Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गगन र ओलीको भनाभन: प्रधानमन्त्री फेरि विवादमा

गगन र ओलीको भनाभन: प्रधानमन्त्री फेरि विवादमा

नेप्लिज डायस्पोरा

२९, जेठ २०७७
images
गगन र ओलीको भनाभन: प्रधानमन्त्री फेरि विवादमा

काठमाडौँ – कोरोना भाइरसले विश्व आक्रान्त भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे व्यक्त गर्ने अभिव्यक्तिहरु लगातार विवादमा आउन थालेका छन् । कहिले कोरोना भाइरसबाट बच्न तातो पानीले हात धुन सिकाएको त कहिले नेपालमा भारतबाट कडा खालको भाइरस भित्रिएको दाबीसहितका प्रधानमन्त्री ओलीका अभिव्यक्ति नेपालमा मात्रै होइन छिमेकी मुलुकहरुमा पनि विवादको घेरामा तानिएका छन् । तर कुनै औषधि नै पत्ता नलागेको कोरोना भाइरस संक्रमणबारे प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिन छोड्नु भएको छैन । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीद्वारा व्यक्त अभिव्यक्ति फेरि एकपटक विवादमा तानिएको छ ।

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता बलियो भएका कारण कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या कम रहेको दाबी गर्नुभयो । प्रधानमन्त्रीले यस्तो दाबी गरेपछि सांसदहरुसँग सवाल जवाफ भयो । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले रोगप्रतिरोधात्मक क्षमता बढी छ भनेर कसले भन्यो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्नुभयो ।

सांसद थापाको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले नेपालीहरुको रोग प्रतिरोधात्मक शक्ति बलियो छ भनेर मैले भर्खरै भनेको सुन्नुभएन भन्दै ओठे जवाफ दिनुभयो । उहाँले हिमालको काखमा परिश्रम गरेर बसेका नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता बलियो रहेको दाबी गर्नुभयो । नेपालमा झार पनि यार्सागुम्बा भएर उम्रने दाबी गर्दै प्रधानमन्त्री ओलीले नेपालीहरुको खानपानका कारण पनि प्रतिरोध क्षमता बढी हुने कुरा स्वतः सिद्ध हुने जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले यसरी जवाफ दिइरहँदा सत्तारुढ सांसदहरुले टेबल ठोकेका थिए भने विपक्षी सांसदहरुबाट हाँसोको फोहरा निस्केको थियो । नेपालमा कोरोना भाइरसका कारण मृत्युदर कम देखिएको प्रसंगलाई प्रधानमन्त्री ओलीले नेपालीहरुको रोग प्रतिरोध क्षमता बढी रहेकोतर्फ जोड्नुभएको हो । तर विज्ञहरुले भने प्रधानमन्त्रीको यो दाबी तथ्यमा आधारित नरहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयका अनुसन्धानकर्ता डा. अच्युत अधिकारीले प्रधानमन्त्रीको अभिव्यक्ति प्रमाणित नरहेको बताउनुभयो । उहाँले यसबारे अनुसन्धान हुन बाँकी नै रहेको बताउनुभयो ।

सरुवा रोग विज्ञेषज्ञ डा. शेरबहादुर पुनले पनि नेपालीहरुको प्रतिरोध क्षमता बढी भएकै कारण कोरोना भाइरसको संक्रमणबाट हुने मृत्युदर कम भएको हो भन्न नसकिने बताउनुभयो । वैज्ञानिक अनुसन्धान बिना नै यस्ता विषयमा राय दिन नसकिने उहाँको भनाई छ । डा. पुनले विश्वका विभिन्न मुलुकमा संक्रमण र मृत्युदर फरक फरक रहको बताउँदै यस्तो हुनुका पछाडि भाइरसको प्रकार पनि एक कारण हुन सक्ने बताउनुभयो । तर रोग प्रतिरोध क्षमता बढी भएका कारण नेपालमा कम मृत्यु भएको प्रधानमन्त्रीको दाबीबारे अनुसन्धानपछि मात्रै केही भन्न सकिने उहाँले बताउनुभयो ।

हिजोको प्रतिनिधिसभा बैठकमा सर्वज्ञानी मै हुँ भन्ने प्रधानमन्त्रीको अहंकारका कारण नेपालमा कोरोना महामारी अनियन्त्रित भएको दाबी सांसद गगन थापाले गर्नुभएको थियो । त्यसको भोलिपल्ट आज कोरोना भाइरसबारे प्रधानमन्त्री ओली र थापाबीच संसदमै सवाल जवाफ चल्यो । हो शारीरिक परिश्रम धेरै गर्ने व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता पनि बढी हुन्छ । तर औषधि नै पत्ता नलागेको र विश्वका अति विकसित मुलकुहरु पनि हालय कायल भइरहेको अवस्थामा कोरोना भाइरस संक्रमणबारे प्रधानमन्त्रीबाट हचुवाका आधारमा अभिव्यक्ति आउनु शोभनिय विषय होइन ।

 

images
प्रकाशित मिति :जेठ २९, २०७७ बिहिवार - ०२:४१:५६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend