक्कै भएको छु ।" " म पनि भुतुक्कै भएको छु नि माया । आज भेटेँ खुशी लाग्यो ।" " अँ होला केटा मान्छे दोचारे हुन्छन् रे ? मलाई त भर लाग्दैन ?" " त्यसो त केटीहरू पनि कम्ताका हुँदैनन् नि । तिमी त त्यस्ती छैनौं होला नि ?" " बाबा पनि कस्तो शङ्का गर्नु हुन्छ । आफूलाई भने हजुर बाहेक अरू हेर्न मन लाग्दैन । बल्लतल्ल भेट भएको छ माया-प्रेमको कुरा नगरेर नानाथरी कुरा गर्नु हुन्छ ।" " सरि मेरो माया। मलाई पनि तिम्रो अौधी माया लाग्छ नि । व्यवसायबाट आज अलिकति फुर्सद मिलाएर आको । कालू ! भोलि बेलुकी म आँउछु अनि बसेर कुराकानी गरौंला । अहिले जान्छु है ?" " हस् बाबा ! भोलि छिट्टै आउनू , म हजुरको प्रतिक्षामा रहने छु ।" + + + + + + + + + विदाइको हात हल्लिएपछि पूर्ण कार्की आफ्नो घरतर्फ लाग्यो । सुनिता हस्याङ फस्याङ गर्दै पार्कतिर हिँडिन् । केही बेरपछि उनको मञ्जिल आइपुग्यो । उनीभन्दा पहिल्यै अशोक पार्कमा बसिरहेको थियोे । उसलाई देख्ने बित्तिकै सुनिताले भनिन् - "लभ यु बाबा ! आउन ढिलो भयो । घरमा पाहुना आएका थिए गाउँबाट । खाजा ख्वाएर आउँदा अबेला भो । " रन्किएर अशोक गर्जियो - "तिमीहरूलाई समयको महत्त्व थाहा छैन । पर्खनु जति पट्यार लाग्दो अरू काम के हुन सक्छ ? ठिकै छ अरू बेला त्यस्तो नहोस् । " यत्ति सुनिसकेपछि सुनिता मुस्कुराउँदै भन्छे - "हस् बाबा हस् । बाबा ! हाम्रो चोखो प्रेममा कसैको आँखा नलागोस् भनेर मैले भगवानसँग आशिर्वाद मागेको छु ।" + + + + + + + + + यी तीन वटै दृश्य हेरिरहेको छिमेकीले नजिकै आयो र अशोकलाई भन्यो - "भाइ ! तिमीले सुनिता जस्ती असल , मायालु केटी यो संसारमा खोजेर पाउँदैनौ । उनको यो चोखो प्रेम देखेर पक्कै पनि भगवानले आशिर्वाद दिनुहुनेछ। " यो कुराले अशोक खुशी भयो तर सुनिताको अनुहार निलो भैसकेको थियो । - पालुङ मकवानपुर    (बिर्खे अञ्जानको यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र २, २०७६ सोमवार - ११:३२:३८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend