तस्वीर : यसअघि सेनाले चीनबाट ल्याएको स्वास्थ्य सामग्री । onlinekhabar काठमाडौं । कोरोना महामारीका बेला स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको नेपाली सेनाले भोलि (बिहीबार) चीनबाट २८ टन स्वास्थ्य सामग्री ल्याउँदैछ। यसका लागि नेपाल एयरलाइन्सको वाइडवडी विमान आज साँझ चीनको ग्वान्झाओतर्फ उड्दैछ । चीनबाट २८ टन स्वास्थ्य सामग्री भोलि ल्याइने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो। जसमा पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई), कोरोना जाँचका लागि चाहिने पीसीआर किट लगायत हुनेछन्। यसअघि ६ जेठमा सेनाले १८.९ टन स्वास्थ्य सामग्री पहिलो चरणमा हवाई मार्गबाट ल्याइसकेको छ । दोस्रो चरणको सामग्री पनि भन्सार प्रक्रिया पूरा भएर ग्वान्झाओमा जम्मा भएपछि वाइडवडी त्यसतर्फ प्रस्थान गर्न लागेको प्रवक्ता पाण्डेले बताउनुभयो। ओम्नी विजनेस कर्पोरेसन इन्टरनेशनलसँग भएको सम्झौता विवादित बनेपछि सरकारले त्यसलाई रद्द गर्दै स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिएको थियो ।