Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

कठपुतली (कविता) - उषा शेरचन

कठपुतली (कविता) - उषा शेरचन

नेप्लिज डायस्पोरा

२३, आषाढ २०७७
images
कठपुतली (कविता) - उषा शेरचन


ए हजुर !
म त कठपुतली न परेँ..... !
कठपुतली !....मात्र कठपुतली !!
अगाडिबाट पो ‘म’ देखिन्छु त हजुर
पछाडिबाट भने
अरूबाटै सञ्चालित छु म
अरूबाटै नियन्त्रित छु म
मेरा हातहरू पनि मेरा हुँदैनन्
मेरा खुट्टाहरू पनि मेरा हुँदैनन्
मेरा आँखाहरू पनि मेरा हुँदैनन्
मेरा कानहरू पनि मेरा हुँदैनन्

यहाँसम्म कि हजुर !
मेरा सोचाइहरू समेत मेरा हुँदैनन्
मेरा प्रत्येक अङ्ग प्रत्यङ्गहरू
अरूकै अधीनमा हुने गर्छन्
अरूकै इशारामा चल्ने गर्छन्
म, म भएरै नाच्न चाहे तापनि
म, म भएरै हाँस्न चाहे तापनि
म, म भएरै बाँच्न चाहे तापनि
के गर्नु र हजुर !
मसँगै बाँधिएका
यी अदृश्य धागाहरूलाई
चुँडाउन चाहेर पनि
चुँडाउन सक्तिनँ म
मसँगै टाँगिएका
यी अदृश्य अंकुशहरूलाई
उप्काउन चाहेर पनि
उप्काउन सक्दिनँ म

नाचेर जति नै थाके तापनि
नाचि नै रहन विवश छु म
बाँचेर जति नै हारे तापनि
बाँचि नै रहन अभिशप्त छु म
मेरो अतीत, मेरो वर्तमान
यहाँसम्म कि हजुर !
मेरो भविष्यसमेत पनि
अरूबाटै निर्धारित हुन्छ
अरूमा नै आधारित हुन्छ
रङ्गमञ्चको चार दिवारभित्रको
निरीह कैदी म
अँध्यारो कुवाको चार किल्लाभित्रको
बबुरो भ्यागुतो म
कृपा गरेर हजुर !
भो नसुनाउनु होस् मलाई
नीलो आकाशको विशालताको कुरा
नीलो सागरको गहिराइको कुरा
खुला आकाशमा मैले
जतिनै उड्न खोजे तापनि
उड्नै सक्तिनँ म
गहिरो सागरमा मैले
जति नै पौडिन खोजे तापनि
पौडिनै सक्तिनँ म
भनिहालेँ नि हजुर !
म त कठपुतली न परेँ भनेर
कठपुतली !...मात्र एउटा कठपुतली !!
जसको आफ्नो कुनै स्वपहिचान हुँदैन !
जसको आफ्नो कुनै स्वअस्तित्व हुँदैन !!

- काठमाण्डौ, नेपाल ।

images
प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - २३:४२:३८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend