Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

रुख (लघुकथा) - लता केसी

रुख (लघुकथा) - लता केसी

नेप्लिज डायस्पोरा

४, फाल्गुण २०७६
images
  कुनै समयमा धनबहादुर भनेपछि सिङ्गो गाउँ थु...रु....रु...हुन्थ्यो । उनको स्वभावमा हिटलर पनि गान्धीवाद पनि झल्किन्थ्यो । माया , सहयोग , समर्थनले सबैलाई अाफ्नो छत्रछाँयामा राख्न उनी दक्ष थिए । तर अबुझ मूर्खलाई उनी कोर्रा लाएर तह लाउन पनि पछि पर्दैनथे । कुनै समयमा के लहडले हो कुन्नि ? सबै गाउँलेहरूको सहयोग लिएर फलफूलको राम्रो जातको एउटा बिरुवाको खोज गरे । उनले त्यसलाई रोपे । बिरुवा केही समयपछि सशक्त रुख बन्यो । मलजल , हावा- पानी र स्याहारले त्यो हलहल बढेर खुबै झ्याङ्गियो । समय पुग्दै गर्दा त्यो रुखले फल दिन थाल्यो । अति मीठो फल ! सबैले बाँडेर खानुपर्छ भन्ने सोच उनमा पलायो । घर , परिवार , अाफन्त , छिमेकी सबैतिर फल पुग्यो । खाँदै गर्दा सबै खुशी भए । फल उपयोगी भएकै कारण अब उनलाई रुखको सुरक्षाको चिन्ताले पोल्न थाल्यो । उनले ठूला-ठूला तारबार लगाए । । सबैलाई सचेत गराए - "अपरिचित र छद्मभेषीहरुबाट रुखलाई बचाउनु पर्छ है ।"  उनको कुरा सबैले खाए । सबै रुखको सुरक्षामा तैनाथ प्रहरीझैं चनाखो रहे । समय बित्दै गयो । धनबहादुर परलोक भए । नयाँ पुस्तालाई रुखको महत्व नै थाहा भएन । सुरक्षित तारबार हराएर कता गयो ? पत्तो नै भएन । त्यो खुल्ला क्षेत्र अब जो कोहीको पनि चौतारी बन्यो । गोठालेहरुले क्रिडास्थल बनाए । दलालहरुले जमीन टुक्रयाउन थाले । फलको व्यापार गर्न नि थाले । विदेशी व्यापारीहरु पनि अाए । नूनदेखि सुनसम्मको व्यापार गर्न थाले । बटुवाहरु अोहोर दोहोर गर्दा रुख चर्चाको बिषय बन्न थाल्यो । कतिले रुखको महत्व खुलाएर निबन्ध लेखे । कतिले इतिहास नि रचे । कतिले मीठो फलको गीत गुनगुनाए । रूखले स्याहार पाउन छोड्यो । त्यसमा पनि धमिरा लाग्न थाल्यो । रूखको महत्व बुझेका केही अनुभवी मानिसहरू चिन्तित हुन थाले । रुख बचाउने अभियानमा जुटे । उनीहरूले रुखमा एउटा ब्यानर टाँसे । ब्यानरमा लेखिएको थियो -`` मलाई बचाअो , म नेपाल हुँ ।´´ - तीनकुने , काठमाडौं । (लता केसीको यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :फाल्गुण ४, २०७६ आइतवार - १९:५०:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend