Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

दर्पण छायाँ (कथा) -गम बयम्बु मगर 

दर्पण छायाँ (कथा) -गम बयम्बु मगर 

नेप्लिज डायस्पोरा

२०, फाल्गुण २०७६
images
महाकाली यातायात। 'काठमाण्डौ - धनगढी'। ना. ४ ख ८५७० नम्बर बस कलङ्गकी सडक छेउमा आए रोकियो। पाल्पा जाने बस पहिले नै छुटेकोले पश्चिम जाने जुनसुकै बसमा जान हतारमा थिएँ म।
'जाने हो भाइ ?' बस वाला ।
'सिट खाली छ र दाइ ?'
'कहाँ सम्म जाने होला ?'
'बुटवल सम्म हो दाइ ?'
'छ, आउनुस्। मिलाउँछु। रात पनि पर्न लायो।'
'भाडा कति हो नि दाइ ?'
'मिलाम्ला नि। बसी हाल्नुस्। गाडी छुट्ने बेला भयो।'
'ए...धनगढी....धनगढी...। बुटवल.... कोहलपुर.... धनगढी...।'
बसलाई ढ्याक ढ्याक बजाउँदै सहचालक भाई कराउँदै थिए।
कन्डक्टरले दायाँ पट्टीको सत्र (१७) नम्बर सिटमा ठेगान लगाई दिएका थिए। छेउको सिट खाली थियो। बसको पछाडि तिर केही सिटहरु अझै खाली देखिन्थ्यो। बायाँ पट्टीको पन्ध्र र सोह्र नम्बर सिटतिर पुगे मेरा आँखाहरु। महिला र पुरुषको जोडी छन्। देख्दा उमेरले धेरै फरक जस्तो लाग्ने। श्रीमान श्रीमती भन्न नसुहाउने। महिलाको काखमा एक शिशु पनि। आजको यात्रा शुभ रहोस्! मन मनै प्रार्थना गरेँ। कलङ्कीबाट केही अगाडि एक जना महिलाले बस रोक्न इशारा गरिन्। हातमा रातो र गुलबी रङ्ग मिसिएको झोलाको थियो। ढोकाबाट आए देखि नै उसको शरीर अन्दाजमा नापिसकेको थिएँ। सत्ताईस अठ्ठाईस वर्षकी। पाँच फिट सात ईन्च जति अग्ली। गहुँ गोरी। छाती उठेको। छिनेको कम्मर। फुकेको नितम्ब। जिउडाल चट्ट मिलेको। मृगनयनी। सलक्क मिलेको नाक। पिपलपाते अोंठ। त्यस माथि रातो लिपिस्टिक। कालो सिल्की कपाल सर्लक्क फिँजाएकी। देख्दा रुपले परिपूर्ण। हाँस्दा खोपिल्टो (डिम्पल) पर्ने गाला। देख्नेलाई आहा! लाग्ने। सुन्दर नारी मध्येकी एक।
सिट खोज्दै आईन्। मेरै छेउको अठार (१८) नम्बर सिट उसकै बुकिङ्ग रहेछ। रुपले जति धनी देखिन्थिन्। उस्तै मीठो बोली। जब छेउमा आएर मुस्कुराउँदै बोलिन्।पहिलो बोली सुनेरै खुल्ल दिलकी लाग्यो। बस अगाडि बढ्दै गयो। संगै सिटका हामीले परिचय अघि बढाएका थियौं।
'तपाईं कहाँ सम्म नि ?'
'बुटवल सम्म । तपाई नि ?'
'कोहलपुर..। बुटवल मै हो घर ?'
'पाल्पा हो। तपाई केही काम विशेषले यता ?'
'हजुर....। आफन्त भेट्न आएकी थिएँ।'
'कोही हुनु हुन्छ काठमाण्डौमा ?'
'दाजु र भाउजु यतै बस्नु हुन्छ। तपाईं नि ?'
'एउटा संस्थामा काम गर्छु। तालिम सक्याएर फर्केको।
के साईनो लिउँ होला ? साईनो विना बोल्नै गाह्रो।'
'तपाईलाई जे सजिलो लाग्छ त्यही।' मुसुक्क हाँस्दै।
यसरी हाँस्दा उसको गालामा गहिरो खोपिल्टो(डिम्पल) देखिन्थ्यो। मन मनै साइनो खोज्न थालेँ। म बाईस वर्षे युवा। उमेरले दिदी..। फेरि रिसाउने हुन् कि ? अरु के सम्बोधन गरुँ ? अलमलमा परेँ।
'तपाईं लाई बोलाउने साईनो नै भेटिनँ।' अलटाल गरेँ।
'के अलमल पर्नु भाको ? साथी भन्नु नि।' बोल्ने बाटो।
साईनो साथीमा आएर टुङ्गियो। सडकको जाममा रहेका गाडी लाई छिचोल्दै बस बिस्तारै थानकोटतिर अगाडि बढ्दै गयो। उसलाई गाडी लाग्ने समस्या रहेछ। उसकै अनुरोधमा झ्यालतिरको सिटमा बस्न दिएँ। सोंचेँ टाढा जानेलाई सजिलो होस्।
एक हप्ते तालिमको लागि दस दिन पहिले राजधानी आईपुगेको थिएँ म। तालिम सकिएपछि राजधानीलाई विदाई गर्दै आफ्नै गाउँ पाल्पा तिर फर्किँदै थिएँ। देशमा संकटकाल लागू भएको थियो। २०५९ सालको त्यो  जनयुद्धको चरम उत्सर्गमय अवस्था। सरकार पक्षका सेना, प्रहरी र माओवादी लडाकू वीच ठाउँ ठाउँमा भिडन्त, फायारिङ्ग र विस्फोटका घटना भैरहन्थे। मर्ने र मार्ने समाचार दिनहुँ सुन्न पर्थ्यो। घरबाट बाहिर निस्के शकुसल घर फिर्न पाइन्छ कि पाइँदैन त्रास थियो। कहाँ कतिखेर के हुने टुङ्गो नहुने। जनयुद्ध कै कारण गाडीका यात्रुलाई सास्ती उस्तै। प्राय हरेक जिल्लाको नाकाहरुमा सशस्त्र प्रहरी र आर्मीको बेस क्याम्प चेक पोष्ट। त्यस ठाउँमा गाडीबाट झरेर चेक गर्ने ठाउँ सम्म लाईन लग। चेक पछि फेरि गाडीमा चढ। निर्दोष जनताले दु:ख भोग्न बाध्य थियो।
'ल ल थानकोट आई पुग्न लायो। चेक पोष्टमा गाडी रोके पछि सबै जना ओर्लेर लाइनमा जाने। हिड्न नसक्ने हरु मात्रै गाडीमा बस्ने।'
कन्डक्टरले सूचना दिए। गाडी थानकोटमा रोकियो। टाउकोमा हेल्मेट, टाटेपाटे कम्ब्याट ड्रेस लगाएको। परे ठोकी हाल्ने तयारीमा तेर्स्याएर राईफल भिरेको हतियारधारी फौजी गाडीमा चेक गर्न पसेको थियो। अरु सबै लाईनमा चेक गराउँदै पास भएर अगाडि बढ्दै गरे। बस अघि नै अगाडि गएर रोकेको थियो। एक एक गर्दै सबै जना आफ्नो सिटमा बस्न गए।
'कोही छुट्यो कि ?' कन्डक्टर।
'जाम जाम गुरुजी...।' सहचालकको इशारा।
बस थानकोटको ओरालो दौडियो। झ्याल थोरै खुल्ल राखेको थियो। घुम्तीहरुमा बसले मोड लिँदा झ्यालबाट हावा प्रवेश गर्थ्यो। हावाको वेगसंगै उसको सिल्की कपाल सररर मेरो अनुहारतिर आएर बग्थ्यो। उसको कपालहरुले स्पर्श गर्दा ज्यानमा छुट्टै तरङ्गहरु तरङ्गित हुन्थ्यो। उसलाई गाडी लाग्ने। जसोतसो निदाउन प्रयास गर्थिन्। मोडहरुमा बस ढल्किँदा कहिले मेरै काँध सम्म उसको शरीर लपक्कै टाँसिन आउँथ्यो। यस्तो अवस्थामा एक जवान युवकलाई कस्तो हुन्छ होला ? पाठकलाई यो प्रश्न। ज्यान बसको सिटमा थियो तर मन भने कल्पनामा कहाँ कहाँ के के सम्म गर्न पुगेको थियो। आखिर मनै त हो। के के सोंचिन्छ सोंचिन्छ। तर सोंचेको जति सबै कहाँ पुग्छ तनि ? तर आफैँले मनलाई सम्हाल्थेँ। 'बाटोमा भेटेको साथी लाई असल व्यवहार गरेर देखाऊ। तिम्रो असल बानीले तिमीलाई अनन्त सम्म सम्झिरहनेछ।' आफ्नै मनलाई  सम्झाउँथेँ। रात छिपिँदै गएको थियो। अँध्यारो निस्पट्ट। चकमन्न। तर त्यो समय यात्रुहरुको मन उसै उज्यालोमा पनि अँध्यारै हुन्थ्यो संकटकाल र देशको अवस्थाले गर्दा। धार्केको सडक छेउको रेस्टुरेन्ट अगाडि गएर बस रोकियो।
'लौ है..नास्ता खाम। पिसाब गरौं। बिच बाटोमा गाडी रोक्दैन।' सहचालक भाइ।
'तपाई नास्ता खानु हुन्छ ?' उसलाई सोधेँ।
'खासै मन त छैन...। चिया पिउँछु झरौं।' संगै झर्यौं।
[लुम्बिनी भोजनालय] लेखेको थियो रेस्टुरेन्टको बोर्डमा।
'हात धुने। टोईलेट जानेहरु पछाडि जानुस्। खाजा खाने हरु यता बस्नुस्।'
टेबल देखाउँदै रेस्टुरेन्टको स्टाफले फलाक्दै थिए।
'ए...भाइ! चना र अण्डाको कति ?'
'प्लेटको चालिस। एउटा अण्डालाई पन्ध्र हजुर..।' उसले जवाफ दिए। मनले भन्यो महङ्गो रहेछ। उसले चिया पिउन थालिन्। म बाहिर निस्केँ। बाहिर रेस्टुरेन्टको छेउमा सानो कन्तुरमा दुकान। कन्तुरमा आधा सामान बराबर एक जना मान्छे नै टमक्क बसिरहेको थियो।
'दाइ..एउटा वाई वाई चाउचाउ दिनुस न।'
'लिनुस् भाइ। अरु केही चाहिन्छ ?'
'अरु पर्दैन दाइ। वाई वाई को कति ?'
'पन्ध्र रुपियाँ..।'
'हाम्रो पाल्पा तिर दसमा पाइन्छ त दाइ।'
'यो पाल्पा परेन नी भाइ। यति पनि नाफा नखाए राती राती यो सानो टोकारीमा बसेको के फाइदा ?' उल्टै प्रश्न।
एउटा चाउचाउ लिएर एकछिन् बाहिरै पसल तिर नजर डुलाएर सिटतिर गएँ। उसले चिया पिएर पनि अघि नै सिटमा बसि सकेकी थिइन्। त्यहाँको मूल्य सुनेर मनमा क्रोधको भाव जाग्यो। जहाँ पनि जनता मारमा छन्। संकटकाल लागू भयो जनतालाई दु:ख। महङ्गी बढ्यो गरीब जनतालाई बाँच्नै गाह्रो। कुन चाहिँ पार्टीको सरकार आएपछि यो देशका जनतालाई सुख होला ? मनमा यस्तै कुराहरु खेल्न थाल्यो।
'किन टोलाउनु भयो ?'
उसले सोधिन्। केही हैन भनेर टारिदिएँ। चालकले बस स्टार्ट गर्यो। यात्रु सबै आएपछि बस मुख्य सडकमा गएर लक्ष्यतिर भाग्न थाल्यो। यात्रुहरु बिस्तारै लोलाउन थालेका थिए। कन्डक्टरले टिकट चेक गर्दै आए। टिकट चेक गर्ने बेलामा निकै ध्यान पुर्वक उसको टिकटमा हेरेको थिएँ। काठमाण्डौ देखि कोहलपुर। सिट नं. बि - १८ । बस नं. ना.४ ख ८५७०। यात्रुको नाम- नमिता केसी। यात्री संख्या- एक जना। सम्पर्क नम्बर-....४५७८५ लेखेको थियो। उसको नाम सोध्न सकेको थिएन। त्यसैले टिकटमा नियालेको थिएँ। कन्डक्टर टिकट चेकिङ्ग पछि क्याबिनतिर पस्यो। सहचालक भाइले ढोकाको गल्ली नजिकै फोल्डिङ्ग वाला फ्रेम सिट खोलेर बस्ने शुर गरे। लाईट अफ गर्यो। बस पश्चिम तर्फ टाउको पारेर अगाडि दौड्दै गयो। बिस्तारै मधुर स्वरमा गीत बज्न थाल्यो। "गाजलु ती ठुला ठुला आँखा...तीर बनी पस्यो यो दिलैमा...कालो लामो परेली केश...छल परे कलिलो मायाँमा..।" गीत संगीतको पारखी म। गीत संगै मन बहलाउन थालेँ। गजल गायक गुलम आलीको स्वरमा गीत बज्दै थियो। गीतको भाव बुझ्दा लाग्थ्यो उसकै बयान गर्दैछ, जो छेउको सिटमा बसेकी छिन्। यात्रुहरु आपसमा खासखुस बोलेको सुनिन्थ्यो। धेरै जसो निदाउन थालेको भान हुन्थ्यो। उसले पनि आँखाको परेली जोडिरहेकी थिइन्। बसको गति बढ्दो थियो। झ्यालबाट छिरेको हावाले जिस्किन्थ्यो। बेला बेला उसको कपाल मेरो अनुहार सम्म ल्याएर स्पर्श गराउँथ्यो। उसको कपाल हावाको सहारा लिएर घरिघरी अनुहार तिर सल्बलाउँथ्यो। यसरी कपालले अङ्गालो मार्न आउँदा फकाए जस्तो लाग्थ्यो। इशाराले संकेत गर्दैछ कि ? सोंच्न पुग्थेँ। शरीरको अङ्ग अङ्गहरुमा उन्मादको छालहरु छचल्किन्थे। एक ठाउँमा बाटो बिग्रेको खल्डोमा बस एक्कासी निक्कै कोल्टियो। उसको पुरै शरीर मेरो जिउ माथि पर्न आयो। समाउने भर नपाए पछि हतारमा उसको दुबै हातले मेरो अङ्गालोमा कस्सिन आईन्। मेरो अनुहारमा पुलुक्क हेरिन्। अप्ठ्यारो मानेर आधा जिब्रो निकालिन्। केही छैन भनि दिएँ। यस्तै खल्डोमा बेला बखत परिदियोस् सोंच्थेँ म। चालकले अँध्यारो रातमा दुईटा लाईटको उज्यालोमा कही घुम्तीहरु, कही मोडहरु पार गर्दै कुदाई रह्यो। "नारानघाटैमा....कति चाँडै मायाँ बस्यो एकै रातैमा...चलचित्र 'देवदूत' को गीत गुञ्जिन थाल्यो। मन उत्साहित पारिदिएको थियो गीतले। त्यतिखेर बस धादिङ्गको गल्छी आसपास दौडिरहेको थियो। गति झन झन बढाउँदै थियो। ए साईड पट्टीको पन्ध्र सोह्र नम्बर सिट तिर बच्चा रुन थाल्यो। सानो शिशु रुँदै थिए। बच्चाको रुवाई झन झन चर्को हुँदै गयो।
'कसको बच्चा रोयो ? अलि सम्हाल्नुस् न।' सहचालक।
'कति मीठो निद लाको थियो। बिउँझायो यार।' एक यात्रु।
'कसको बच्चा रुँदैछ.... ? दूध खुवाओ न। हामी पनि पाँच छ जना बच्चा हुर्काएर बुढी भाकी हुँम्।' एक आमै।
'ए...भाइ। गुरुजी लाई गाडी रोक्न भन त। यस्तो पाराले कहाँ सकिन्छ ? बच्चाले डिस्टार्ब गर्यो।' अर्को युवक।
बच्चाको रुवाईले मेरो छेउकी लाई पनि व्यूँझाई दिएको थियो। आजको यात्रामा सुत्न पाईएला जस्तो छैन। मनले सोंचेको हो तर मुख फोरिनँ।
सहचालकले गल्लीको लाईट अन गर्यो। बच्चा रोए तिर बढ्यो। बच्चा अझैँ रुँदै थियो। पन्ध्र र सोह्र नम्बर सिट। तीस वर्ष जतिको एक युवक र हेर्दा पचास वर्ष माथि लाग्ने आमा। आमाको काखमा नवजात शिशु। उहीँ बच्चा रुँदै थियो। जुन रुवाईले सुत्ने यात्रुलाई हल्लाह भएको थियो।
'बच्चालाई दूध खुवाउनुस् न आमा।' सहचालक बोल्यो।
'कसरी खुवाउनु म बुढी मान्छेले ? म बुढीको दूध कहाँ आउँछ र ? यो मेरो बच्चा हैन। नाति हो।'  रुँला झैँ बुढी आमा बोलिन्। बच्चालाई सन्चो नभएको बताईन्।
'यसको आमा खोई त दाइ ?' सहचालकले सोधे।
'छैन भाइ। आमा भए यसरी रुन्थ्यो होला र ?'
यसरी बोल्दा उसको आँखामा आँसुले भरिन थालेको थियो। सबैले उतै हेरे।  बच्चाको रुवाई अझैं चर्को हुँदै गयो।
'कहाँ छ त दाइ बच्चाको आमा ?'
'यो धर्ती मै छैन भाइ। हामीलाई छोडेर गई।'
श्रीमती वितेको कुरा सुनायो। आँसु लुकाउन निकै प्रयास गर्यो उसले। तर आँसुले बाटो समाएर गाला हुँदै बग्न थाल्यो। जवर्जस्ती रुवाई रोक्ने प्रयास गर्दा घाँटीमा घुँक्क घुँक्क गर्थ्यो। उसलाई हेरेर निशब्द भएका थिए यात्रुहरु। कसैले केही बोल्नै सकेनन्। अघि कुरा काट्नेहरु शायद आफै मन मनै माफी मागे। हजुरआमा मुखले चकचक.... गर्दै हल्का हात हल्लाएर बच्चा लाई नरुन संकेत गरेर सुताउन खोज्दै थिईन्।
आमाको काख। भोकमा आमाको दूध पिउन पाउँदा जस्तो बच्चालाई फकाउन र सुताउन सजिलो कहाँ छ र ? हजुरआमाको काखमा जोडजोडले बच्चा रोईरहे। उता छेउमा आफुलाई जीवन सुम्पिएकी प्यारी श्रीमती गुमाउँदाको शोकमा बच्चाको बाबा रुँदै देख्दा कसको मन रोएन होला ? बस भित्र एकछिन सन्नाटा छायो। कठै! बरा! बिचरा! भन्ने बाहेक केही आएन मुखमा।
'कलकलाउँदो उमेरमै दैवले हरेछ!' सुस्तरी बोलिन् उनी।
'हो त नि। मान्छेले बाँच्दा सम्म के के भोग्नु पर्ने रहेछ।'
'मान्छेको जिन्दगी दर्पण छायाँ रहेछ। पाउन र गुमाउन। देख्न र हराउन कतिखेर हो थाहै नहुने।'
"धेरै भावुक नहुनु नि !
'किन र ?'
'दिमाग खल्बलिन्छ।'
'उहाँको यस्तो अवस्था देखेर नि त।'
कारुणिक भाव संकेत गरेर अनुहार विगारिन् उसले।
'हो....!' टाउको हल्लाएर मेरो सहमति।
उनीहरुको अवस्था देखेर सबै यात्रुहरुको निन्द्रा दुर भएर गयो। बच्चालाई सुताउने कसरी ? नरुने बनाउने उपाय खोज्न थाले। कतै होटेलमा रोकेर दूध किनेर खुवाउने सल्लाह गरे यात्रुहरुले। सहचालकले चालक सम्म त्यो सन्देश पुर्यायो। ती युवकसंग केही कुरा बुझ्न उत्सुकता जाग्यो मलाई। सिट पनि नजिक नजिकै थियो। मेरो मनले नसोधी बस्नै मानेन।
'कसरी भयो दाइ यो सब ? अप्ठ्यारो मान्नु हुन्न भने...।'
'म अभागी हुँ भाइ। कर्महारा मान्छे। जसको साथ पाएर जिन्दगी रङ्गिन देख्थेँ। तर उसैले मलाई छोडेर गएपछि जिन्दगी सादा मात्र हैन चकनाचुर भएको छ। मनहरु धुजाधुजा भएका छन्।'
मुटु निकै बलियो पारेर उसले विगत सुनाएका थिए-
'उसको नाम राजमान रोकाया। कैलालीको एउटा गाउँमा जन्मे हुर्केको। गाउँले किसानको सोझो छोरो। सानै देखि घाँस, दाउरा गरेर गाई, बाख्रा चराउँदै वनपाखामा डुल्दा संगै डुलेकी दौंतरी जनुका र उसको मायाँ बस्न थाल्यो। दुबै जना एकले अर्कोलाई छोड्न नसक्ने भए। मायाँ मौलाउदै गए पछि सबैले थाहा पाए। पन्ध्र सोह्र बर्षको उमेरमा राजी खुशीले गाउँको परम्परा र संस्कार अनुसार  विवाह गरे। विवाह पछि खुशीयालीमा दिनहरु वित्दै गयो। वैवाहिक जीवनको पाँच साल कसरी वितेछन् पत्तै पाएनन्। उनीहरुको जिन्दगी खेती किसानी गर्ने र पशु चौपाया हेर्दै गाउँ मै पनि राम्रै संग वित्दै थियो। विहे भएको दस साल वित्दा पनि उनीहरुबाट सन्तान जन्मेन । गाउँमा अर्काको कुरा काट्न पाउँदा रमाउनेहरुलाई त्यही एउटा अचार बन्यो। उनीहरुले गाउँ मा धामी, झाँक्री देखि लिएर भारतबाट बेला बखत गाउँ गाउँ डुलेर हात हेर्न आउने ज्योतिषी सम्म लाई आफ्नो समस्या देखाए। नजिकको हेल्थपोष्टमा देखाए। कही कतैबाट केही पत्ता लगाउन सकेनन्। घरमा उसलाई आमा बुबा बाट पनि दबाब पर्न थाल्यो। 'गाउँलेको कुरा सुनेर बस्न सक्दैनौं हामी। कि सन्तान जन्माउन सक्नु पर्यो। हैन भने सौता हाल्नु पर्यो।' परिवारको माग थियो। राजमानले आफुलाई निकै अप्ठ्यारोमा भेटाएको थियो त्यो बेला। घर परिवार लाई सन्तानको लालसा। सौता ल्याउन उसले सोंच्न सम्म सक्थेन। किन कि जनुका र उसको प्रेम बच्चै देखिको सच्चा प्रेम थियो। जिन्दगीमा निकै अप्ठ्याराका दिनहरु शुरु हुन थाल्यो। उसको अगाडि समस्याका चाङ्ग आएर उभियो। अब सन्तान पाउने आश पनि मारी सकेका थिए।
दसैंको बेला भारतको लखनाउमा जागिर गरेका उसका दौंतरी लोकनाथ राउत छुट्टीमा आएका थिए। धेरै साल पछि उनीहरुको भेट भयो। राजमानले घरको पारिवारिक समस्या सबै सुनाए। लोकनाथले एक पटक लखनाउको ठुलो अस्पतालमा देखाउन सल्लाह दिए। छुट्टी सकिएर फर्किँदा राजमान र जनुकालाई साथमा लखनाउ लगे। केही दिन उतै विताए। त्यहाँका डाक्टरले सबै चेक गरे। केही खाने औषधी दिएर पठाए। 'उमेर छिप्पिएर पहिलो पटक सन्तान जन्माउन अप्ठ्यारो पर्न सक्छ। गर्भ रह्यो भने सुत्केरी हुने बेलामा शल्यक्रिया गर्नु पर्ने अवस्था पनि आउन सक्छ। सुत्केरी हुने बेलामा डाक्टर संग परामर्श गरिरहनु पर्छ।' डाक्टरको सल्लाह थियो। उनीहरु सन्तान पाउने आश बोकेर नेपाल फर्के। संयोगले त्यो औषधी खाए पछिको पाँच महिनामा जनुकाको महिनावारी रोकियो। अर्थात अठ्ठाईस बर्षको उमेरमा गर्भ बस्यो। घरकी बुहारी दुई जिउकी भएको सुनेपछि घरका सासू ससुराको खुशीको सीमा रहेन। समाजको दृष्टि र बोली लाई बन्द गराउनु थियो उनीहरुले। राजमानले दौंतरी लोकनाथ लाई खुशी हुँदै हृदय देखि धन्यवाद दिएर चिठ्टी लेख्यो। लोकनाथको नाममा हुलाकमा चिठ्ठी खसाल्यो। दिन अनि महिना हुँदै गर्भमा बच्चा हुर्किँदै गयो। परिवारका सबै जना खुशी थिए। जनुकाको रेखदेख र हेरचाहमा कमी थिएन। आठ महिना राम्रै संग वित्यो। जब गर्भ रहेको नवौं महिना पूरा हुँदै थियो। जनुकालाई व्यथाले च्याँप्न थाल्यो। धनगढीको ठुलो अस्पतालमा पुर्याए। त्यहाँ सुत्केरीको उपचार सम्भाव नरहेकोले तुरुन्त काठमाण्डौ रिफर गरे। राजमान संग पैसा थिएन। गाउँको हुने खाने संग गुहार गरे। तर सजिलै पैसा पाउन सकेन। घर नजिकै रहेको सबै भन्दा राम्रो धान फल्ने खेत बैना राखेर ऋण लिए। इमेर्जेन्सीमा हेलिकप्टर चार्टर गरेर काठमाण्डौको एक नाम चलेको अस्पतालमा भर्ना गर्न पुर्याए। शल्यक्रिया गरेर बच्चा निकाल्नु पर्ने भयो। सबै तयारी पछि अप्रेशन कक्षतिर लगे। देवी देवताको नाम लिएर प्रार्थना गरे। ठुलो अस्पतालमा भर्ना गरेको छ। अब केही हुँदैन भन्ने आशा लिएर प्रतीक्षा कक्षतिर बसिरहेका राजमानको नाम लिएर कसैले बोलायो।
'जनुकाको आफन्त को हुनुहुन्छ ? भित्र आउनु होला।' नारी आवाजमा थियो।
'म हुँ हजुर।'
हतार हुँदै। पक्कै पनि छोरा या छोरी जन्मिए। हेर्न बोलाएको हुनु पर्छ। केही खुशीका लहर फिँजाएर भित्र पस्यो। तर नचिताएको खबर सुन्न पर्यो।
'तपाईं जनुकाको मान्छे ?' डाक्टरको प्रश्न।
'हजुर सर। म उसको श्रीमान।'
'तपाईलाई एउटा कुरा सुनाउनु थियो र।'
'भन्नुस् न सर। उसलाई ठिक त छ?'
'दुबै जनालाई बचाउने प्रयास गरेकै हौं। तर बच्चाको आमालाई हामीले बचाउन सकेनौं।'
'डाक्टर...! के तपाईं साँचो बोल्दै हुनुहुन्छ ?'
'हजुर...सत्यता यही हो। माफ गर्नु होला।'
'जनुका.........! म तिमीलाई केही हुन दिन्न!'
राजमान रुँदै करायो। र भुईमा बजारियो। मुर्छा खायो। नर्सहरुले उसलाई स्ट्रेचरमा राखेर भित्र लगे। जब राजमान होशमा आए। उसकी जनुकाले संसार छाडिसकेकी थिइन्। छोरो नासो छोडेर। त्यसपछि राजमानको रुवाईको सिमै रहेन।
उसलाई समाज प्रति घृणा जागेर आयो। परिवार प्रति रिस उठेर आयो। सन्तान जन्माउनै पर्छ भन्ने समाज प्रति आक्रोश पोखे।
'सन्तान नै चाहिन्छ भन्ने के थियो ? जनुका र मैले खुशीले जिन्दगी बिताएकै थियौं। एउटा सन्तानको आशले गर्दा आज मेरी जनुकाले संसार त्याग्नु पर्यो।'
मनमा आक्रोश लिएर भुन्भुनियो। आखिर बच्चाको मुख हेरेर उसले रिसलाई साम्य पार्नु बाहेक अरु विकल्प थिएन !
आर्यघाटमा लगेर जनुकाको दह संस्कार गरे। आफ्नै मुटु ठानेको जीवन सांगिनीलाई क्षण मै खरानी र धुँवामा उडाउन बाध्य भए। चितामा ज्यान जनुकाको जल्यो तर मुटु राजमानको जलिरह्यो। र जनुकाले छोडेर गएको नासो लिएर धनगढी जाने बसमा यात्रा गर्दै थिए त्यो रात।'
उसको विगत बताउँदै गर्दा बेला बेलामा उसको गला अबरुद्ध भएको थियो। घरिघरी आँसु पुछ्थ्यो। माफ गर्नुस् दाइ। मन बलियो पार्नुस्। धेरै नरुनुस्। छोरोलाई हेरेर चित्त बुझाउने हो। सम्झाएँ। यात्रुहरु उसको दुखद घटना सुनेर भावुक भएका थिए। मुख विगारेका थिए असह्य भएर।
००००
धादिङ्गको गजुरी बेस क्याम्प चेक पोष्टमा फेरि लाईन। अनिकालमा भोकामरीको रासन वितरण गर्दा थाप्न बसेको लाईन जस्तै। तर त्यहाँ लिनु दिनु केही थिएन। मात्र देखाउनु थियो। 'गोजीमा के के छ ? कपडा भित्र केही छन् भने निकाल्नुस्। जे जे छ देखाउनुस्।' चेक पोष्टमा चेक गर्ने फौजीहरुले यस्तै सोध्ने गर्थे। छाम्थे। भेटाउनु त के भेटाउँथ्यो र ? त्यस्तो वस्तु बोकेर हिड्नेहरु लाई थाहा हुँदैन र ? त्यहाँ चेक पोष्ट छ भनेर। उनीहरु त जंगलको चोर बाटो हिड्थ्यो त छलेर।
चेक पोष्टमा एकछिन चुपचाप भए। शान्त थिए सबै। डर ले कोही बोल्ने आँट गर्दैनथे। कसैले ठुलो आवाज गरे ती फौजीहरुले जे पनि गर्न सक्थे। उनीहरुले हो भने हो। होइन भनेमा होइन थप्नु पर्ने अवस्था थियो। नत्र विना कसुर सजायको भागिदार हुन पर्थ्यो। जनता नराम्ररी द्वन्द्वको प्रभावमा परेको थियो।
यात्रुहरु बसमा चढे। सानो बच्चा अझैं रुँदै थिए। फेरि बसले गति बढायो पश्चिम तर्फ। बच्चाको रुवाई र राजमानको कारुणिक जीवन कथा सुनेर यात्रुहरु निदाउन सकेका थिएनन्। मलेखुमा पुगेर चालकले बस रोके। दुईटा साना होटेलमा दूध पाईएन। विहान भए पाइने तर राती दूध पाउन गाह्रो छ। होटेलमा बस्नेहरुले बताएका थिए। सडक पारी अर्को होटेल खुलेको थियो। दुई तीन जना त्यहाँ पुगे। दूध पाइन्छ भन्ने जानकारी आयो। आधा लिटर दूध किनेर बच्चालाई त्यहीँ लगेर खुवाए। केही दूध एउटा प्लाष्टिकको बोटलमा भरे। सबै जना आफ्नो सिटमा बस्न आए। राजमानले धन्यवाद दिए एकमुष्ठमा। बस केही आराम पछि फेरि आफ्नो म्याराथन शुचारु गर्यो। बच्चा भोकले रोएको भन्ने थाहा भयो। दूध पिएपछि रुवाई बन्द भयो। हजुर आमाको काखमा निदाउन थाले। बच्चाको घाँटीबाट थोरै घ्यार घ्यार आवाज आएको सुनिन्थ्यो।
चालकले बसलाई कुदाई रहे त्रिशुलीलाई दायाँतिर साक्षी राखेर। घुम्तीहरुमा विपरित दिशाबाट आउने गाडीको लाईटले आँखा मै हान्थे। मनकामना केबलकार जाने गेट कुरिन्टारमा आएर बसको गति कम भएको थियो। बाहिरको उज्यालो प्रकाश बस भित्र पनि छिर्यो। केही यात्रुहरुले मनकामना मन्दिर तिर फर्केर दर्शन गरेको देखियो। हात नजोडेको मात्रै हो मनले त मैले पनि पुकारेको थिएँ।
'कहाँ आयौं हामी ?' उसले सोधिन्।
'मनकामना मन्दिर जाने गेटमा। कुरिन्टार...।'
'चिसो भयो झ्याल बन्द गरौं है ?' गाला मुसार्दै।
'हुन्छ नि...। पछ्यौरी छैन र तपाईको ?'
'ब्यागमा त थियो। हुन दिनुस् यतिकै।'
एकैछिन पछि बस अगाडि बढ्दै गयो गन्तव्यको दुरी घटाउँदै। चिसोले गर्दा उसले न्यानो खोजेकी थिइन्। उसको हातहरु सुस्तरी मेरो कुम मुनि घुसार्न बढेको थियो। बाहिर निष्पट्ट अँध्यारो। यात्रुहरु सबै निदाएका थिए। शायद चालक मात्रै जाग्रम थिए। मन्द स्वरमा कता कता गीत बजेको सुनिन्थ्यो। निन्द्र नलागोस् भनेर आफुलाई मात्र बजाएको थियो शायद। बस त्रिशुलीको किनारै किनार पश्चिम फर्केर आफ्नै रफ्तारमा मुग्लिन तर्फ दौडिदै थियो। उसले आफ्नो टाउको मेरो छातीमा लपक्कै निहुराईन्। उसलाई जाडो थियो। मेरो भने मुटुबाटै तापक्रम बढेर मास्तिर उकालो चढ्न थाल्यो। आहा! जिन्दगीमा पहिलो पटक कोही बिरानो मान्छे काखमा आएर यसरी आफ्नै आभास दिलाउँदैछन्। जिन्दगीको एक अविस्मरणीय क्षण। मनले आफै बोलेको थियो। उसको नरम हातहरु मेरो घाँटी देखि कुमतिर र गर्धनतिर गएर चल्मलाउन थाल्यो। मेरो घाँटी सम्म आएर अङ्गालोमा कसिन्। निरीह भएर बस्न मानिनँ म। उसको नरम पाखुरीतिर सल्बलाए मेरा हातहरु। बिस्तारै सर्दै उसको पुष्ट छाती तिर आएर खेल्न थाल्यो। ज्यानै सिरिङ्ग भएर भित्र भित्रै उन्मादका तरङ्गहरु सलल बगेको जस्तो भयो। उसले केही विमति गरिन। मतलब सारा तन सुम्पिरहेकी थिईन् निसङ्कोच। 'हँ...? कतै मैले गलत त गरिरहेको छैन ? मन झस्कियो। 'ह्या..उसको पनि चाहत छ। र त नाई नास्ती छैन।' हातलाई मनले सघाउँदै गयो। उसले शरीर कुप्रो पार्दै झन अङ्गालोमा कसिन्। उसको कोमल हात र खिरिला औंलाहरु बिस्तारै मेरो कुम, छाती हुँदै तल तल सार्दै गईन्। कहाँ सम्म पुग्दिरहेछे प्रतिक्षामा थिएँ। मेरा हात पनि सल्बलाउँदै आफ्नै गतिमा उँधो तिर सर्दै थियो। हाम्रा हातहरु गन्तव्यमा पुग्नु भन्दा पहिल्यै  बस मुग्लिन आई पुगेको थियो। बजारको बत्तीको प्रकाश छिरेर बस भित्र समेत उज्यालो देखिन थाल्यो। हाम्रा आँखाहरु जुधे। उसको अनुहार रातो र उन्मत्त थियो। मेरो पनि उस्तै थियो शायद। उसलाई थोरै लाज लागेछ। सर्माएर निहुरिएकी थिईन्। दुबै जना मुस्कुरायौं। हातहरु सामान्य अवस्थामा अवतरण हुन आई पुगे।
००००
मुग्लिनमा आएर बस रोक्यो। थकाली होटेल अगाडिको आँगनमा। बाटोमा गाडीहरु फट्टफुट्ट गुडिरहेको थियो।
'ल खाना खाने जति झरौं है...। पिसाब गर्ने ले गरौं..।' सहचालकले सूचना दिए। 'खाना खान जाउँ है।'
उसले मधुर स्वरमा बोलिन्। मैले हुन्छ संकेतमा टाउको मात्रै हल्लाई दिएँ। यात्रुहरु कुनै आँखा मिच्दै। कसैले सके जति मुख खोलेर हाईई.... गर्दै बस बाट झरे। त्यही हुलमा हामी पनि ओर्लियौं। होटेल भित्र छिरेँ। रातीको बाह्र बजेर दस मिनेट गएको जनाउ गर्दै थियो काउण्टर माथि घुमिरहेको घडीको सुईहरुले।
कसैले खाना खाए। कसैले चिया पिए। सादा खाना दुई सय। मासु खाना दुई सय पचास देखि माथि। मासु खानामा पनि फरक फरक। चिकेन मासु खाना...। खशीको मासु खाना...। घ्यू हालेको खाना..। रोटी तरकारी...। चाउचाउ..ईत्यादि। भित्ताको बोर्डमा खाना परिकार र मूल्य विवरण लेखेको चार्ट झुण्डिरहेको थियो।
चिकेन मासु र खाना मेरो रोजाईमा पर्यो। उसले भने मासु  नखाने भईन्। भेज खाना उसको रोजाई।
'तपाईले मासु नखाने र ?'
'शाकाहारी त हैन तर भेज खानामा जोड दिन्छु।'
'स्वास्थ्यको लागि भेज नै राम्रो भन्छन्। कि खाउँ न ल?
'नाई....सब्जी नै खाउँ म त।' कर गरिनँ।
'भाइ...एउटा चिकेन खाना। अर्को सब्जी खाना। घ्यू सहितको ल।'
एक भेज र एक चिकेन खाना अर्डर भयो। एउटै टेबलमा अनुहार जुधाएर खाना खान बस्यौं। मेरो अनुहारमा हेरेर मुसुक्क हाँसिन्। केही समय अगाडीको क्रियाकलापहरु सम्झिन् उसले। मेरो अडकल। 'किन हाँस्नु भो ?' त्यसै भनेर टरिन्। मैले लुकीलुकी हेर्थेँ। हेरेर नथाक्ने उसको रुप। उसले नदेख्ने गरि धेरै चोटी अनुहारमा आँखा डुलाएँ। "आँखा लोभी, मन पापी।" 'मलाई पनि यस्तै युवती जुराइ देउ प्रभू!' मेरो पुकार।
'उहाँ दिदीलाई अलिक बढी घ्यू हालि देउ है भाइ।'
उसलाई देखाएर होटेलको भाइ लाई अनुरोध गरेँ। मासु हालेको प्लेट देख्दै हाँसो लागेर आयो। तिहारमा हाम्रो घरको कुनामा बत्ती बालेर राख्ने दिपदानी भन्दा ठुलो भए त के ? मासुको नाममा बढीमा चार टुक्रा। त्यो पनि साना नानीहरुलाई घाँटीमा अड्किएला भन्ने डरले मसिनो पारेको टुक्रा जस्तै। भेट पछि हामी पहिलो चोटी संगै बसेर खाना खाँदै थियौं। भोको पेटले या उसको साथले खै ? आधा रातमा खाए पनि निकै मीठो लाग्यो। खाना खानेमा मलाई कसले उछिन्ला र ? चाँडै सक्याएर एक छिन उसलाई पर्खेिँदै।
'तपाईं हात धुनुस् ल। म अलिक ढिला हुँला।' अनुरोध।
'संगै जाउँला नि...! हुन्न र ?'
'तपाईको जुठो हात सुक्छ कि फेरि।'
'हो त है....? बिस्तारै ल!' आँखा झिम्काएर हुन्छ भनिन्।
हात धोए पछि दुबै जनाले खाएको बिलको पैसा तिरेँ। त्यतिन्जेल उसले पनि खाई सकेकी थिइन्। काउण्टरमा गएर पैसा तिर्न लागेकी थिइन्। काउण्टारवालाले उहाँले तिरी सक्नु भयो भनेर म तिर देखाए। सिटमा गए पछि खानाको पैसा लिनुस् ल भन्दै हजारको नोट दिँदै लिन आग्रह गरिन्। जिस्किँदै यतिले त पुग्दैन भनि दिएँ। कर गर्दै थिइन् तर भयो भनेपछि बदलामा धन्यवाद पाएँ। होटेलको महङ्गी देखेर त्यहाँ पनि यात्रुहरु निकै शोषणमा परेको देखेँ। तर त्यसको विरुद्धमा बोल्ने कोही छ ? वस्तुको गुणास्तर र मूल्य मापन गर्ने निकाय लागू छ त त्यहाँ ? मनपरी तन्त्र र आफू खुशी चल्दैछ व्यवसाय। सिङ्गो व्यापार व्यवसायको यस्तै सवालहरुमा आवाज उठाउनु पर्छ माओवादीहरुले। जसले नेपालमा नयाँ तन्त्र ल्याउँछौं भनेर लडिरहेका छन्। यस्तै प्रसंङ्गहरु मन भरि मडारिन थाल्यो। तर म माओवादी पार्टीको थिएन। माओवादीले ल्याउन लागेको राम्रो नीति र व्यवस्थाको स्वागत गर्न हतारिने नागरिक मध्येको एक थिएँ।
बस सडकतिर निस्कन थाल्यो। मुग्लिङ्ग बजारलाई छोड्दै नारायणगढ तिर भाग्दै गएको थियो। भोजनको वजनले शरीरलाई झम्म पारे पछि निदाउन थालेँछु। बस खाल्टाखुल्टीमा रमाएर उफ्रिँदा कहिले उसको ज्यानको भार म तिर। कहिले मेरो उसको तिर जोडिन पुग्थ्यो। यस्तै मा झलक झुलक व्यूँझिन्थेँ। तर हामी आपसमा मनमनै सम्झौता गरिसकेका थियौं। जसले जसलाई भार दिए पनि आपत्ति नगर्नेमा। दुबै जना निदाईएछौं। उसको शिर मेरो काखमा टाँसिएर पाएको थिएँ। छातीलाई सिरानी बनाईकी थिइन्। उसलाई सजिलो होस् भनेर अङ्गालो हालि दिएँ। लाग्थ्यो उसलाई थप सहजता आयो। निकै मीठो निन्द्रामा निदाइन्। बस रामनगर पुग्दै रहेछ। 'बेस क्याम्प आई पुग्न लायो है। गाडीमा चेकिङ्ग हुन्छ। झर्न पर्दैन।' सहचालक भाई कराउँदा झल्याँस्स भएँ। सबै जसो निदाएका थिए। निन्द्रा भङ्ग गर्यो। आर्मी बेस क्याम्पमा आएर बसलाई रोक्यो।
बसमा दुई जना बार्दीवाला हतियारधारी फौजीहरु प्रवेश गरेका थिए। नेपाली सेनाका सिपाहीहरु। चेक गर्दै जाँदा एक जना यात्रुमा आँखा गाड्न पुग्यो। करिब चालिस बयालिस वर्षे त्यो मान्छेलाई सोध्न थाल्यो। हाम्रो भन्दा तीन सिट अगाडि थियो।
'कहाँ बाट आउनु भो ?'
'काठमाण्डौं बाट हजुर।'
'कहाँ जान हिड्नु भो ?'
'भालुवाङ् सम्म हजुर।'
'घर कहाँ पर्यो ?'
'रोल्पा हो हजुर ?'
'रोल्पा......?'
रोल्पा हो भनेपछि उनीहरु हडबडाए। उनीहरुको साथमा भएको वायरलेसमा स्पष्ट नसुनिने आवाज घरिघरी आईरहन्थ्यो।
'आल्फा कलिङ्ग ..टु...डेल्टा ओभर....!' वायरलेसबाट कसैलाई बोलायो। अरु के के बोले। नबुझिने भाषा थियो।
'अँ भन के भो...?' अलिक खरो आवाज बोल्यो।
'साप... काठमाण्डौ बाट धनगढीको लागि छुटेको बसमा रोल्पाको एक जना मान्छे आएको छ के गरौं ?'
'राम्रो संग खोनतलास गर। त्यसै नछाड बुझिस् ?'
'हवस्......साप...।'
माओवादीको शुरुवट भएको जिल्ला भनेर चिनिने रोल्पा भन्ने बित्तिकै आर्मीहरुमा यस्तो चासो। केही समय अघि तपाईं भनेर बोलेको मान्छेलाई तँ भनेर बोलाउन थाले।
'तेरो साथमा भाको जति सामान लिएर तल ओर्ली।'
'हैन सर किन र ? मलाई के ठान्नु भयो हजुर हरु ले ?'
'खुरुक्क तल झर्ने नत्र यसले दिन्छ जवाफ।' राईफल तेर्स्याउँदै बोल्यो। अरु यात्रुहरु डरले चुप लागेका थिए। एउटा झोला साथमा लिएर बेस क्याम्पको चेकिङ्ग टेबलमा गयो। लुकिछिपी झ्यालबाट नियाल्दै थिए यात्रुहरु। मेरो छेउको झ्याल हल्का खुल्लै थियो। आवाज प्रस्टै सुनिन्थ्यो।
'झोलामा के के छ खोल ?' थर्काउँदै।
'मेरो लगाउने कपडा हजुर....। अरु के हुन्थ्यो।'
'के काम गर्छस् ? तँ माओवादी होस् ?'
'हैन हजुर। मलाई त्यस्तो नसोंच्नुस्। म त शिक्षक हुँ। स्कुल पढाउछु।'
'के के पढाउछस् ? बम कसरी बनाउने ? बन्दुक कसरी पड्काउने भनेर पढाउछस् ?'
'प्रचण्डे लाई चिन्छस् ?'
'नाम सुनेको हो देखेको छैन।'
'बाबुराम लाई देखेको छस् ?'
'अँ हँ.. देखेको छैन। हैन... हजुरहरुले मलाई किन शंका गर्नु हुन्छ ? म त गाउँको सोझो मान्छे। कालिका प्रा.वि. को प्रधानाध्यापक हुँ हजुर।'
'के छ तँ संग शिक्षक हुँ भन्ने प्रमाण ? प्रमाण देखाउन सक्छस् ?'
'छ हजुर। म संग प्रशस्त प्रामणहरु छन्। यो स्कुलको मेरो परिचय पत्र। यो स्कुलको लेटर प्याड। यो स्कुलको नाम भएको स्टाम्प। ल हेर्नुस्।'
झोलाबाट एक एक निकाल्दै देखाउन थाले। बल्ल ती आर्मीहरुले विश्वास गर्न बाध्य भएका थिए।
'आल्फा कलिङ्ग.... टु...डेल्टा ओभर....!'
'भन...फेरि के भो ?' आवाज आयो।
'साप.. यो रोल्पाको मान्छे त शिक्षक रहेछ। सबै प्रामण हरु छन् उ संग के गरौं...?'
'पुरा नाम...। ठेगाना...। लेखेर सही गराएर छोड्दे?'
'हवस...साप।'
चेक पोष्टको रजिष्टर बुकमा सही गराएर छोडि दियो। बस नारायणगढ पुलचोकतिर हुईकिँदै गयो। बेस क्याम्प केरकरमा परेको मान्छे जुर्मुरिदै थिए।
'बेकारमा सोझा जनतालाई दु:ख दिन्छन्। माओवादी लाई समाउन सकोस् न। बाटोमा हिड्ने यात्रु लाई शंका गरेर हुन्छ ? के रोल्पाली सबै माओवादी हुन ? आफ्नै जिल्लाको नाम लिन पनि कस्तो अप्ठयारो दिन आयो।'
'समय खराब छ तनि क्यार्नु ? सत्य बोल्न नि नहुने दिन आयो।' बैराग लागेर उसको छेउबाट अर्को बोले।
बस नारायणी पुल तरेर गैँडाकोटलाई पछाडि पारेर अघि  बढिरहेको थियो। सम्म फाँटको बाटो गति निकै बढायो चालकले। सत्र र अठार नम्बर सिट जसरी संगै जोडिएको थियो। त्यसमा सवार दुई यात्रुहरु पनि त्यसरी नै टाँसिएर जोडिन पुगेका थियौं। उसलाई निन्द्राले च्याँपेको। निन्द्रा मा मेरै काँधलाई सिरानी बनाएर निदाएकी। उसलाई आराम मिल्छ भने मलाई के आपत्ति ? थाहा नपाएको चालमा चुप लागेर निदाउने प्रयासमा डुबेर म। उसले त्यतिखेर टाउकोमा रातो सलले छोपेकी थिइन्। बस सीधा बाटोमा निकै तेजमा दौडिरह्यो। चोरमारा नजिकै जङ्गलमा आई पुग्दा चालकले जोडले ब्रेक मारि दियो। धेरै यात्रुको निन्द्रा भङ्ग गर्यो। हरिणले बाटो काट्दा जोगाउनलाई ब्रेक मारेको थाहा भयो पछि। त्यसपछि भने निदाउन प्रयात्न गर्दा पनि दुबै जनालाई निन्द्रा लागेन।
'नमिता जी....।'
'भन्नुस् न...। यो 'जी' कहाँबाट थपियो फेरि ?'
'नमिता....भनूँ त ?'
'उम्....नाम मात्र। कसरी थाहा भयो मेरो नाम ?' अचम्म।
'अघि टिकटमा देखेको के त।'
'ए...हो र...? कण्ठै रहेछ त ?'
'आफ्नो नजरमा परेको मान्छेको हुँदैन त ?'
'शायद..! हुन्छ होला।'
'घरमा को को हुनुहुन्छ तपाईको ?'
"ससुरा बुवा। श्रीमान र म।'
'हो र...? तपाई कति राम्री। शायद भगवानले फुर्सदमा बनाए।'
'हे हे....के भन्नु भाको ?' हाँस्दै कुमले धक्का मारिन्। मेरो मुटु हल्लिने गरि भुईँचलो गयो।
'श्रीमान चाहिँ के गर्नु हुन्छ ?'
'पढाउनु हुन्छ। बोर्डिङ्गको प्रिन्सिपल।'
'तपाई नि विवाहित कि सिंगल ?" उताको पालो।
"तपाईं अनुमान लगाउनुस् न।'
'लोग्ने मान्छेको कसरी थाहा हुन्छ र ? भन्नुस् न।'
'सिंगल छु। अहिले सम्म दिलमा बस्ने कुनै आएकी छैन।'
'नआत्तिनुस्...। कुन भाग्यमानीले कुर्दै हौली।'
'भगवानले तपाई जस्तै राम्री जुराई दियोस्।'
'म राम्री छु…? तपाईको हेराई राम्रो हो। धन्यवाद।' अँ..अनि तपाईको नि घरमा अरु को को हुनुहुन्छ ?'
'बाबा आमा। दाजु भाउजु। एक जना बहिनी।"
'तपाईं कान्छो चाहिँ ?'
'हजुर हो। म कान्छो ।'
बस दुम्कीबास बजारलाई छोडेर दाउन्ने उकालो समाउदै थियो। फेरि बच्चा रुन थाल्यो। बच्चाको रुवाईले हाम्रो सम्वादमा पुर्णविराम लगायो। बच्चाको रुवाई पहिले भन्दा छुट्टै र फरक लाग्थ्यो। घाँटीमा स्याँक स्याँक गरेको थियो। स्वर सुकेको झैं सुनिन्थ्यो। उसको हजुर आमा आत्तिन थालिन्।
'लौ न छोरा नातिलाई केही भए जस्तो छ हेर ।'
'खोई के भयो आमा...?' बस भित्र अँध्यारो थियो।
'ए...भाइ...बत्ति बाल्देउ त।' आत्तिदै।
झलक्क बत्ति बल्यो। निदाउनेहरुको आँखैमा उज्यालो पर्यो। मैले पनि बच्चातिर आँखा तन्काएको थिएँ। बच्चा को मुखबाट सेतो फिँज निस्किँदै थियो। क्यार क्यार आवाज आयो। सास फेर्न नसक्ने जस्तो हुन थाल्यो।
'के भयो र दाइ बाबुलाई फेरि ?' सहचालक बोल्यो।
'खोई भाइ के भाको हो।'
'अोहो बच्चा त लास्टै बिरामी रहेछ कि क्या हो ?'
'हे दैव...! पटक पटक किन दु:ख दिन्छस् ? बरु सक्छस् भने लैजाऊ मलाई...।'
बच्चालाई काखमा च्याँपेर रुन थाल्यो राजमान। यात्रुहरु हेराहेर भए। 'कस्तो बेलामा साईत गरेछौं आज।' कतिले भन्दै थिए। 'हैन साँच्चै के के हुनु परेको हो यो बाबूलाई मात्रै। दैव पनि कति निष्ठुरी रहेछ।' एक आमैले भनिन्।
बर्दघाटमा पुगेर एकैछिन् बस रोक्न लगाए। यात्री मध्ये तीन चार जनाले चालक संग कुरा गरे। नजिकै कुनै अस्पतालमा बिरामी बच्चालाई उपचार गराउनु पर्छ। त्यसैमा 'आम्दा बाल अस्पताल-बुटवलमा राम्रो हुन्छ। बालविशेषज्ञाहरु त्यहाँ छन्।' मैले भनेँ। उतै सजिलो हुने भएर चालकले बसको गति बढाउँदै बुटवल तर्फ दौडाए। शिशुलाई काखमा लिएर आमा र छोराको रुवाबासी थियो। उनीहरुको रुवाईले सबै यात्रुहरुको मन रुवायो। कसैले आँखाबाट आँसु समेत झरे। यात्रामा खिन्नता छायो। विहानै नरमाइलो मन लिएर चाँडै आम्दा बाल अस्पताल पुग्ने लक्ष्य लिएर भगाई रहे बस। बुटवलको बेस क्याम्प चेक पोष्टमा आएर बस रोक्यो। चालकले चेकिङ्गमा तैनाथ आर्मीहरुलाई एक जना बच्चा सिरियस अवस्थामा बिरामी छ आम्दा बाल अस्पतालमा छिटो लैजानु छ भनेर दु:ख पोखे। आर्मीका एक जनाले बोले।
'सेरा..जुलो..! यो बसमा सर्च गरेर छिटो छाडि दे ।' आदेश दिए।
'हवस साप....।' दुबै जना बसमा चढे। सररर चेक गरे। त्यपछि ओर्लिए।
'ल जानुस्....।' जान अनुमति दिए।
भित्री बाटो हुँदै बस सीधै आम्दातिर हुँईक्यायो। हातको नाडीमा बाँधेको घडीमा हेरेँ। विहानको पाँच बजेको थियो। आम्दा बाल अस्पतालको गेटमा पुगेर बस रोके। बिरामी बच्चालाई काखमा च्याँपेर ईमेर्जेन्सी वार्ड तिर लगे। राजमान, आमा र  साथमा अरु दुई जना यात्रुहरु। ती दुई जना यात्रुहरु केही बेर पछि बाहिर आए। 'बिरामी चेक अपको लागि टाईम लाग्छ रे। गाडीमा उनीहरुको सामान के के छन् झारेर हामी जान सक्छौं।' उनीहरुले खबर ल्याए। सहचालकले दुईटा झोला निकाली दिए। अस्पतालको प्रतीक्षा कक्ष सम्म लगेर हजुरआमालाई जिम्मा लगाए। बस मुख्य सडकतिर निस्कियो। मेरो ओर्लिने स्थान बसपार्क। झर्ने समय नजिकिँदै मिनेटमा आयो। बसको सिट मात्र छोड्न मुश्मिल थिएन। तर यात्रामा भेटिएकी उसलाई छोडेर जान गाह्रो लागिरहेको थियो। मनमा कतै केही अपुरो भए झैँ लाग्न थाल्यो। गन्तव्यमा आएपछि नझरी सुख पाईनँ। कि त भाडा थपेर बहाना बनाई फेरि यात्रा लाई निरन्तर दिए मात्र न हो। काम न काज कहाँ जानू फेरि ?
'मेरो त झर्ने ठाउँ आयो त!' नरमाइलो मानेर बोलेँ।
'अँ त है..? झर्नु हुन्छ र ?' कि जाउँ उतै..? मन चोरिन्।
'लैजानु हुन्छ र..?' हल्का हाँसेर।
'जाने मान्छे तयार हुनु पर्यौ नि! लान्छु त।'
'धन्यवाद! तपाई संगको यात्रा रमाइलो भयो।'
'तपाईलाई पनि धन्यवाद। सम्झिँदै गर्नु है।'
'अञ्जानमा गल्ती भए माफी चाहेँ।' सिटबाट उठ्दै।'
'छैन, छैन। म बाट भएमा पनि।' मुस्कुराउँदै।
मेरो शरीरको तल देखि माथि सम्म नियालिन्। फेरि मुसुक्क मस्कुराईन्। मेरो आँखा फेरि गालाको त्यही खोपिल्टो (डिम्पल) मा गएर अड्किएको थियो।
बुटवल बसपार्कको छेउमा लगेर चालकले बस रोक्यो। हात हल्लाउँदै झरेँ। बस बिस्तारै पश्चिमतिर बढ्दै गर्दा उसले झ्यालबाट हात दिएर बाई गर्दै गईन्। उसको सिल्की कपालका केही रेशाहरु झ्यालतिर लहराउँदै आएको थियो। लाग्थ्यो ती रेशाहरुले मलाई नै बोलाउँदै गएका छन्। मेरो गन्तव्य सम्म शकुसल आई पुगेँ। तर मन भने उसैले चोरेर लगिन्। छुट्ने बेलाको त्यो मुस्कान र गालामा देखिने खोपिल्टो (डिम्पल) सम्झेर छुटे पछिको धेरै दिन सम्म मुटु चस्काई रह्यो पटक पटक गरि।
००००
अफिसतिरको कामले तानसेनमा तीन दिन जति रोकिनु परेको थियो। विहानतिर टुँडिखेल घुम्ने मेरो बानी। घाम ताप्दै थिएँ।
'लौ लिनुहोस्..आजको कान्तिपुर..आजको ताजा खबर...सुर्खेतमा सेना र माओवादी वीचको भिडान्तमा परी चार जना माओवादी लडाकुको मृत्यु....। सिन्धुपलाञ्चोकमा बम विस्फोट...नेपाली सेनाका जवानहरु हताहत...। आम्दा बाल अस्पतालमा एक  नवजात शिशुको मृत्यु....।'
अन्तिम हेडलाईनले मेरो ध्यान तान्यो। पत्रिका विक्रेता परै पुगिसकेका थिए। इशारा गरेर बोलावत भयो। एक सेट कान्तिपुर समाचार पत्र हातमा। नवजात शिशुको मृत्यु शिर्षक खोज्न हतार गराएको थियो।
"आम्दामा पाँच दिने नवजात शिशुको मृत्यु"
'बुटवल।  आम्दा बाल अस्पताल बुटवलमा पाँच दिने  एक नवजात शिशुको मृत्यु भएको छ। राजधानीबाट धनगढीको लागि छुटेको महाकाली यातायातको ना.४ ख ८५७० नम्बरको रात्री बसमा सवार कैलालीकी जनुका रोकायाको पाँच दिने नवजात शिशुको मृत्यु भएको हो। यात्रा कै क्रममा स्वास्थ्यमा जटिल समस्या देखे पछि आकस्मिक उपचारको लागि आम्दा बाल अस्पतालमा पुर्याएका थिए। आकस्मिक कक्षमा भर्ना गराए पनि  निमोनियाले ग्रस्त शिशुको उपचारको लागि ढिलो भैसकेकोले शिशुलाई बचाउन नसकेको त्यहाँ कार्यरत डाक्टरले बताएका छन्। शिशुको आमा जनुकाको त्यही शिशुलाई शल्यक्रिया गरेर निकाले पछि पाँच दिन पहिले काठमाण्डौको एक हस्पिटलमा मृत्यु भएको थियो।'
.........मंसिर-२०५९ को कान्तिपुर दैनिकमा समाचार छापिएको थियो।
~समाप्त~
निस्दी गाउँपालिका-६ अर्चले,पाल्पा
१६, फागुन-२०७६

images
प्रकाशित मिति :फाल्गुण २०, २०७६ मंगलवार - १९:०५:०६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend