२३, भाद्र २०७६
मेरा तीनवटा छोरीहरू जन्मिसकेका थिए । चौथो सन्तान गर्भमा अाइसकेको थियो । ठूली छोरी करुणा ७ बर्षकी भैसकेकी थिइन् । उनले एक दिन मेरो तल्लो पेट छाम्दै सोधिन् , "ममी हजुरको पेटमा छोरा छ रे हो ?"
मैले सोधेँ , "तिमीलाई कसले भनेको ?"
"बाबाले भन्नू भा'को । यस पटक तिम्रो भाई नै अाउँछ, भन्नू हुन्थ्यो । यहाँ भित्र भाई छ, कसरी थाहा हुन्छ, ममी ? हजुरलाई कसले भनेको ?"
"डाक्टरले भनेको ।"
"डाक्टरले कसरी देख्छ नि ? डाक्टर हजुरको पेट भित्र पस्न सक्छ ? "
"सक्दैन, कम्प्युटरले देखाउँछ । "
"अाप्पै ! हामीलाई पनि कम्प्युटरले हेरेर हजुरहरूले थाहा पाउनु भएको हो ? "
"तिमीहरू जन्मनु अघि थाहै भएन । जन्मिएपछि थाहा पाएको ।"
"भाईलाई चैँ किन जन्मिनु अघि हेरेको ? "
"हेर्न मन लागेर । "
"हामीलाई हेर्न मन लागेन ?"
"लागेको थियो तर हामीसँग पैसै थिएन । हलमा फिल्म हेर्न पैसा लागे जस्तै छोराछोरी हेर्न झन् बढी पैसा लाग्छ नि ! "
"भाई हेर्न कति पैसा लाग्यो ? हामीलाई पनि भाई देखाइदिनू न ! "
"धेरै पैसा लाग्यो । भाई जन्मेपछि तिमीहरूलाई देखाउने है ?"
"छोरा एउटा त जसरी पनि चाहिन्छ रे , छोरी चैँ किन तीन वटा चाहिएको मम्मी ? "
"कसले भनेको ?"
"अामाले ।"
"छोरीहरूले धेरै माया गर्छन् नि त त्यही भएर धेरै छोरी चाहिएको हो । "
"छोराले माया गर्दैन ? माया नगर्ने छोरा किन चाहियो त ?"
"तिमीहरूको लागि एउटा भाई दिन लागेको नि, सबैको भाई छ, तिमीहरुको छैन त्यही भएर एउटा त चाहियो नि ! तिहारमा टीका लगाउन चाहिएन ? "
"अब छोरी पुग्यो त ? अरु नपाउने ? ठूल्बाको त ५ वटा छोरीहरू छन् । छोरै छैन । ठूल्ममीले कम्प्यूटरमा नहेर्नु भा भएर छोरा नभाको हो ? "
- भरतपुर, चितवन
२१ बैसाख २०७५
(कृष्णजी शर्माको यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
प्रकाशित मिति :भाद्र २३, २०७६ सोमवार -
११:५७:४२ बजे