बिन्ती डिठ्ठा विचारीसित म कति गरुँ चुपचाप रहन्छन नबोली
बोल्छन् त ख्याल ग¥या झैं अनि पछि दिनदिन भन्दछन् भोली
कि त सक्दिन भन्नु कि त छिनिदिनु क्यान भन्छन् हे भोली
भोली भोली भन्दैमा सवघर बितिगो बक्सियोस् आज झोली
भानुभक्तको समयमा भोगिएको समस्या मुलुकमा अहिले पनि ज्यूँ का त्यूँ छ । कतिपय रचनाहरु यति कालजयी र सदावहार हुन्छन् कि कल्पनै गर्न सकिँदैन । नेपाली साहित्यका प्राथमिककालिन कवि भानुभक्तको नेपाली साहित्यमा विशिष्ट स्थान रहि आएको छ ।
भानुभक्तको बिषयमा अहिले थुप्रै सिङ्गा पुस्तकहरु, सिनेमा, शोधग्रन्थ, विशेषाङ्क, फुटकर रचना र लेखहरु बनिसकेका छन् । राज्यले समेत यिनको योगदानलाई कदर गरेर राष्ट्रिय विभूति घोषणा गरेको छ ।
तनहुँको चुँदीरम्घामा श्रीकृष्ण आचार्यका नाति धनञ्जय आचार्य तथा धर्मावतीदेवीका सुपुत्रको रुपमा वि.सं. १८७१ असार २० गते भानुभक्तको जन्म भएको हो ।
पहाडको अति वेश देश तनहुँमा श्रीकृष्ण ब्राहमण थिया
खुप उच्च कुल आर्यवंशि हुन गई सत्कर्ममा मन्दिया
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया
इन्को नाति म भानुभक्त हुँ भनी यो जानी चिन्ही लिया ।
पाँचै बर्षको उमेरमा हजुरबुवा श्रीकृष्ण आचार्यद्वारा अक्षराम्भ गराइएका आचार्यको पाठशाला पिंढी थियो । बाबु धनञ्जय आचार्य पठित र सरकारी जागिरे भएकाले पनि यिनको पालन–पोषण र शिक्षा–दिक्षामा हजुर बुवाको भूमिका प्रमुख देखिन्छ, तत्कालिन परिवेशमा श्रीकृष्ण आचार्यको ख्याति वा पहिचान पुरै तनहुँभरी थियो । उक्त समयमा नेपाली भाषामा रामायण त थिएन र पुराणहरु पढिथ्यो । त्यो पनि सबैलाई पढ्ने अनुमति कहाँ थियो र ? ७ बर्षको उमेरमा वि.सं. १८७७ मा ब्रतबन्ध गर्दा पनि भानुभक्तलाई बाजे श्रीकृष्ण आचार्यले गायत्री मन्त्र दिएका र उनैसँग रुद्री, कौमुदी, वेद पढ्न थालेका थिए ।
उनको १० बर्षको उमेरमा पहिलो विवाह चन्द्रकान्तादेवीसँग भए पनि विवाह भएको केही महिनामै श्रीमतीको मृत्यु भएकाले वि.सं. १८८६ मा ११ वर्षको उमेरमा पुनः तनहुँ मानुङ गाउँकी चन्द्रकलादेवीसँग दोस्रो विवाह भएको थियो ।
वि.सं. १८८६ तिर श्रीकृष्ण आचार्यको काशीवास हुँदा बाजेसँग सँगै गएका भानुभक्तले विद्वानहरुको संगतले कोश, व्याकरण, साहित्य र ज्योतिष–शास्त्रको अध्ययन गरेका थिए । विद्वानहरुको संगतले यिनमा गजबको कवित्व शक्ति जागृत भएको थियो । समय मिल्ना साथ प्रसंग अनुसारको कविता हाल्न सक्थे, कवितामै सवाल–जवाफ गर्न सक्थे । उनको समयमा संस्कृतको नै बोलावाला थियो तर उनी भने नेपालीमा कविता लेख्थे ।
हजुरबुबा श्रीकृष्ण आचार्यको संगतबाट यिनले कैयन व्यवहारिक कुरा सिक्ने र ज्ञानलाई तिखार्ने मौका पाए । काशीमा बाजेको देह त्याग हुँदा यिनी १९ वर्षका थिए । त्यसपछि गाउँ चुँदी रम्घामै फर्किएर गृहस्थ जीवनको शुरुआत गरे ।
एक पटक भानुभक्त ससुराली मानुङ जाँदा बाटैमा पर्ने अहिलेको बुल्दीफाँटमा वि.सं १९९१ मा घाँसीसित भेट भएको मानिन्छ । सो भेटमा घाँसीले घाँस बेचेर आर्जन गरेको कमाइले समाज सेवा गरेको प्रसंगले भानुभक्त निकै प्रेरित भए ।
भरजन्म घाँसतिर मन् दिइ धन् कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनी भैकन आज यस्तो ।
अहिले घाँसीबारे अनुसन्धान हुँदा ‘घाँसी’ नै काल्पनिक पात्र भएको तर्क गरिन्छ । किनभने घाँसीको नाम ‘रात चिन्या भानु’ (नाटक)मा प्रभाकर न्यौपानेले नरनारायण रानाभाट, कालकृष्ण सम ‘भक्तभानुभक्त’ (नाटक) मा ठूले मगर, प्रज्जवल सिन्धुलीयले खड्गबहादुर ठाडामगर तथा प्रा. डा. ब्रतराज आचार्यले चामु नारायण पाध्ये (पन्थ) हुनुपर्ने अनुमान लगाएका छन् । घाँसीकै सम्झनामा तनहुँको एउटा गाउँपालिकाको नाम नै ‘घाँसी कुवा’ राखिएको छ र पनि यसबारे चित्त बुझ्दो तर्कले प्रमाणित हुन भने सकेको देखिदैन । यद्यपी घाँसीबाट प्रेरित भई भानुभक्तको जीवनीले छुट्टै मोड लिएको कुरालाई नकार्न सकिदैन ।
मेरा इनार न त सत्तल पाटी केही छन्
जे चिजबिजहरु छन् घरभित्र नै छन्
तेस घाँसीले कसरी आज दियेछ अर्ती
धिक्कार हो मकन बाँच्नु नराखी किर्ती ।
भानुभक्त कलाधरलाई गायत्री मन्त्र सुनाउन वि.सं. १९०१ मा भोर्लेटार जाँदा बीच बाटोमा पर्ने तारुका गाउँको गजाधर सोतीका घरमा जाँदा बास नपाएपछि दुखेसो पोख्दै लेखेको कविता निकै व्यङ्ग्यात्मक देखिन्छ ।
गजाधर सोतीकी घरबुढी, अलच्छिनकी रहिछन्
नरक जाना लागि सबसित विदावादी भइछन्
पुग्यौं साँझमा तिनका घर पिडीमा वास गरियो
निकालिन साँझैमा अलिक पर गुज्रान गरियो ।
भानुभक्तले ३७ वर्षमा सरकारी जागिर पाएका थिए । तर उनका हाकिमले २ वर्ष नपुग्दै उनको जागिर खोसिदिए । सरकारी रकम हिनामिना गरेको आरोपमा कुमारीचोक थुनामा ५ महिना बिताउन प¥यो । तत्कालीन नेपाली समुदायमा नेपाली भाषामा रामायण लेखिएको थिएन, पुराणहरु पढिए पनि सबैका लागि अनुमति नभएकोले वि.सं. १९९८ मा रामायणको बालकाण्ड थालेर अयोध्या–काण्ड, अरण्य काण्ड, किष्किन्धा र सुन्दर काण्डको पद्यानुवाद गरे ।
एक दिन नारद सत्यलोक पुगि गया लोकको गरुँ हित भनी
ब्रहमा ताही थिया प¥या चरणमा खुशी गराया पनी
क्या साध्छौं तिमि सोध भन्छ म भनी मजी भएथ्यो जसै
ब्रहमाको करुणा बुझेर ऋषीले विनती ग¥र्या यो तसै
वि.सं. १९०६ मा यिनी पुनः कान्तिपुर जानु प¥यो त्यो बेलाको वस्तुस्थिति देखेपछि पाइला पाइलामा भावुक भानुभक्तलाई कविता फुर्छन ।
यति दिन पछि मैले आज बालाजि देख्याँ
पृथिवी तलभरीमा स्वर्ग हो जानी लेख्याँ
वरीपरी लहरामा झुली बस्या चरा छन्
मधुर वचन बोली मन् लिँदा क्या सुरा छन्।
चपला अवला एक सुरमा
गुनकेसरीको फूल ली शिरमा
हिँडन्या सखी लीकन ओरीपरी
अमरावती कान्तिपुरी नगरी
उनले लेखेको धर्म, दर्शन, विषयका कविताहरु पनि उतिकै बेजोड मानिन्छन् । व्याकरण वेदान्त, शास्त्रीय छन्द, दर्शनका ज्ञाता यिनका शब्द–शब्दमा नीतिपूर्ण कुराहरु भेटिन्छन् ।
कुन ज्ञान छ ठूलो भनी लिनु पन्र्या
वेदान्तको ज्ञान छ दुःख हन्र्या
कुन हो धनी सब नरले कह्याको
सन्तोषमा छ खुशी रहयाको
जन्म्यो कउन जन्मनु फेर नमन्र्या
मन्र्या कउन हो मरी फेर नमन्र्या
कुन काम हो अति डराएर दुर सार्नू
लोकापवाद छ घटिया कहिल्यै नधर्नू ?।
वि.सं. १९१९ तिर मित्र तारापतिको घरमा बास पर्दा सोही रात सासु–बुहारीको झगडाले रातभर झिमिक्कै सुत्न नसकेपछि त्यही रात उनले ‘बधु–शिक्षा’ तयार गरे
हाँस्नु छैन कदापि नारिहरुले वेश्यै हुन्या हाँस्तछन्
बेश्या लौ नहउन तथापि घरका काम त सबै नास्तछन्
एक्लै हाँस्नु हुँदैन कोही नभइ अर्को संगी भो जस्तै
हाँस्तैमा दिन जान्छ यही रितले काम बित्तछन् सब तसै
भानुभक्तले जीवन मृत्युसँग निकै संघर्ष गरेर पनि आफ्ना हितकारी धर्मदत्त सुब्वाको अनुरोध टार्न नसकी रामायणको बाँकी रहेको उत्तर काण्ड ‘राम गीता’ को अनुवाद गरेको बुझिन्छ । आपूm कालज्वरले थलिएर मरणासन्न हुँदा पनि छोरा रमानाथलाई टिप्न लगाएर पूरा गरेका थिए ।
अन्ततः वि.सं. १९२५ असोज ६ गते तनहुँको सेतिघाटमा ५४ वर्षको उमेरमा भानुभक्तले धर्तिबाट सधैका निम्ति आँखाहरु बन्द गरे ।
यसरी पृथ्वीनारायण शाहले छारिएर रहेका स–साना राज्यहरुको एकिकरण गरेर अहिलेको सिंगो नेपाल बनाएका थिए त्यसैगरी विश्वका सबै ठाउँमा छरिएर रहेको नेपालीहरुलाई भाषाको माध्यमबाट एकताको सुत्रमा बाँधेर एकै ठाउँ ल्याउने काम भानुभक्तले गरेका छन् । उनी मरेको नेपाली समुदायले बिर्सिदै गएका भए पनि वि.सं. १९४८ मा ‘कवि भानुभक्तको जीवन चरित्र’ प्रकाशित गरेर मोतिराम भट्टले भानुभक्तलाई ‘आदिकवि’ भनेर चिनाउन खोजेको पाइन्छ । यसपछि तनहुँ चँुदीरम्घामा अल्मलिएको भानुभक्तको परिचय देशको कुना काप्चासम्म फैलिन थाल्छ । वि.सं. १९८६ तिर नेपालभन्दा बाहिर ल्याउने काममा सूर्य विक्रम ज्ञवाली र पारसमणी प्रधानले ठूलो सहयोग गरेका छन् ।
मोतिराम भट्टले भानुभक्तलाई दिएका ‘आदिकवि’ को उपाधि पनि त्यत्तिकै रहेका बेला वि.सं. १९९७ मा जुद्ध शमशेले ‘भानुभक्तलाई आदिकवि भने पनि हुन्छ ।” भन्ने हुकुम दिएपछि ‘आदिकवि’ उपाधि अझ लोकप्रिय हुँदै गएको हो । अहिले नेपालभन्दा बाहिर भारतको दार्जिलिङ्ग, सिक्किममा दशंैभन्दा बेसी धुमधामले जन्मदिवस मनाइन्छ । त्यसैको सिको गरेर नेपालमा पनि भानुजयन्ती मनाउन थालिएको पाइन्छ । सूर्यविक्रम ज्ञवालीहरुको सत्प्रयासमा दार्जिलिङ्गको चौरस्तामा पूर्ण कदको मूर्ति बनाएपछि भानुभक्तको ख्याति देशविदेश सम्म चुलिदै गयो, फैलिदै गयो ।
‘जनताकै भाषामा जनताकै कुरा जनताकै निमित्त साहित्यको परम्परा बसाल्ने श्रेय पहिले भानुभक्तलाई दिइएकोले बाल्मिकी, चासर झैं भानुभक्तलाई पनि आदिकवि मानिनुपर्दछ ।’ भन्ने तर्फ चलिरहँदा भानुभक्तलाई आदिकवि मान्नु पर्छ भन्ने पक्षमा मोतिराम भट्ट, बाबुराम आचार्य, सूर्यविक्रम ज्ञवाली हृदयचन्द्र सिंह प्रधान रहेका छन् । उनीहरुले भानुभक्तलाई सर्वश्रेष्ठ कवि, ध्रुवतारा जस्ता उपाधि दिएका छन् भने कतिपयले ‘श्रीकृष्ण चरित्र काव्य’ (१८८४) का लेखक वसन्त शर्मा त कतिपयले रघुनाथ पोखरेल (वि.सं. १८६८–१९१८) ले रामायणको सुन्दर काण्डको वि.सं. १९८९ मा प्रकाशित गराइएकोले आदिकवि मान्नु पर्छ भन्ने तर्क पनि राखेको पाइन्छ ।
तत्कालिन संकटपूर्ण, अस्थिर र प्रतिकूल वातावरणमा पनि रामको आदर्श अर्याल लोकहितको निम्ति रामले जस्तो काम गर्नुपर्दछ भन्ने मान्यता स्थापित गर्न सफल भएका थिए । उनका भाषा, साहित्य, संस्कृति, धर्म–दर्शन, कर्तव्य, देशप्रेम लगायतका कुराहरुले भानुभक्तलाई राज्यले सम्मान स्वरुप राष्ट्रिय विभूतिको सम्मान दिएको पनि छ । उनले लेखेको रामायणलाई नेपाली भाषा–साहित्यको पहिलो महाकाव्य मानिन्छ । रामायणको बालकाण्ड (१८९८), अरण्य–काण्ड (१९१०), युद्धकाण्ड (१९१९) उत्तर–काण्ड (१९२५) गरी विभिन्न समयक्रममा पूरा गरेका छन् । त्यसबाहेक प्रश्नोत्तर लघुकाव्य (१९१०), भक्तमाला (१९१०), बधु–शिक्षा (१९१९) रामगीता (१९२५) तथा विभिन्न फुटकर कविताहरु (१८८४–१९२५) लेखेर नेपाली साहित्यलाई कहिल्यै बिर्सन नसकिने गुन लगाएका छन् ।
भानुभक्तका बारेका विभिन्न साहित्यकार विद्वानहरुको केही शब्दहरु
‘नेपाल राष्ट्र रहेसम्म भानुभक्त अमर रहनेछन् । – लेखनाथ पौड्याल
‘भानुभक्त ढुंगाको तकियामा सुतेर ब्युझिँदा पूmलको ह्दय भेट्टाए घाँसीमा उनको परमेश्वर बोल्यो । सच्चा नेपाली हृदयलाई ब्यूँझाइदियो र सुन्दर देशमा बोलाएर लग्यो ।’ –महाकवि देवकोटा
‘भानुभक्तले रामायण लेख्दा नेपाली व्याकरण थिएन । हाम्रो भाषालाई सुनेर भानुभक्त श्रुतिमधुरतामा मुग्ध छन् ।
– राष्ट्रकवि माधव घिमिरे
‘भानुको शब्द सच्चा भाषाको ओजश्वीता, गाम्भीर्यता र कमनीयताको नमूना बन्न गएको छ ।” – प्रा. बासुदेव त्रिपाठी
‘अब भानुभक्तिय कोश तथा व्याकरण निर्माण गर्ने समय आइपुगेको छ ।” – प्रा. बालकृष्ण पोखरेल
‘भानुले नयाँ युगको सिर्जन गरे
नेपाली मुटुको माझमा बसेर
ज्ञानामृत पान गराए ।
– प्रा. शिवगोपाल रिसाल
अहिले भानुभक्तको सम्मानमा सडकको नाम, विभिन्न संघ–संस्थाको नाम, विभिन्न क्षेत्रहरुमा पूर्ण र अर्धकदको शालिक, सडकको नामाकरण गरिदै जान लागिएको छ ।
विदेशमा ख्याति प्राप्त व्यक्तित्व र उनीसित सम्बन्धित कुराहरुलाई जोगाएर राष्ट्रिय सम्पदा, पर्यटकीय स्थल, संग्रहालयमा रुपान्तर गर्ने गरिन्छ तर वि.सं. २०६० बैशाख ११ गते ३ दिनसम्म लगातार लागेको आगोका कारण आदिकवि भानुभक्तको जन्मस्थल चुँदिरम्घास्थित ऐतिहासिक घर पूर्ण रुपमा ध्वस्त भयो । उनको सम्मानमा राज्यले केही महत्वपूर्ण काम देखाउन सकोस् भानुभक्तप्रति साँचो श्रद्धा स्मरण र भक्तिभाव देखिने कुरामा दुई मत छैन ।
(यो समसामयिक लेख पाल्पाबाट प्रकाशित गाउँले देउराली साप्ताहिकमा प्रकाशित भएको हो र हामीले त्यहीबाट साभार गरेका हौँ। सम्पादक।)